add

जाडो याममा पनि घटेनन् रारा जाने पर्यटक, ६ महिनामा पुगे साढे ६ हजार बढी






ActPro Nepal

|

४ माघ, २०८०

|
156

मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा ६ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १ गतेदेखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार ५५७, सार्क तथा विदेशी मुलुकबाट १५६ गरी ६ महिनामा ६ हजार ७१३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन् ।

निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले चालु वर्षको छ महिनामा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुले सुखद लक्षण देखिएको बताए । उनले आन्तरिक मात्रै ६ हजार ५५७ जना पर्यटक यहाँ आएका जानकारी दिए । दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ थियो ।

चालु आवको ६ महिनामा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व असुल गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।

गत वर्ष एघार हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी १८३ जना पर्यटक आएका थिए।

कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने पर्यटक आगमन बढ्ने देखिएको छ ।

निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति रू एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति रू एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रू तीन हजारका दरले प्रवेश शुल्क उठाउने गरेको अधिकृत घिमिरेले जानकारी दिए । उनका अनुसार यहाँ हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।

पर्यटन व्यवसायीले सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन् । अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधनसमेत छैनन् । भरपर्दो सडक, सुविधा सम्पन्न होटल नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँ आउने गरेको व्यवसायी बताउँछन् ।

यस वर्ष जाडो याममा पनि यहाँ आउने पर्यटकको सङ्ख्या नघटेको घिमिरेले बताए । विगतमा वर्षभरी आएकाभन्दा बढी पर्यटक चालु वर्षको ६ महिनामा आएकाले वर्षको अन्त्यसम्ममा १५/१६ हजार पर्यटकले रारा अवलोकन गर्ने अनुमान गरिएको उनले बताए । हिमपात भएमा हिउँ खेल्ने पर्यटक आउँदा यो सङ्ख्या अझ बढ्ने निकुन्जले अनुमान गरेको छ ।

यो बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस आठ र बिहान तथा दिउँसो माइनस पाँचसम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर वास्मती रावलले जानकारी दिए । ‘यति चिसो हुँदा पनि पर्यटकको आगमन कम भएको छैन,’ उनले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.