add

बहुप्रतीक्षित नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण धमाधम हुँदै, ३२६ मिटर खनियो






ActPro Nepal

|

१५ चैत, २०७७

|
1076

काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिएको छ । औपचारिक रूपमा सुरुङ खन्न शुरू गरिएको ४ महिनाको अवधिमा कुल ३२६ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

हालसम्म काठमाडौंतर्फ १३९ मिटर र धादिङतर्फ १८७ मिटर सुरुङ खनिएको आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंतर्फको १३९ मिटरमध्ये ४९ मिटर मुख्य सुरुङ र ९० मिटर आपतकालीन उद्धार सुरुङ (स्केप्ट टनेल) खनिएको छ ।

धादिङतर्फ हालसम्म १८७ मिटर मध्ये १६२ मिटर स्केप्ट टनेल खनिएको छ । १५ मिटर मुख्य सुरुङ खनिसकिएको छ भने थप ७ मटिरमा मुख्य टनेल खन्ने काम भइरहेको इन्जिीनीयर अधिकारीले बताइन् ।

उनका अनुसार १४ महिनाभित्र निर्माण सक्ने लक्ष्य सहित दुई सिफ्टमा काम भइरहेको छ । उनले दिन र रातमा गरेर ४÷४ घण्टाको ओभरटाइम सहित सुरुङ निर्माणको कामलाई तीव्रता दिइएको छ ।

 उनले दुवैतर्फ २४ घण्टा काम भइरहेको बताइन् । ‘२४ घण्टा काम भइरहेको छ, सक्दो समयमै सक्ने गरी काम गरिरहेका छौँ,’ उनले  भनिन् । जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले ४०० जनशक्ति खटाई २४ घण्टा काम गरिरहेका हो ।

उनले वातावरण तथा स्थानीयलाई ध्यानमा राखी साउण्डप्रुफ हालेर काम भइरहेको बताइन् । धादिङतर्फ भने आपतकालीन उद्धार (स्केप्ट टनेल) सुरुङको कामअघि बढाइएको हो । स्केप टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी निर्माण गरिँदै छ । मुख्य सुरुङबाट ३० मिटरको दूरी (चौडाइ) मा हुने गरी स्केप टनेल खनिएको छ । यसरी समानान्तर हुने गरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज)ले मुख्य सुरुङसँग जोड्छ ।

कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ । यो टनेल मूल सुरुङको एकतिहाई व्यास (डायमिटर) को हुनेछ । अर्थात् मुख्य टनेल स्केप टनेलभन्दा तीन गुणा ठूलो हुनेछ ।

सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरी यस सुरुङमार्गको डिजाइन गरिएको छ ।

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

सुरुङ निर्माणका लागि कुल ९०० टन विष्फोटक पदार्थ आवश्यक पर्नेछ । सो मध्ये ३०० टन आयातका क्रममा रहेको छ । सबै विष्फोटक पदार्थ सेनाको नियन्त्रणमा आवश्यकता अनुसार मगाइने उनले बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको १६ महिना बितिसकेको छ  । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।

 यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिकाअनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ । यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको हो भने आयोजना पूरा गर्दासम्म यसको सुपरीवेक्षणको काम पनि सोही कम्पनीले गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.