add

मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास भएन’






ActPro Nepal

|

८ कार्तिक, २०७९

|
407

गुल्मी । गुल्मीको मालिका गाउँपालिका-१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे। उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदको लागि मतदान गर्दै छन्। उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद भुने तर, लिलिङमा सडकको समस्या भने कहिल्यै समाधान हुन सकेन। 

जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको उनले गुनासो गरे। 'जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ' उनले भने, 'पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ।' वडादेखि केन्द्र तहका नेताले पटकपटक आश्वासन दिए पनि कहिल्यै पूरा नभएको स्थानीयवासी घर्तीमगरले गुनासो गरे। 

लिलिङका अर्का स्थानीय ३७ वर्षीय यमबहादुर बलामी पनि गाउँमा सडक नहुँदा नेताप्रति वाक्क छन्। उनले पनि १८ वर्ष पुगेपछि पहिलोपटक २०५६ देखि गत निर्वाचनसम्म चार पटक सांसद चुने। मङ्सिर ४ मा उनले पाँचौँ पटक सांसद चुन्दै छन् तर, उनी पनि गाउँमा सडक नहुनाले नेताहरू प्रति वाक्क छन्। 

गाउँमा लामो समयदेखि नेताले पटकपटक दिएको आश्वासनले दिक्क लागेको लिलिङका यमबहादुरले गुनासो गरे। 'सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा धेरै सांसद बनेका छन्' उनले भने, 'लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्रयाक खुले पनि एक झर पानी परेपछि सडक अस्तव्यस्त हुन्छ।' उनले आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो गरे। 

लिलिङका यी दुई त केवल पात्र मात्र छन्। लिलिङमा ४५ घरपरिवारमा तीन सय सदस्य छन्। उनीहरू यो समस्याबाट सधैँ ग्रसित बनिरहेका छन्। गत वर्ष सडकको ट्रयाक खुले पनि अहिलेको वर्षायामले सडक अस्तव्यस्त बनेको छ। बडिगाड खोला पर बाग्लुङको भिमगिठेमा मध्यपहाडी राजमार्ग भए पनि यस क्षेत्रमा भने सडकको अवस्था विजोग रहेको लिलिङका स्थानीयवासीले गुनासो गरे । यो मात्र होइन यस क्षेत्रमा विद्यालय पनि छैन। मनकामना प्राथमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन तथा अध्यापन भए पनि त्यसबाहेकको माथिल्लो तहमा २० विद्यार्थी बागलुङमा जाने गर्दछन्। यस क्षेत्रमा अहिलेसम्म केन्द्रीय विद्युत् पुगेको छैन। त्यहाँका स्थानीवासीले प्रतिघरपरिवार रु सात हजार नगद र एक सय १० दिन श्रमदान गरेर घरघरमा बिजुली बाले पनि समस्या आइरहन्छ। 

त्यस्तै सोही वडाको देउरालीका स्थानीय ६१ वर्षीय भीमबहादुर विकको २०७३ मा सडकको ट्रयाक खोल्दा घर जोखिममा परेको थियो तर, उनको समस्या अहिले पनि उस्तै रहेको छ। उनको घर जोखिममा परेपछि चुनावी कार्यक्रममा सधैँ गुनासो राखे तर, चुनावको समयमा आश्वासन धेरै आए पनि चुनावपछि कहिल्यै समस्या समाधान हुन नसकेको उनले गुनासो गरे। 

आफूले अहिले सांसदका लागि छैटौँ पटक मतदान गर्न लागेको भीमबहादुरले बताए। 'मैले विभिन्न आश्वासनका कारण पटकपटक मतदान गरेको थिएँ' उनले भने, 'आश्वासन कहिल्यै पूरा नभएकाले यसपटक मतदान गर्ने इच्छा पनि छैन।' उनले पटकको निर्वाचनमा जोखिममा रहेको घरमा सिमेन्टी पर्खाल उठाउने आश्वासन दिए पनि अहिलेसम्म पूरा नगरेको उनले बताए। 

