add

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल : उडानको मिति नजिकिँदै, व्यवस्थापनका मूख्य काम बाँकी






ActPro Nepal

|

२९ मंसिर, २०७९

|
520

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको व्यवसायिक उडानका लागि तोकिएको मिति आउन अब ठ्याक्कै १५ दिन बाँकी छ । सरकारले १ जनवरी २०२३ बाट व्यवसायिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

तर, यसबीचमा व्यवस्थापनका धेरै काम थाँती रहेको छ । दुई साता अगाडी सम्पन्न यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन)को प्रतिवेदन शुक्रबार आउँदैछ । त्यसपछि मात्र यो विमानस्थलमा परीक्षण उडान हुनेछ ।

यस विमानस्थलमा एरोथाईको टोलीले मङ्सिर ५ देखि ११ गतेसम्म क्यालिब्रेसन उडान गरेको थियो । विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण प्रतिवेदनका आधारमा विमानस्थलमा परीक्षण उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एरोथाईको टोलीले गरेको एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे नगरेको लगायतका परीक्षणको प्रतिवेदनका आधारमा परीक्षण उडान हुनेछ ।

कम्युनिकेसन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण प्रतिवेदनका आधारमा जहाज उडान तथा अवतरणको बाटो खुल्ने बताइएको छ । परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमलाई पत्राचार गरिएको र कुवेतको जजिरा एयरवेजले पनि चासो देखाएको प्राधिकरणले बताएको छ ।

विमानस्थल सञ्चालनको तयारीअनुसार नागरिक उड्डयन कार्यालय पोखराले विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिसकेको छ । त्यस्तै रिट्ठेपानी डाँडा कटानको कामसमेत धमाधम भइरहेको छ ।

विमानस्थल सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको छ भने अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थालगायतको कामसमेत अघि बढेको छ ।

विमानस्थल व्यावसायिक सञ्चालनमा ल्याउने तयारीका बीच ल्यान्डफिल साइट सार्ने, प्याराग्लाइडिङको व्यवस्थापनलगायतका चुनौतीको टुङ्गो अझै लाग्न सकेको छैन ।

विमानस्थलको सुरक्षार्थ सेनाको ब्यारेक निर्माण, हवाई इन्धन भर्ने डिपो निर्माण, वर्षाको पानी नियन्त्रण, नहर तथा ढलको व्यवस्थापन, विमानस्थलको पूर्वतर्फ रहेको विजयपुर खोला नजिकैको जग्गामा गइरहेको पहिरो नियन्त्रणलगायतका बाधासमेत कायमै रहेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.