add

नेपाली काङ्ग्रेसको महाधिवेसन सही नेतृत्व चयनमा केन्द्रित हुनुपर्छ: महत






ActPro Nepal

|

२३ मंसिर, २०७८

|
1020

रमेश महत नुवाकोट जिल्ला सभापति, नेपाली काङ्ग्रेस

नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन तत्काल सम्पन्न हुन गइरहेको छ । महाधिवेसनको मुख्य उद्देश्य नेपाली काङ्ग्रेसको केन्द्रीय नेतृत्व चयन नै हुनेछ । त्यही नेतृत्वले नै पार्टीलाई आगामी दिनमा गतिशिल बनाउनेछ । यसकारण मुलुकको आशा एवं नेपालीहरुको भाग्य र भरोसासँग जोडिएको यस पार्टीले आगामी दिनमा सही नेतृत्व दिन सक्ने क्षमतावान् व्यक्ति नेतृत्वमा आउनु जरुरी छ ।

नेपाली काङ्ग्रेसले गाउँ, नगर र जिल्ला तहमा अधिवेशनहरु यस भन्दा पहिले नै सम्पन्न गरिसकेको छ । अहिलेको सबैको चासो भनेको केन्द्रीय महाधिवेसन प्रति नै केन्द्रित छ । ठूलो एवं नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र मुलुक विकासका दिगो नीतिहरु तय गर्दै आएको नेपाली काङ्ग्रेसको नेतृत्व कस्तो हुने हो भन्ने चासो रहनु स्वभाविक नै हो । अन्य तहका अधिवेसन जसरी नै केन्द्रीय महाधिवेशन पनि सभ्य र सुसंस्कृत रुपमा सम्पन्न हुनेमा हामी सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरु आशावादी छौं ।

लोकतान्त्रिक दलहरुमा अलग–अलग प्यानल वा समूह बनाएर चुनावी गतिविधिमा सक्रिय बन्नुलाई लोकतान्त्रिक पद्धति नै हो । यद्यपि कतिपय अवस्थामा टीमको सही परिचालन र व्यवस्थापन हुन नसक्दा यसले विविध समस्या सृजना हुने गरेको समेत पाइन्छ ।

जुनसुकै दलले पनि चुनावको समयमा जुन समूह वा प्यानलको प्रतिनिधित्व गरेर चुनाव लडेपनि चुनाव सम्पन्न भएर परिणाम आएपश्चात् भने आपसी सद्भाव र मित्रता कायम राख्न सक्नुपर्छ । आपसी मतभेद अन्त्य गर्नुपर्छ । एक पक्षले अर्को पक्षलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ । लोकतान्त्रिक पद्धतिबाट निर्वाचित प्रतिनिधिहरुले साझा रुपमा सबैको कल्याण गर्न सक्नुपर्छ । निर्वाचित प्रतिनिधिहरुले चुनाव पश्चात् आफ्नो टीम र अलग टीम भन्ने भेद नगरी साझा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्छ । यद्यपि अहिलेको स्थितिमा सबैजसो दलहरुमा यहीँनेर समस्या रहँदै आएको पाइन्छ । त्यसबाट नेपाली काङ्ग्रेस पनि अछुतो छैन । अहिलेको १४ महाधिवेसन पश्चात् यस किसिमका मतभेद अन्त्य गर्नुपर्नेमा हामी दोस्रो तहका नेतृत्वले विशेष दवाब समेत दिँदै आएका छौं ।

विधान सम्मत रुपमा अघी बढ्नु जरुरी

स्वस्थ प्रतिष्पर्धा लोकतन्त्रको सुन्दर पक्ष भएपनि कतिपय अवस्थामा राजनीतिक दलहरुको निर्वाचनमा विभिन्न अस्वस्थ प्रतिष्पर्धा समेत हुने गरेको देखिन्छ । निषेधको राजनीति अर्थात एक पक्षले अर्को पक्षलाई कसरी अवरोध पु¥याएर आफू नेतृत्वमा आउन सकिन्छ भन्ने सोच राख्ने परिपाटी रहेसम्म सही नेतृत्व चयन हुन सक्दैन । यसरी सृजना हुने अस्वस्थ प्रतिष्पर्धाको नियन्त्रण गर्ने मुख्य संयन्त्र भनेकै पाटीको विधान हो । विधान सम्मत हुने गरी पाटी सञ्चालन गर्न सकेको खण्डमा यसरी सृजना हुने समस्यालाई स्वतः घटाउँदै लैजान सकिन्छ । नेपाली काङ्ग्रेसले पनि अबको केन्द्रीय महाधिवेसनमा अस्वस्थ प्रतिष्पर्धा हुन नदिन सोहीबमोजिमको निर्वाचन आचारसंहिता बनाएर सही तवरले कार्यान्वयन गरेर अघी बढ्नुपर्ने जरुरी छ ।

कतिपय अवस्थामा पार्टीको विधानमा भएका अस्पष्ट व्यवस्थाका कारण पनि हामीले चाहेजस्तो पाटी प्रणाली विकास गर्न नसकिएको हुन सक्छ । यस्तो अवस्था रहेको भए आवश्यकता बमोजिम पार्टीको विधान परिमार्जन गर्न पनि नेतृत्व वर्ग तयार हुनुपर्छ । जसबाट सभ्य र सुसंस्कृत रुपमा पार्टीका गतिविधिहरु सञ्चालन हुन सकुन् ।

