add

पर्यटक लोभ्याउँदै लोपोन्मुख झाँक्री नाच






ActPro Nepal

|

२८ असोज, २०८०

|
339

गलकोट । बाग्लुङ ढोरपाटनका दलित समुदायमा परम्परादेखि चल्दै आएको झाँक्री नाच कुनै समय बिरामी निको पार्ने माध्यम थियो ।

तर अहिले त्यो समय छैन । मानिसहरु बिरामी हुँदा स्वास्थ्य चौकी र अस्पताल जान थालेपछि झाँक्री नाचको माग कम हुन थाल्यो । यसैको आम्दानीबाट जीविकोपार्जन गर्नेलाई समस्या हुन थाल्यो ।

अहिले पनि मानिसहरु बिरामी हुँदा झाँक्रीकहाँ नआउने होइन तर त्यो संख्या निकै कम छ । यद्यपि आफूकहाँ आउने बिरामीहरुलाई झारफूक गर्ने भन्दा पनि अस्पतालमै जान सुझाव दिने गरेको उनीहरुको भनाइ छ ।

उनीहरू भने यो नाचलाई परिमार्जन गर्दै लगेका छन् । लोपोन्मुख झाँक्री नाचलाई जोगाउन र आम्दानीसमेत गर्ने उद्देश्यले यहाँका झाँक्रीहरू यतिबेला झाँक्री नाचलाई विभिन्न चाडपर्व, मेला-महोत्सव तथा पर्यटकको स्वागतमा प्रदर्शन गर्न थालेका छन् ।

ढोरपाटन नगरपालिका-९ ढोरका सुन्दर विक आफूहरु यतिबेला झाँक्री नाच पर्यटकलाई देखाएर आम्दानी गर्न थालेको बताउनुहुन्छ ।

बाजे र जिजुबाजेले दिएका गरगहनामा सजिएर र पशुपक्षीका छाला ओढेर डम्फु र ढोल बजाउँदै नाच्ने झाँक्री नाच अन्यत्रभन्दा फरक भएकाले ढोरपाटन घुम्न आउने पाहुना पनि यसैमा झुम्न थालेको उनको भनाइ छ ।

उनले भने, ‘यो बिरामी निको पार्ने नाच हो, पछिल्लो समय हामीले यसलाई मेला तथा महोत्सवमा देखाउँदै आएका छौँ, कहिलेकाँही ढोरपाटनमा आउने पाहुनाको स्वागतमा पनि देखाउँछौँ ।’

झाँक्री मोतीलाल विकले आफू कहाँ आउने बिरामीलाई सामान्य झारफुक गरे पनि अस्पताल जान नै सुझाव दिने गरेको बताए ।

ढोरपाटनमा आउने पर्यटकको संख्या दैनिक बढ्दै गइरहेको छ, उनीहरूको स्वागतका लागि यहाँका होटल तथा सामुदायिक घरबासले हामीलाई बोलाउँछन् । 

उनले भने, ‘त्यसबाहेक ढोरपाटनमा लाग्ने मेला तथा महोत्सव पनि आयस्रोतको माध्यम बनेको छ ।’

झाँक्री भुपिल विकले आफूले सामान्य आयुर्वेद उपचार गरे पनि बिरामीलाई भने अस्पताल जान सुझाव दिने गरेको बताए । उनले भने, ‘अस्पताल गएर थाकेर फर्केकालाई पनि उपचार गर्छौँ तर सिकिस्त बिरामीलाई भने पहिले अस्पताल जान भन्छौँ ।’

ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्तीले घरबासमा आउने पाहुनाको मनोरञ्जनका लागि झाँक्री नाच देखाउने गरेको बताए ।

झाँक्रीले देखाउने नाचबाट पाहुना प्रभावित हुन थालेपछि झाँक्रीको माग बढ्न थालेको उनको भनाइ छ । बाग्लुङको पश्चिम क्षेत्रको निसी, बोबाङ, अधिकारीचौर र ढोरपाटन उपत्यका क्षेत्रमा प्रचलित झाँक्री नाचको अहिले अन्यत्र पनि प्रचार-प्रसारसमेत हुन थालेको छ । 

झाँक्री नाच देखाउनकै लागि बुर्तिवाङबाट बागलुङ बजारसम्म आउने गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.