add

आज धनतेरसः के छ महत्व?, धनतेरसका दिन के-के किन्ने?






ActPro Nepal

|

१६ कार्तिक, २०७८

|
809

काठमाडौँ । आज धनतेरससँगै हिन्दुहरूको दोस्रो महान् चाडको रूपमा रहेको तिहारले पनि पाइला टेकेको छ। यस दिन विशेषरूपमा भगवान धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ। समुद्र मन्थनको क्रममा यसै दिन भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएका थिए। 

भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ। उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन्। भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन्। हरेक वर्ष कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ। 

धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ। यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ। यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ। यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ।

के के किनिन्छ यस दिन?

भगवान् धन्वन्तरीलाई पित्तल मनपर्ने भएकाले यस दिन विशेष रूपमा पित्तलका सामानहरू किनिन्छ। नेपाली बजारमा यस दिन विशेषगरी पित्तलका थाल, गिलास, कचौरा, कलशहरूको खरिद–बिक्री हुने गर्छ।

धनतेरसको दिन किनिएको कुवेर यन्त्र तथा श्री यन्त्रलाई शुभ मानिन्छ। यस दिन किनिएको यन्त्रलाई घरको दराज तथा पसल व्यवसायमा राख्नाले वर्षभर पैसाको कमी नहुने विश्वास गरिन्छ। 

साथै, यस दिन लक्ष्मी र गणेशको लोगो भएको चाँदीको सिक्का किन्ने प्रचलन छ। यसले घरमा शुभफल दिनुका साथै समृद्धि भित्रिने जनविश्वास रहेको छ।

धनतेसरमा अधिकांशले कुचो किन्ने गरेका पाइन्छ। यस दिन कुचो किनेर घरमा ल्याउँदा पैसाको अभाव नहुने तथा घर परिवारका सदस्यलाई रोगले नसताउने विश्वास गरिन्छ। 

सवारी साधन किन्नेहरू पनि यसै दिनको प्रतीक्षामा रहेका हुन्छन्। यस दिनलाई सवारी साधन किन्न शुभ मानिनुका साथै नेपालमा दसैँ-तिहारको अफर पनि चल्ने भएकाले यस दिन सवारी साधनको बिक्रीसमेत अत्यधिक हुने गरेको छ।

आजदेखि भाइटीकाको दिनसम्म व्यवसाय तथा व्यक्तिगत कारोबारमा उधारो गर्दा अशुभ हुने जनविश्वाससमेत रहेको छ। आजकै दिनदेखि तिहार सुरु भए पनि तिथिमा परेको घटबढका कारण भोलि (बुधबार) नै काग तिहार र कुकुर तिहार मनाइँदैछ।

आयातित संस्कृति

१० वर्ष अघि नेपालमा धनतेरस पर्व मनाइदैँनथ्यो। यो पर्व खास गरी माडवारी समूदायले मनाउने पर्वको रुपमा चिनिन्छ। यो भारतीयहरुले मनाउने पर्व हो। नेपालमा भारतीय नागरिक पनि बसोबास गर्छन्। त्यसैमाथि कयौँ वर्षदेखि माडवारी समूदायहरु नेपालका काठमाडौँ, पोखरा, विराटनगर, नारायणगढ लगायतका विभिन्न शहरहरुमा व्यवसाय गर्न बसोबास गरिरहेका छन्। उनीहरुबाट आएको यो संस्कृति अहिले नेपालभरी फैलिँदैछ। उनीहरुले मनाउने गरेको यो पर्व अहिले अधिकांश नेपालीहरुले मनाउने गर्छन्। भारतीय र नेपालीहरुको धर्म र संस्कृति मिल्ने भएकाले पनि आजभोलि नेपालीहरुले पनि धनतेरस पर्व मनाउने गरेका हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.