आगामी नेतृत्वले जोड दिनुपर्ने विषयवस्तुहरु

नेपाली काङ्ग्रेसको नेतृत्वले मुलुकको राजनीति, कुटनीति एवं आर्थिक गतिविधिहरु चलायमान बनाउनमा विशेष महत्व राख्नेछ । अहिले नेपालको छिमेकी मुलुकहरुसँगको सम्बन्धलाई अझ उचाईमा पु¥याउन उचित भूमिका निर्वाह गर्नुपर्नेछ । अघिल्लो पटकको निर्वाचनमा ठूलो पार्टीको रुपमा विजय प्राप्त गरेको नेकपाले छिमेकी मुलुकसँगको सम्बन्धलाई सही तवरले व्यवस्थापन गर्न सकेन । अब यसको अभिभारा नेपाली काङ्ग्रेसनेतृत्वमा आएको छ । आन्तरिक रुपमा बढिरहेको भ्रष्टाचार न्यूनीकरण, जनताका समस्या प्रति सरकारको संवेदनशिलता र उचित व्यवस्थापन, लामो समय देखि योजनामा समेटिएका तर कार्यान्वयन हुन नसकेका कार्यक्रमहरुको कार्यान्वयन लगायतका विकास गतिविधिहरुलाई सार्थक बनाउन पनि नेपाली काङ्ग्रेसले सक्षम नेतृत्व चयन गर्नु जरुरी छ ।

अहिले कठिन स्थितिमा नेपाली काङ्ग्रेसको निर्वाचन हुँदैछ । यसलाई व्यवस्थापन गर्न सकेको खण्डमा आगामी दिनमा नेपाल राष्ट्रले नै सही गति पाउनेछ । अब छिट्टै नै नेपालमा ३ ओटै तहका निर्वाचनहरु हुन लागेका छन् । ती निर्वाचनहरुमा नेपाली काङ्ग्रेसलाई प्रमुख दलको रुपमा विजयी गराई नेपालीहरुको भाग्य र भविष्य बदल्ने सपना साकार पार्नको लागि पनि पार्टीमा बलियो नेतृत्व जरुरी छ ।

कठिन माेडमा मुलुककाे अर्थतन्त्र

यति बेला हामी विगतको जस्तो नियमित स्थितिमा छैनौं । लामो समयको कोरोना सङ्कटले गर्दा नेपालमा ठूलो नोक्सानी पुगेको छ । उद्योग व्यवसायिक वातावरणमा प्रत्यक्ष प्रभाव परेको छ । पर्यटन क्षेत्र लगभग तहसनहस भएको अवस्था छ । अर्थतन्त्रका सबैजसो क्षेत्रहरुको अलावा व्यक्तिगत आर्थिक स्थिति समेत नराम्ररी खस्किएको छ । रोजगारी गुमेको छ । नेपालमा भित्रिने रेमिट्यान्स घटेको छ । बैंकहरुको प्रतिफल समेत घटेको छ । कोरोना अझै पनि तत्काल पूर्ण रुपमा हट्ने स्थिति देखिएको छैन । यस्तो अवस्थामा राजनीतिक नेतृत्वको भूमिका अझ रचनात्मक हुनुपर्ने आवश्यकता रहन्छ ।

साथै अहिलेको अर्थतन्त्रको डिजाइनको मुख्य धरातल समेत नेपाली काङ्ग्रेस नै हो । राज्य सञ्चालनको लागि करका नीति एवं आर्थिक उपार्जनमूलक क्षेत्रहरुको पहिचान नेपाली काङ्ग्रेस नेतृत्वको सरकारबाट नै सम्भव भएको हो । आगामी दिनमा पनि स्वदेशमा नै रोजगारी सृजना, औद्योगिकीकरण, कृषिको व्यावसायिकरण, आर्थिक उपार्जनका नयाँ माध्यमहरुको खोजी लगायत विकासमूलक गतिविधिहरुको अलावा मुलुकलाई सही नीति, विधि र पद्धतिबाट हिँडाउन र दिगो समृद्धि हासिल गर्नको लागि समेत अहिलेको महाधिवेसनबाट चयन हुने नेतृत्व कोशेढुङ्गा सावित हुनेमा हामी दृढविश्वस्त छौं ।

हामीले भन्दै आएका छौं, अबको क्रान्ति आर्थिक क्रान्ति नै हुनुपर्छ । तहसनहस भएको अर्थतन्त्रलाई पुनः माथि उठाउनको लागि राजनीतिक दलहरुले तय गर्ने नीति निकै महत्वपूर्ण हुने गर्छ । यसकारण अबको महाधिवेसन मार्फत निर्वाचित कार्यसमितिले हाम्रो आर्थिक नीति, विकास नीति, उद्योग नीति, रोजगारी सृजना, सुशासन, भ्रष्टाचार न्यूनीकरण लगायतमा विशेष भूमिका खेल्नु अत्यन्तै जरुरी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.