add

चल्लाले मूल्य नपाएपछि धमाधम बन्द हुँदै ह्याचरी उद्योग






ActPro Nepal

|

२० पुष, २०८०

|
142

चितवन । कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।

नेपालमा दर्ता भएका ३७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै सञ्चालनमा छन् । पोल्ट्री क्षेत्रका ज्ञाता डा. तिलचन्द्र भट्टराईका अनुसार धेरै ह्याचरी चल्लाले मूल्य नपाएपछि सञ्चालन हुन नसकेका हुन् । सञ्चालनमा आएका ह्याचरीको पनि उत्पादन ५० प्रतिशत मात्रै छ ।

ह्याचरी उद्योग कम सञ्चालन भएपछि विदेशबाट ल्याइने प्यारेन्टको सङ्ख्यामा निकै कमी आएको छ । भट्टराईका अनुसार सन् २०१९/२० मा ४६ हजार २०० लेयर्स प्यारेन्ट भित्रिएका थिए । सन् २०२०/२१ मा १ लाख ४८ हजार ८७०, सन् २०२१/२२ मा १ लाख १३ हजार ४३३ र २०२२/२३ मा ६९ हजार ४० मात्रै लेयर्स प्यारेन्ट नेपाल भित्रिएका छन् ।

यस्तै, ब्रोइलर प्यारेन्ट सन् २०२०/२१ मा १८ लाख १२ हजार २९२, सन् २०२१/२२ मा १७ लाख ५ हजार १५४ र सन् २०२२/२३ मा १ लाख २ हजार १४ भित्रिएका छन् । भट्टराईले ब्रोइलरमा ४० प्रतिशत र लेयर्समा ४४ प्रतिशत गिरावट आएको बताए । प्यारेन्ट कम भित्रिएसँगै चल्लाको उत्पादनमा पनि निकै कमी आएको उनको भनाइ छ ।

यसले प्रत्यक्षरुपमा पोल्ट्री क्षेत्रमा प्रभाव हुने देखिएको छ । पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्यारेन्ट आयातमा निकै कमी आएको भन्दै चल्ला उत्पादन कम हुँदासमेत मूल्य नपाएको बताए ।

समग्रमा आर्थिक मन्दीसँगै यो क्षेत्र प्रभावित भएको उनको भनाइ छ । कोभिडपछि एकोहोरो चल्लाको मूल्य घटेको पोखरेल बताउनुहुन्छ । नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वअध्यक्ष रहेका पोखरेलका अनुसार भारतबाट आउने अवैध चल्लाका कारण पनि बजार प्रभावित छ । सरकारले क्वारेन्टाइन ऐन संशोधन गरेर चोरी नियन्त्रण गरेमा उद्योग पूर्ववत् अवस्थामा फर्कन सहयोग पुग्ने उनी बताउँछन् ।

यस्तै बैंकको व्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने उनले बताए। उनले भने, ‘समयमै सरकारले पोल्ट्री क्षेत्रलाई हेर्न सकेन भने आत्मनिर्भर यो व्यवसाय समाप्त हुने अवस्थामा पुग्छ ।’ पोल्ट्री क्षेत्रमा रु १ खर्ब ६० अर्बभन्दा बढी लगानी भएको भन्दै उनले ह्याचरी उद्योगमा मात्रै रु ६० देखि ७० अर्ब लगानी भएको बताए ।

कोभिडपछिको अवस्थामा रु २० देखि २५ अर्ब ह्याचरी उद्योगमा नोक्सान भएको पोखरेल बताउँछन् । उनले थपे, ‘पोल्ट्री क्षेत्र रहेन भने रु १ खर्ब ६० अर्बभन्दा बढी व्यापार नोक्सान व्यहोर्नुपर्छ ।’

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष ऋषिराम पौडेल चार वर्षदेखि लागतभन्दा कम मूल्यमा चल्ला बिक्री गर्न बाध्य भएको बताउँछन् । आर्थिक मन्दीसँगसँगै युवा जनशक्ति पलायन हुँदा कुखुरा पाल्ने र खपत गर्ने दुवैमा कमी आएको उनको भनाइ छ ।

कम ब्याजदरमा लिएको ऋण बढेको, दानाको कच्चा पदार्थ, औषधि लगायतको मूल्य बढेको, भारतीय सीमाबाट चोरी गरी चल्ला आएकालगायत कारण यहाँको ह्याचरी उद्योग धरासायी बन्ने अवस्थामा पुगेको उनी बताउँछन् । उनले भने, ‘निजी क्षेत्रले मात्रै उद्योग धान्नसक्ने अवस्थामा अब उद्योग छैन ।’

साना व्यवसाय गर्न चाहने किसानसँग आर्थिक अभावका कारण पेसा नै पलायन हुने अवस्थामा पुगेको उनी बताउँछन् । सङ्घका कोषाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अहिले ब्रोइलर चल्ला प्रतिगोटा रु ३५ देखि ४० मा बिक्री हुँदै आएको छ । यसको लागत मूल्य रु ६० देखि ६५ पर्न आउँछ । लेयर्स चल्लाको बजार मूल्य रु ७० देखि ७५ छ । यसको लागत मूल्य रु १२० देखि १३० पर्न आउँछ ।

लामिछानेको भनाइमा ५० देखि ६० प्रतिशत नोक्सानमा पछिल्लो समय काम गर्नुपर्दा धेरै ह्याचरी बन्द भएका हुन् । नेपालमा विसं २०४२ देखि व्यावसायिकरुपमा ह्याचरीले चल्ला उत्पादन गर्न थालेका हुन् । यहीँ चल्ला उत्पादन हुन थालेपछि क्रमशः विदेशबाट चल्ला आयात रोकिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.