add

यसकारण एमसीसी टेबुल गर्नबाट पछि हटे देउवा






ActPro Nepal

|

४ फागुन, २०७८

|
1268

काठमाडौं । सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्रले साथ नदिँदा सरकारले आज बुधबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्न सकेन । पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमै सरकारले आज सदनमा एमसीसी प्रस्ताव पेश नगरेको हो ।

संसदीय दलको बैठकमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेर प्रचण्ड देउवालाई भेट्न पुगेका थिए । भेटमा दुई शीर्ष नेताबीच संसद बैठकमा आज एमसीसी टेबुल नगर्ने सहमति जुटेको हो । भोलि गठबन्धनको निर्णायक बैठक बसेर यस विषयमा निर्णय लिने सहमति भएको छ । माओवादीले यथास्थितिमा एमसीसी सदनबाट अनुमोदन गर्न नसकिने र जवर्जस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका हुन् ।

एमसीसी अनुमोदनका लागि आफूसँगै हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका प्रचण्ड यसकै विपक्षमा उभिँदा आफुमाथि अन्तराष्ट्रिय दबाब आउन सक्ने भन्दै देउवा पछि हटेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अमेरिकाको दबाब आउनुका साथै, राजनीतिक गठबन्धन टुट्ने खतराले पनि देउवा पछि हटेको हुन सक्ने बताए । उनले भने, ‘अन्तराष्ट्रिय दबाब, राजनीतिक छबी बिग्रने डर, प्रचण्डको दोहोरो चरित्रलगायत कारणले देउवा पछि हटेका हुन् ।’ प्रचण्ड एमसीसीको समर्थनमा रहे पनि पार्टीभित्रका अन्य नेता कार्यकर्ताको दबाबले अप्ठयारोमा परेको उनको बुझाइ छ । 

नेता कार्यकर्ताहरूको इच्छाविपरित हिड्न खोजे प्रचण्डलाई नेतृत्वबाटै हट्ने डर पनि छ । अप्ठयारो हुने देखेपछि प्रचण्डले देउवालाई एमसीसी टेबुल नगर्न आग्रह गरेको उनको भनाइ छ । गठबन्धनमा सहमति नजुट्ने थाहा हुँदाहुँदै पनि देउवाले भोलि छलफल गरेर निर्णय गर्ने भनेको र प्रचण्डबाट देउवालाई धोका भइसकेको पनि विश्लेषक जीवनको बुझाइ छ । 

सभापति शेरबहादुर देउवा पक्षधर नेता मीन विश्वकर्माले पनि माओवादीसँग सहमति नजुटेकाले एमसीसी टेबुल गर्नबाट देउवा पछि हटेको बताए । बिहान देउवा र प्रचण्डबीचको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेकोले एमसीसीलाई टेबुल गर्न पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । नेता विश्वकर्माले भने, ‘भोलि सत्ता गठबन्धनका दलबीच थप छलफल भएपछि एमसीसी सदनमा लैजानेबारे निर्णय हुनेछ । सहमति नजुटेकोले पुर्नविचार गर्नुपरेको हो ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.