add

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड






ActPro Nepal

|

४ चैत, २०८०

|
99

काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राखेका छन्।

‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ का वक्ताहरूले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने र अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउनुपर्ने बताए।

राजस्व सचिव डा. रामप्रसाद घिमिरेले उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने मुख्य दुईवटा चुनौती मुलुकले भोगिरहेको बताए। पुँजी निर्माणमा हुने खर्च घटेका कारण लक्ष्यअनुसार आर्थिक विकास हुन नसकेको उनको भनाइ छ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्व सङ्कलन सन्तोषजनक रहे पनि नेपालको विकास आवश्यकता धेरै भएका कारण बढी स्रोत आवश्यक पर्ने सचिव घिमिरेले बताए। आर्थिक गतिविधि चलायमान भएमात्र राजस्व बढ्ने पनि उजको भनाइ छ।

यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले मुलुक संघीय संरचनामा गइसकेपछि सरकारी वित्त बुझ्न थप कठिन भएको बर्ताए। अहिले सरकारी कोषमा ठूलो रकम थुप्रिएको र यसले बजार मागमा सङ्कुचन ल्याउन भूमिका खेलेको उनको भनाइ छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मकता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले सहकारी क्षेत्रमा समस्या देखिँदा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको उल्लेख गरे।

नेपाल उद्योग वाणिज्य महासघका पूर्वअध्यक्ष भवानी राणाले नेपालको कृषि, पर्यटन, जडीबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी बढाइनुपर्ने बताइन्। मूल्य अभिवृद्धि हुने वस्तु तथा सेवामा लगानी गर्दा त्यसले रोजगारीसँगै अर्थतन्त्र विकासमा पनि मद्दत पुग्ने राणाले बताइन्।

सरकारको नीति निजी क्षेत्रमैत्री हुनुपर्नेमा पनि उनको जोड थियो। आगामी आर्थिक वर्षको बजेटमार्फत कुन क्षेत्रमा कस्ता योजना ल्याउने भनेर सरकारले निजी क्षेत्रसँग पर्याप्त छलफल गरिनुपर्ने धारणा उनले राखिन्।

यसैगरी पूर्वबैंकर परशुराम कुँवरले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दा व्यावसायिक हुन सघाएको बताए। ग्राहकलाई सेवाको गुणस्तर बढाउनेबारे थप सोच्नुपर्ने आवश्यकता उनले औँल्याए।

बैंकिङ क्षेत्रका चुनौती कसरी समाधान गर्ने भनेर स्वदेश र विदेशका असल अभ्यासलाई अवलम्बन गर्नुपर्ने कुँवरको भनाइ छ। बैंकिङ क्षेत्रमा सूचना प्रविधिको प्रयोग र नवप्रवर्तनको क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकताका साथ हेरिनुपर्ने उनको भनाइ छ।

वित्तीय क्षेत्रसँग सम्बन्धित सूचना प्रविधि विज्ञ सञ्जीव सुब्बा बैंकिङ क्षेत्रमा साइबर सुरक्षा चुनौती बढ्दै गएको बताए। बैंक वित्तीय संस्थाले साइबर सुरक्षाका क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उनको भनाइ छ।

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीका बारेमा अर्थविद्, बैंकिङविज्ञ तथा उद्यमीका बीचमा छलफल गरी त्यस्ता समस्या र चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशानिर्देश गर्न यो सम्मेलन आयोजना गरेको आयोजक राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.