add

अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै ठमेलमा विदेशी पर्यटकको चहलपहल






ActPro Nepal

|

८ पुष, २०७९

|
380

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीय स्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ ।

कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरिभराउ हुन अझै समय लाग्ने व्यवसायी बताउँछन् ।

“मुख्य गरी भारतीय र फाट्टफुट्ट युरोप तथा अमेरिकाका पर्यटक देखिन थालेका छन्”, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा भन्छन्।

ठमेलमा साना तथा ठुला गरी झन्डै तीन सय होटेल रहेका छन् । यस्तै तीन सयभन्दा बढी रेष्टुरेन्ट रहेका छन् । रात्रिकालीन व्यवसायी ९० को हाराहारीमा रहेका छन् ।

अध्यक्ष शर्माले अहिले ठमेलभित्र रहेका होटलहरूको क्षमताअनुसार सरदर ५० प्रतिशतको हाराहारीमा पर्यटकहरू रहेका छन् । परिषद्ले अहिले ठमेल क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकायसँगको सहकार्यमा सडक बालबालिकाको व्यवस्थापन, तारको व्यवस्थापनलगायतको काम गर्दै आएको छ ।

यस्तै, ठमेललाई सुन्दर बनाउन सडक बत्ती जडान, सिसी क्यामरा जडान, फुटपाथ व्यवस्थापन तथा साइन बोर्डको व्यवस्थापन गरिएको छ । ठमेललाई चौबिसै घण्टा स्वच्छ, शान्त र सुरक्षित बनाउन सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायसँग परामर्श भइरहेको अध्यक्ष शर्माको भनाइ छ ।

ठमेलस्थित रमदा होटेलका महाप्रबन्धक महेश फुँयाल भारतीय पर्यटकले आफ्नो होटेल क्रिसमस र नयाँ वर्षका लागि पूरै बुक भएको बताउँछन्। उनको होटेलमा स्पा सुविधासहितको ९० कोठा छन् । “विश्वकप फुटबलले तेस्रो मुलुकका पर्यटकमा कमी आए पनि अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा भारतीय पर्यटकको बुकिङ बढेको छ”, उनी भन्छन्।

विश्वसम्पदा सूचीमा रहेका काठमाडौँ उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीय स्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल नै मानिन्छ ।

ठमेलस्थित काठमाडौँ आगन्तुक होटेलका सञ्चालक पशुपति कँडेल अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसजस्ता पर्व मुख्य पर्यटकीय मौसमपछिको पर्यटक आउने अवसर भएको बताउँछन्। “कोरोनापछि अपेक्षा गरेभन्दा बढी पर्यटक आएको महसुस भएको छ, आगामी वर्ष देशमा कुनै प्रकोप नआएमा यो सङ्ख्यामा थप वृद्धि हुनसक्छ,” सञ्चालक कँडेल भन्छन्।

विगतमा क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षमा अमेरिका, युरोप, चीन तथा बङ्गलादेशका पर्यटक बढी नेपाल आउने गरेका थिए । यसपटक तेस्रो मुलुकसहित भारतीय र बङ्गलादेशका पाहुना बढी आउने गरेका छन् ।

मुख्य बजार वरपर घुम्न वा राजधानी बाहिरका पर्यटकीय गन्तव्य पुग्नका लागि सहज हुने भएकाले ठमेल विदेशी पर्यटकको रोजाइमा पर्दछ । राजधानीपछि पर्यटकको रोजाइमा पोखरा, अन्नपूर्ण क्षेत्र, लुम्बिनी, चितवन र सगरमाथा आधार शिविर क्षेत्रलगायत पर्दछन् ।

ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेका छन् ।

काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौंको कारोबार हुने ठमेललाई व्यवस्थितरूपमा सञ्चालन गर्न वडा कार्यालयबाट सहयोग हुने बताउँछन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.