add

बेनी-जोमसोम-कोरला सडकको यात्रा अवधि १ घण्टा छोटियो






ActPro Nepal

|

२१ भदौ, २०८०

|
251

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको छ ।

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको हो ।

योजना प्रमुख जगत प्रजापतिले सडक कालोपत्र भएपछि १ घण्टा ३० मिनेटको यात्रा अवधि आधा घण्टामा छोटिएको जानकारी दिए।

‘कैकुखोला–खन्ती सडक कालोपत्र भएपछि एक घन्टा यात्रा अवधि छोटिएको छ,’ उनले भने, ‘मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ ।’

११ मिटर फराकिलो बनाइएको उक्त सडकमा नाली, पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि ८ मिटरको चौडाइका दरले कालोपत्र गरिएको छ । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राखिएको छ । सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको र आवतजावत सहज भएको स्थानीयवासीले बताएका छन् ।

मालढुङ्गादेखि कोरला नाकाको २०२ किलोमिटर दूरीको सडक विस्तार गर्न सञ्चालित १२ प्याकेजमध्ये कैकु–खन्ती खण्ड पूर्णरुपमा कालोपत्र गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजमा पर्ने सो सडक कालोपत्र गर्न २०७४ जेठमा शर्मा–गजुरमुखीसँग ठेक्का सम्झौता भएको थियो । कैकु–खन्तीसहित बेनी–जोमसोम खण्डको चार प्याकेज (भाग) मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु २ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०७४ मा सुरु भएको कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा निर्माण कार्य जारी छ । हालसम्म मुस्ताङको सात खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत छ ।

यस्तै, ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये ६ खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेको योजना प्रमुख जगत प्रजापतिले बताए । आठ पक्की पुल र तीन बेलिब्रिज निर्माण गरिएको छ । थप एउटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्र मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.