new mega bankadd

परम्परागत कलासंस्कृतिको संरक्षणमा गम्भीर बन्नु जरुरी छ






ActPro Nepal

211

८ असोज, २०७९

शुरुमा करिब ६ बर्ष मुकुण्डो उत्पादन कार्यमा संलग्न मध्यपुरथिमीका कान्छा चित्रकारबाट मुकुण्डो निर्माण सम्बन्धी काम सिकेर सोम तामाङ आफ्नै मुकुण्डो निर्माण सम्बन्धी व्यवसायमा प्रवेश गरेका हुन् । तामाङले करिब ३ दशक लामो समय मुकुण्डो (मास्क) उत्पादन कार्यमा नै बिताइसकेका छन् । विभिन्न किसिमका कलात्मक मुकुण्डोहरु निर्माण गर्दै आएका तामाङले हिन्दू, बौद्ध, क्रिसमस तथा तिब्बतीयन लगायत विभिन्न वर्गसमुदायको आवश्यकता बमोजिमका मास्कहरु उत्पादन गर्दछन् ।

तामाङ आफ्नो देशमा नै रहेर यहीँ सम्भावना खोज्नुपर्छ भन्ने कुराको अवलम्बन गर्ने एक प्रतिनिधि पात्र हुन् । उनले आफू संलग्न भएको काममा आफ्नो ज्यूज्यान र बुद्धिले भ्याएसम्म नयाँपन दिने प्रयाश गर्दै आएका छन् । कलात्मक डिजाइनहरु सृजना गर्नमा माहिर तामाङले मुकुण्डो नेवारी संस्कृतिको लागि अनिवार्य वस्तु नै भएपनि यसको उत्पादन भक्तपुरबाट घट्दै गएको प्रति निराशा व्यक्त गर्छन् ।

नेपालमा नै थुप्रै अवसर

नेपालमा अवसरहरु चिन्न सकेको खण्डमा थुप्रै अवसरहरु हाम्रो वरपर नै रहेको समेत बताउँछन् तामाङ । हरेक परिश्रम गर्न रुचाउने व्यक्तिले जुनसुकै कामबाट पनि आफूलाई अब्बल सावित गर्न सक्ने उनको धारणा छ । कामलाई हेय दृष्टिले हेर्ने प्रचलन नेपालीहरुमा संस्कारको रुपमा नै विकास हुँदै जानुले हाम्रो समाजलाई अधोगति तर्फ धकेल्ने तामाङको धारणा छ । आफू संलग्न जुनसुकै काम भएपनि त्यसप्रति सकारात्मक धारणा सहित निरन्तर अघी बढ्न सकेको खण्डमा यसले आफ्नो व्यक्तिगत एवं देशको उन्नतीमा ठूलो सहयोग पुर्याउने उनी बताउँछन् ।

बजार

मुकुण्डो व्यवसायको कारोबार नेपालमा मात्र सीमित छैन । घोडाजात्रा, इन्द्रजात्रा, गाईजात्रा लगायतका नेवारी पर्व तथा जात्राहरुमा अनिवार्य सर्तको रुपमा रहने मुकुण्डोले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनमा समेत ठूलो सहयोग पुर्याएको छ । नेपालमा एउटै समुदायमा पनि विभिन्न पर्वअनुसार फरक–फरक किसिमका मुकुण्डोहरु पहिरिने गरिन्छ । साथै देशभर एकैपटक मनाइने लाखे नाचमा पनि ठाउँ अनुसार फरक–फरक मुकुण्डो पहिरिने प्रचलन छ ।

कच्चा पदार्थ

मुकुण्डो निर्माणको लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थको रुपमा माटो, कपास, माड, कपडा र नेपाली कागज पर्ने गर्दछन् । यसको अलावा रिसाइक्लिङ पेपरमा लोक्ता मिश्रण गरेर पनि यस्ता मुकुण्डोहरु निर्माण गर्न सकिन्छ । यस्ता मास्क हल्का हुनुको अलावा प्रयोग गर्न सजिला र आकर्षक समेत हुने गर्छन् ।

लोप हुँदै गएको व्यवसाय

विगत केही दशक पहिले सम्म मुकण्डो निर्माण कार्य परम्परागत रुपमा भक्तपुरको मध्यपुर क्षेत्रका चित्रकार परिवारमा सीमित रहँदै आएको थियो । अहिले भने चित्रकारहरु यस पेशाबाट विस्थापित हुँदै जानुभएको छ । साथै अन्य जातिका केही व्यक्तिहरु समेत यस व्यवसायमा प्रवेश गरेका छन् । यद्यपि यस व्यवसायलाई जीवन्त बनाइराख्ने काम भने चुनौतीपूर्ण नै देखिन्छ ।

मध्यपुर ठिमी क्षेत्रको विशेष कलाको रुपमा चिनिँदै आएको मुकुण्डो निर्माण कार्यलाई बचाउन पहल नगर्ने हो भने विस्तारै यो कला लोप हुने स्थितिमा पुग्ने तामाङ अनुमान गर्छन् । यस्तो अवस्थालाई विचार गर्दै यस क्षेत्रमा युवा व्यक्तिहरुलाई संलग्न गराउन राज्यले विशेष लिनुपर्ने तामाङको धारणा छ ।

