add

काँकरभिट्टा-लौकही सडक एसियन मापदण्डको बनाइँदै, ३ वर्षमा सकिने






ActPro Nepal

|

९ पुष, २०८०

|
154

मोरङ । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ ।

काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७.७७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार ५१३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए । सडक क्षेत्रबाट ३५ मिटर क्षेत्र भित्र पर्ने रुखमात्र काटिने र काटिएका रुखको दश गुणाबढी बिरुवा रोपिने उनले बताए ।

डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा ५ हजार ५५६ वटा रुख पर्छन् । मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सवडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताए। पाँचवटै सव डिभीजन वन कार्यालयबाट चार÷पाँच जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ ।

सडक दुई खण्डमा ठेक्का लागेको छ । काकरभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ । सडक आयोजना इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाएको छ । ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमीसम्म,४५ देखि ८५ किमीसम्म र ८५ देखि ९७.७७० किमीसम्म ५ वटा ठेक्का लागेको छ ।

निन्दा, विरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ । यी छ वटा पुल ३०० मिटरभन्दा लामा छन् । काम छिटो सम्पन्न गर्न अलगअलग टेण्डर आह्वान भएको आयोजना प्रमुख प्रजापतिले बताए ।

तीन वर्गमा निर्माण हुने सडक बजार, जङ्गल र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ । सडक क्षेत्रमा रहेका ४०४ वटा अस्थायी संरचना हटाउनु पर्नेछ ।

सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम सुरु हुनेछ । ३०० मिटरभन्दा लामो पुल रहेका छ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्तरुपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजना दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.