add

ट्रयाक खुलेको २९ वर्षपछि कोरोला-नवलपुर जोड्ने छोटो दूरीको सडक कालोपत्र सुरू






ActPro Nepal

|

१० फागुन, २०८०

|
155

तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रू २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा कालोपत्र सुरु गरिएको आचार्यले बताए । रू ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रू १२ करोड २९ लाख ३२ हजार ३१६ मा कालोपत्रको ठेक्का पाएको थियो ।

सडक कालोपत्रको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त सडकको चौडाइ ७ मिटर रहनेछ । सडकमा ५ मिटरको कालोपत्र हुनेछ भने एक मिटरको नाला निर्माण हुनेछ ।

कालोपत्र सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.