add

लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सुरू, दीगो लेखा अभ्यासमा जोड






ActPro Nepal

|

७ वैशाख, २०८१

|
113

काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट्सहरूको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा सुरू भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए ।

राम्रो लेखांकन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकोले यो पेशामा आचारसंहिताको परिपालना अनिवार्य हुने उनको भनाइ थियो । ‘यस पेशामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्त अनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु’ उनले भने ।

अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उनको धारणा थियो । यसबाट देशभित्रै रोजगारी सिर्जना हुने र त्यसमा मुख्य योगदान लेखा व्यवसायीहरूकै हुने उनको भनाइ थियो ।

सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझाव अनुसारको कारवाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सङ्ग छलफल गरेर मन्त्रिपरिषद्मा पेश गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

सम्मेलनको प्रमुख वक्ता इन्टरनेश्नल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफ्याक) की अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्धालाई अघि बढाउन आवश्यक रहेको बताइन् । लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकोले त्यसलाई प्राप्त गर्न द्रुत गतिमा अगाडि बढ्न उनको सुझाव थियो ।

पछिल्लो समय सबै क्षेत्रहरूले दीगो विकासको अवधारणालाई अंगिकार गरेकोले लेखा व्यवसायलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । यसका लागि आचारसंहिता पालना गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताइन् । ‘समय परिवर्तनशील छ । तर, लेखा अभ्यासको आफ्नै महत्व रहनुका साथै नयाँ प्रतिस्पर्धा, विचार, परिवर्तन हुनु पर्ने नयाँ कुरामा ध्यान दिन आवश्यक छ,’ उनले भनिन् ।

लेखा व्यवसायमा नयाँ पुस्ता ल्याउन आइक्यान र विभिन्न शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । यो पेशा चाहना अन्तर्गतको मात्र नभै मुलुककै अर्थतन्त्र सुधार गर्ने मुख्य आधार रहेको पनि उनले बताइन ।

दिगो विकासका लागि लेखा व्यवसायीको भूमिका महत्वपूर्ण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीएले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भमिका खेल्दै आएको बताए । मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने उनले बताए ।

‘आइएमएफले यस वर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ,’ उनले भने, ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेशा अगाडि बढिरहेको अवस्था छ ।’

सो अवसरमा उनले आइक्यानसँगको सहकार्यमार्फत नेपाल राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको पनि बताए । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको पनि उनले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.