add

निर्वाचनमा देशभर २ लाख ९६ हजार सुरक्षाकर्मी






ActPro Nepal

|

२३ कार्तिक, २०७९

|
438

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिन अब १२ दिन मात्रै बाँकी छ। निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न तीनै तहका सुरक्षाकर्मीसहित म्यादी प्रहरी निर्वाचनमा खटिँदै छन्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरी कुल २ लाख ९६ हजार ४३४ सुरक्षाकर्मी यस पटकको निर्वाचनमा खटिनेछन्।

प्रतिनिधिसभातर्फ १६५ र प्रदेशतर्फ ३३० गरी कुल ४९५ प्रतिनिधि चयनका लागि हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

देशभर कुल १ करोड ७९ लाख ८८ हजार मतदाता रहेकामा निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पार्न आयोगका कर्मचारी, प्रहरी र सेना खटिन लागेका हुन्।

नेपाल प्रहरीबाट ७१ हजार ६९३ जना निर्वाचनमा खटिन लागेको प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार जिल्लाबाटै पर्याप्त सुरक्षाकर्मी खटाउन नसक्ने अवस्था भएकाले केन्द्रीय कार्यालयबाट विभिन्न चरणमा गरी ११ हजार ९६१ सुरक्षाकर्मी काठमाडौंबाहिर पठाइँदै छ।

मंगलबारदेखि २७ कात्तिकसम्म सबै जिल्लामा आवश्यक मात्रामा सुरक्षाकर्मी व्यवस्थापन गरिसक्ने उनले बताए। यसैगरी निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी पनि खटिनेछन्। निर्वाचनका लागि केन्द्रीय प्रहरी कार्यालयले ४० दिनका लागि गत भदौमा म्यादी प्रहरी भर्ना खोलेको थियो। 

यसैगरी सशस्त्र प्रहरीबाट ३४ हजार ८३८ सुरक्षाकर्मी निर्वाचनमा खटिन लागेको प्रवक्ता पुरुषोत्तम थापाले बताए। निर्वाचनमा नेपाली सेनाबाट ७४ हजार ९०० सुरक्षाकर्मी खटिन लागेको नेपाली सेनाका प्रवक्ता सहायक महारथी नारायण सिलवालले जानकारी दिए । 

प्रतिनिधिसभातर्फ १६५ र प्रदेशतर्फ ३३० गरी कुल ४९५ प्रतिनिधि चयनका लागि हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न र सुरक्षा व्यवस्था चुस्त पार्न आयोगका कर्मचारी, प्रहरी र सेना चुनावी मैदानमा खटिन लागेका हुन्।

आयोगले निर्वाचनका लागि देशभर १० हजार ८८८ मतदान स्थल तथा केन्द्र तोकेको छ।  आयोगले सुरक्षा संवेदनशीलताका हिसाबले सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा विभाजन गरेको छ। 

सामान्य मतदान स्थलअन्तर्गत ३ हजार ५६ मतदान केन्द्र छन्। निर्वाचन स्थलको पहिलो घेरामा प्रहरी र म्यादी प्रहरी रहनेछन् भने दोस्रोमा सशस्त्र प्रहरी। तेस्रो घेरामा रहने सेनाले मतपत्र ओसारपसार, मतपेटिका ढुवानी तथा सुरक्षा, बम तथा विस्फोटक पदार्थ निस्तेज र मतदान प्रभावित पार्नबाट रोक्ने काम गर्नेछ।

सुरक्षाका आधारमा सामान्य भागमा पर्ने निर्वाचन क्षेत्रमा ३ जना प्रहरी र ५ जना म्यादी खटाउने तयारी आयोगको छ। यसैगरी ४ हजार ४२० संवेदनशील निर्वाचन क्षेत्रमा ३ जना प्रहरी र ६ म्यादी तथा अति संवेदनशील निर्वाचन स्थलको पहिलो घेरामा ६ जना प्रहरी र ६ जना म्यादी खटाउने तयारी आयोगको छ।

निर्वाचन स्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर त्यसअनुसार सुरक्षाकर्मी थप्ने गरी जनशक्ति प्रवाह गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। 

सुरक्षाकर्मीबाहेक मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका जनशक्ति पनि निर्वाचन स्थलमा खटिनेछन्। यसबाहेक गृह मन्त्रालयले ‘इमर्जेन्सी’ अवस्थाका लागि सबै क्षेत्रमा प्रहरी, सशस्त्र र सेनालाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिइसकेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.