मुकुण्डो निर्माणमा तामाङको प्रवेश

सिन्धुपाल्चोकका सोम तामाङ मुकुण्डो निर्माण कार्यमा संलग्न हुनुमा आफू सानै देखि मध्यपुरमा बस्दै आउनुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । आफ्ना सबै छिमेकीहरु मुकुण्डो निर्माण कार्यमा पहिले देखि नै संलग्न भएकोबाट उनी पनि प्रभावित भए । सोम तामाङ अहिले मुकुण्डो निर्माण कार्यमा संलग्न हुन सकेकोमा निकै सन्तुष्ट समेत छन् । व्यवसायले राम्रो गति लिँदा आफ्नो व्यवसायबाट तामाङले २०-२२ जना व्यक्तिहरु सम्मलाई रोजगारी सृजना गरेका थिए । अहिले कोरोना संक्रमण शुरुवात भएपछि भने अझै पनि बजार पूर्ण रुपमा स्थिर बन्न सकेको छैन । जसले गर्दा न्यून जनशक्तिबाट आफ्नो कामलाई निरन्तरता दिनुपरेको छ ।

बजार

विगत १५ बर्ष पहिले सम्म नेपालमा यी सामानहरुको उपयोग चाडवाडमा थोरै परिमाणमा मात्र हुने गर्थ्र्यो । मुख्य बजार अन्तर्राष्ट्रिय नै हुने गर्थ्र्यो । अहिले भने नेपाली बजारमा पनि यस्ता सामानको माग निकै नै बढेको छ । अहिले नेपालका स्थानीय संघसंस्थाहरुले पनि स्वदेशी उत्पादनलाई विशेष महत्व दिन थालेका छन् ।

अहिले नेपालमा समेत यस्ता सामानहरु घरमा सजाउन र गिफ्ट तथा मायाको चिनोको रुपमा समेत यी वस्तुहरु प्रयोगमा ल्याइरहेका छन् । जसले गर्दा स्वदेशी बजार विस्तारमा निकै नै सहयोग पुगेको तामाङ बताउँछन् । नेपालको अलावा अमेरिका, स्पेन र अष्टे«लियामा समेत आफ्नो बजार राम्रो रहेको तामाङको अनुभव छ ।

अन्तर्राष्ट्रिय प्रदर्शनीहरुमा सहभागिता

आफू मुकुण्डो व्यवसायमा संलग्न भएकै कारण तामाङलाई पटक–पटक विदेश भ्रमणको अवसर समेत जुटेको छ । कहिले उनी चीन पुग्छन् त कहिले भारत । कहिले स्पेन त कहिले अमेरिका । विभिन्न प्रदर्शनीहरुमा भाग लिने उद्देश्यले विभिन्न देशहरुमा सहभागि हुन मन पराउने तामाङ नेपालमा आयोजना हुने प्रदर्शनीहरुमा समेत निरन्तरजसो सहभागि भई व्यवसाय प्रवद्र्धन र कलाको प्रदर्शनीमा रमाउँदै आएका छन् ।

मुकुण्डो व्यवसायमा लगानी

यस व्यवसायमा न्यूनतम लगानीबाट समेत काम शुरु गर्न सकिन्छ । बिस्तारै लगानी बढाउँदै जान सकिन्छ । थोरै लगानीबाट धेरै आम्दानी गर्न सकिने यस व्यवसायमा मूलतः बढी मेहनत आवश्यक रहन्छ । सीपमूलक काम भएको हुनाले राम्रोसँग काम सिक्नको लागि धैर्यता भने आवश्यक पर्छ ।

मास्कको मूल्य

नेपालमा यस्ता मास्कहरु नेपालीहरुले आफ्नो बजेट बमोजिम किन्न सक्छन् । न्यूनतम शुल्कको मायाको चिनो ४ सय रुपियाँमा नै उपलब्ध गराउँदै आएका तामाङ सबैभन्दा महँगा कलात्मक उत्पादनमा भने परिश्रम र उत्पादनको लागत हेरेर मूल्य १२ हजार ५ सय सम्म लिने गरेको बताउँछन् । ग्राहकको माग र खर्च गर्न सक्ने क्षमता बमोजिम नै तामाङले यस्ता सामानहरु उत्पादन गरी उपलब्ध गराउँदै आएका छन् ।

नगरपालिका र संघसंस्थाको सहयोग

पछिल्लो समय मध्यपुरथिमी नगरपालिकाले कलासंस्कृतिको जागरणमा समेत विशेष महत्व दिएको छ । स्वदेशी तथा विदेशी पाहुनाहरुलाई स्वदेशी वस्तुबाट नै सम्मान गर्ने नीति नगरपालिकाले लिँदै आएको र स्थानीय संघसंस्थाहरुले पनि यस किसिमका वस्तुलाई प्रवद्र्धन गर्नु निकै राम्रो पहल रहेको तामाङको धारणा छ ।

प्रशिक्षार्थीहरु सुझाव

नेपालमा मुकुण्डो निर्माण सम्बन्धी तालिम लिएका थुप्रै युवाहरुमा धैर्यताको कमी देखिन्छ । यो क्षेत्र कलासँग सम्बन्धित भएको कारण एकैपटकमा राम्रो लाभ लिन सकिने स्थिति नरहन सक्छ । लामो समयको लागि धैर्यता हुने हो भने दीर्घकालिन रुपमा राम्रो लाभ हासिल गर्न सकिन्छ । धैर्यता कायम गर्न नसक्ने हो भने कुनै पनि क्षेत्रमा सफल हुन सकिँदैन । व्यक्तिमा इच्छाशक्ति जति बलियो हुन सक्यो, त्यति छिटो नै यस कलामा निपूर्ण हुन सकिने स्थिति रहन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.