add

प्रचण्डको अन्तिमपटक प्रधानमन्त्री हुने इच्छा






ActPro Nepal

|

१५ साउन, २०७९

|
757

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफ्ना लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको सुनाए । उनले आफ्नो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताए ।

'यो पटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन । त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ । त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ । हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनु छ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु' उनले भने ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गरे । उनले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिए ।

‘आउने प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो । कम्तिमा पनि लेट मुभमेण्टको पहिलो हुने पूरै सम्भावना छ । मैले नेपाली कांग्रेसका नेताहरुलाई भनेको छु । अहिले पहिलो पार्टी त तपाईहरु नै हुने देखियो तर माओवादी दोस्रो हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु' उनले भने ।

अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे । उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओवादी -माओवादी केन्द्र) मात्रै रहेको जिकिर गरे ।

'माओवादी भनेको माओवादी केन्द्र मात्रै हो अरु माओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो । किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन । बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाव नै भएन’ उनले भने ।

अध्यक्ष दाहालले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको दाबी गरे । उनले किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादी, बुर्जुवा र दलाल आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको सुनाए ।

अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गरे । उनले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गरे ।

अध्यक्ष दाहालले देश विकास गर्ने कुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताए । उनले देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीले राजनीतिमा बुढापाका चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए ।

उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गरे । उनले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.