add

एपीएफ झापा गोल्डकपको सेमीफाइनलमा






ActPro Nepal

|

२१ फागुन, २०८०

|
110

विर्तामोड  ।   टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौं झापा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । एपीएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमीफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपीएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदीप कार्की र प्रदीप लामा गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बुले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।

एपिएफ ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपीएफले अर्को क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन । पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै एपीएफ क्वार्टर फाइनलमा आइपुगेको थियो ।

सोमबार पराजित सी डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।  

खेलको १० औं मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औं मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।

पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्रि किक बारको नजिकैबाट बाहिरिएको थियो ।

खेलको ५४ औँ मिनेटमा एपीएफका दीपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपीएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै विजेता टिम प्रशिक्षक सुमन श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए । उनले झापा जस्तो प्रतिष्ठित गोल्ड कपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे । टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको बताए । जर्सी अभावका कारण एपीएफले टेप टाँसेर खेल खेलाएको थियो ।

बागमती युथ क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । अवसर सदुपयोग गर्न सकेको भए निर्धारित समयमा नै स्कोर हुन सक्ने अवस्था रहेको उनले बताए । खेल अवधिभर एपीएफलाई बागमतीले दबाबमा राखेको थियो ।

खेलको प्लेयर अफ द म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल काठमाडौंका दुई टिम एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.