जथाभावी सडक

मालिका गाउँपालिका-२ दर्लिङका स्थानीय चूरामणि अर्यालले मतको लागि जथाभावी सडक विस्तार भएको बताए। उनले एक मतको लागि पनि लामो दूरीमा सडक लैजाँदा बाढीपहिरोको जोखिम रहेको बताए। 'गाउँको मुख्य सडक बनाउने आश्वासन २० वर्षदेखि सुन्दै आएका छौँ ।' उनले भने, 'सडकको अवस्था कहिल्यै बनेन, टोलटोलमा खोलिएका सडकले बाढीपहिरोको जोखिम बढायो।' उनले गाउँको मुख्य सडक ग्राभेल बनाउने आश्वासनमा पाँचौँ पटकसम्म मत दिए पनि पूरा नभएको बताए। 

उनले पटकपटकका आश्वासनले गर्दा मत दिन वाक्क रहेको बताए। सडकको लागि मुख्य समस्या रहेको लिलिङको उदाहरण देखाउँदै उनले चाहिँदोभन्दा नचाहिँदो विकासमा नेताले चासो दिने गरेको बताएका छन्।

जथाभावीको सडक विस्तारभन्दा परिवारलाई मुख्य सडकको पहुँचमा ल्याउने र टोलटोलमा सडक नलैजान आग्रह गरे। अर्यालले आफूहरूलाई पटकपटक आश्वासन दिने तर काम केही नगर्नाले आफूहरू वाक्क र दिक्क भएको बताए। हिउँदमा डोजर लगाउने र बाटो बनाउने तर वर्षायाममा सधैँ उस्तै हुने समस्या सधैँ रहेको पनि उनले प्रतिक्रिया दिए। यसको दीर्घकालीन समाधान कहिल्यै नखोज्ने तर क्षणिक विकास मात्र हुने उनले बताए । यसमा पनि आश्वासन मात्र बाँडेको अर्यालको भनाइ छ। 

 यस क्षेत्रमा आश्वासन मात्र बाँडेर छ सांसद चुनिए। पहिलोपटक २०४८ मा नेपाली कांग्रेसका रुद्रमणि शर्मा भण्डारी, ०५१ मा नेकपा (एमाले)का टङ्क पोखरेल, ०५६ मा सोही पार्टीका गोकर्ण विष्ट, ०६४ मा नेकपा (माओवादी केन्द्र)का चन्द्रबहादुर थापा , ०७० र ०७४ मा एमालेका  विष्ट सांसद चुनिए। उनीहरूले समयसापेक्षअनुसार विभिन्न आश्वासन बाँडे। केही न्यूनतम आधारभूत आवश्यकताका विकास भए पनि हुनपर्ने विकास र आश्वासन पूरा हुँदा स्थानीयवासी दिक्क भइहेको लिलिङवासीको प्रतिक्रिया रहेको छ। 

यति मात्र होइन अहिले पनि निर्वाचनको समयमा टोलटोलका सडक कालोपत्रे गर्ने, गाउँगाउँमा निःशुल्क वाइफाइको व्यवस्था गर्ने, घरघरमा खानेपानीका धारा, टोलटोलमा बस, स्वास्थ्यचौकीमा दक्ष डाक्टर र घरघरमा रोजगारजस्ता आश्वासन निर्वाचनको समयमा बाँड्ने गरिन्छ। यी र यस्ता आश्वासन पूरा नभएपछि अहिले स्थानीयवासी मत दिन पनि जाने वा नजाने भन्ने दुई मनमा रहेका छन्। अहिले यस क्षेत्रमा मुख्य गरेर सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) नेत्री रामकुमारी झाँक्री र एमालेका सचिव विष्ट चुनावी मैदान रहेकी छिन्। उनीहरूले स्थानीयवासीसँगको सहभागितामा भएको कार्यक्रममा आश्वासन मात्र दिने र कहिल्यै पूरा नगर्ने भनेर जवाफ फर्काउँदै आएका छन्। यसमा उम्मेदवारले पुनः उही र उस्तै आश्वासन भने बाढिरहेका छन्। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.