add

नेपालमा एडीबीको सवा ४ खर्ब लगानी, उत्पादन क्षेत्रमा लगानी गर्न नेपालकाे आग्रह






ActPro Nepal

|

११ वैशाख, २०८०

|
274

काठमाडौं । नेपालले एशियाली विकास बैंकलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंक (एडीबी)का देशीय निर्देशक अर्नौड कौकोइसबीच आज सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष श्रेष्ठले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने जनाउँदै त्यस्ता परियोजनामा लगानी बढाउन आग्रह गरेका हुन् ।

उनले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनामा लगानी आवश्यक रहेको औँल्याए । छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा बैंकले गरेको सहयोगप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा समेत सरकारलाई बैंकको सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे ।

सो क्रममा उनीहरुबीच आयोग र बैंकबीचको सहकार्य तथा बैंकको सहयोगमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।

बैंकका देशीय निर्देशक कौकोइसले हालै एडीबीले नेपालमा गरेको लगानीको ‘पोर्टफोलियो रिभ्यू’ भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनामा लगानी गर्न एडिबी तयार रहेको बताए । एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाको ‘पोर्टफोलियो’ सुधारिएको उनको भनाइ थियो ।

बैंकले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब रु ४ खर्ब २१ अर्ब (३.२ बिलियन डलर) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा त्यस्तो लगानी गरेको हो ।

मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजनामा बैंकले लगानी गरेको छ ।

गत वर्ष मात्र बैंकले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो । पोर्टफोलियो रिभ्यू कार्यक्रममा बैंकले सहरी खानेपानी तथा सरसफाइ आयोजना, बाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.