add

तमोरको पुल बाह्र वर्षदेखि अधुरै






ActPro Nepal

|

२ पुष, २०८०

|
194

तेह्रथुम । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन ।

पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात–आठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटिया पुग्नुपर्ने बाध्यता छ ।

तेह्रथुमको म्याङलुङदेखि धरान जान वसन्तपुर, सिधुवा, हिले, धनकुटा हुँदै घुमेर एक सय १६ किलोमिटर पहाडै पहाडको यात्रा गर्नुपर्ने अवस्था छ । पुल बनेपछि सिधै तमोर करिडोरको बाटोबाट त्यसको आधा समयमै धरान पुग्न सकिन्छ ।

पाँचथरको कुम्मायक गाँउपालिकाको नजिकको हटिया तेह्रथुमको म्याङलुङ हो । गाउँमा उत्पादित वस्तु म्याङलुङको शुक्रबारे हटियामा बेच्न लगिन्छ । म्याङलुङबाट साबुन, नुन, तेल, लत्ताकपडालगायत पिठ्युँमा बोकेरै घर फर्किनु पर्छ ।

विसं २०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीसित १३ करोडमा पुल निर्माणको सम्झौता भएको थियो । पुल २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

तीन मिटर चौडाइ तथा एक सय ५७ मिटर लम्बाइको उक्त पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले बताए । पाँचवटा पिलर बन्नुपर्नेमा चारवटा मात्र निर्माण गरिएका छन् । अब विसं २०८१ असार मसान्तसम्मका लागि निर्माणको  म्याद थप गर्ने तयारी भएको उनको भनाइ छ ।

पुल निर्माण थाल्दा म्याङलुङदेखि पुलसम्म पुग्ने सडक नभएको र सडक खन्न समय लागेको,  भूकम्प, कोरोना महामारीलगायत समस्याले पुल निर्माणले गति लिन नसकेको स्वच्छन्द निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछानेले बताए ।

पटक–पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै गत म्याङलुङका अर्जन ढुङ्गाना र लालीगुराँस नगरपालिकाका डिकबहादुर कार्कीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

म्याङलुङवासीले तमोरको पुल बनाउनका लागि दबाब दिन समिति निर्माण गरी म्याङलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय तेह्रथुमलाई दबाब दिँदै आएका छन् । पुल निर्माणका लागि दबाब दिन सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.