add

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक : विज्ञ






ActPro Nepal

|

२४ भदौ, २०७९

|
497

काठमाडौं । देशमा सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले विहिबार आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को डिजिटल पूर्वाधार तथा प्रविधि सम्बन्धि सत्रमा सहभागी सरोकारवालाहरूले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनमा जोड दिएका हुन् ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सञ्चार मन्त्रालयले शैक्षिक क्षेत्रको माध्यमबाट सूचना प्रविधि क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन गर्न पहल गरिरहेको बताए । आईटी कोर्समा कोटा प्रणालीका कारण धेरे विद्यार्थीले चाहेर पनि पढ्न नसकेको र यसले गर्दा दक्ष जनशक्ति उत्पादनमा प्रभाव परेको भन्दै यो विवेद हटाउन सञ्चार मन्त्रालयले पहल गरेको उनले बताए ।

‘प्रविधिसँग सम्बन्धित जनशक्ति हरेक क्षेत्रमा आवश्यक छ । भोलीको दिनमा यसको माग थप बढ्दै जानेछ । यसको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नु पनि उत्तिकै आवश्यक छ’, उनले भने, ‘यसलाई शिक्षाको क्षेत्रबाट नै सम्बोधन गर्ने हो ।’

त्यसको लागि सञ्चार मन्त्रालयले शिक्षा मन्त्रालयसँग छलफल गरिरहेको उनले बताए । साथै नेपालले फिनटेक र डिजिटल अर्थतन्त्रको क्षेत्रमा पनि विस्तारै सुधार गर्दै गइरहेको उनले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालको सूचना प्रविधि पूर्वाधारको पहुँच र विकासको विद्यमान अवस्थितिको विषयमा जानकारी दिएका थिए । त्यसैगरी पीडब्लुसी भारतका प्रविधि परामर्शदाता सन्तोष मिस्र र अजरबैजनका राजदुत माननिय अश्रफ शिखालिएभले आ–आफ्नो देशमा भएको प्रविधि पूर्वाधार विकासको विषयमा जानकारी दिएका थिए ।

विश्व बैंकका वरिष्ठ डिजिटल विकास विज्ञ सिद्दार्थ राजाले प्रविधि क्षेत्रमा ठूलो छलांग मार्नको लागि सार्वजनिक र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताए । ूयो क्षेत्रमा निजी र सार्वजनिक क्षेत्र मिलेर काम गरेको धेरै कम देखिन्छ । त्यसैले यो अन्तर हटाउनु जरुरी छ’, उनले भने, ‘नेपालले ध्यान दिनुपर्ने विशेष क्षेत्र भनेको ब्रोडब्यान्ड कनेक्टिभिटी, डेटा इकोनोमी र जनशक्ति उत्पादन हुन् । त्यस्तै उनले नेपालमा डेटा सेन्टरहरू स्थापना गर्नको लागि बातावरण सहज बनाउनुपर्ने पनि बताए ।’

किम्बु टेकका संस्थापक तथा सीईओ कार्विका थापाले आईटीको क्षेत्रमा दक्ष जनशक्ति निकै कम भएको र यसको लागि निजी क्षेत्रहरूले मात्र नभइ सरकारले पनि पहल गर्नुपर्ने बताइन् ।

‘प्रविधिको क्षेत्रमा अहिले विद्यमान सबैभन्दा ठूलो समस्या भनेको नै दक्ष जनशक्तिको आपूर्ति हो । कामको अवसर धेरै छ तर यहाँ काम गर्ने मानिस कम हुँदा समस्या आएको छ’, उनले भनिन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.