add

घरभाडामा घरबेटी आतंक बिजुलीमा ठगि, पानीको छुट्टै शुल्क






ActPro Nepal

|

२६ माघ, २०७६

|
1239


काठमाडौं । बल्ल बल्ल एउटा जागिर मिल्यो । काम गर्नुपर्ने अनामनगर  एरिया । आफ्नो बसाई बालाजु वाईपास थियो । कोठाबाट अफिस आउन दुईवटा गाडी फेर्नुपर्ने ।  

सानो गल्लीमा एउटा सानो कोठा भाडामा लिदा करिब ५ हजार मूल्य तिर्नुपर्छ । ठूला र खुला एरियामा पाइने कोठाको त सामान्य व्यक्तिको पहुँच भन्दा बढी हुन थालेको छ । 

काठमाडौ उपत्यकामा काम, पढाइ, व्यवसाय, स्वास्थ्योपचारको खोजी गर्दै मानिसहरु आफ्नो थातथलो छाडेर आउने गर्छन् । तर, सहरका घरबेटीले घरभाडा तिर्ने व्यक्तिलाई अत्यधिक शोषण गरिरहेको छ ।

घर भाडामा बस्ने (डेरावाल) उपभोक्ताले घरबेटीबाट हरेक कुरामा पिडित बन्दै आएका छन् । अर्थात्, घरभाडामा बस्नेहरु झन् सबैतिरबाट ठगिएका छन् ।  नेपालमा कोठा भाडामा दिने कुनै वैज्ञानिक विधि छैन । घरबेटीले आफूखुसी भाडा तोकी असुली गर्दै आएका छन् ।

अझ कतिपय क्षेत्रमा घरबेटीले सुरुमा केही कम मूल्य राख्ने र लगत्तै उच्च दरमा भाडा बढाउने प्रचलन पनि पर्याप्त छ । यसो गर्दा बल्लतल्ल सामान जोहो गरेर बसेको व्यक्ति तुरुन्तै घर छाडेर जाने अवस्थामा हुँदैन । त्यसको फाइदा उठाउँदै घरबेटीले आफूखुसी गर्दै आएका छन् । कतिपय क्षेत्रमा घरबेटीले भाडासँगै सरकारलाई तिर्ने करसमेत डेरावालसँग लिने गरेका छन् ।

भाडा लिएपछि कर तिर्नुपर्ने दायित्व घरबेटीको हो तर घरबेटीले कर तिर्ने गरेको पाइदैन । मुलुक संघीयतामा गएसँगै घर बहाल कर व्यक्तिगत भए स्थानीय तह र संस्थागत भए केन्द्रले उठाउने व्यवस्था छ । तर, संस्थागत कर संस्थामार्फत असुली हुने गरे पनि व्यक्तिगत कर असुली हुन सकेको छैन । न त यस्तो कर उठाउन स्थानीय तहले नै चासो दिएका छन् ।

कम्तीमा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा न्यूनतम र अधिकतम भाडा दर कति हुने र कुन क्षेत्रको भाडा, कस्तो कोठाको भाडा कतिसम्म हुने भनेर व्यवस्थित बनाइदिए भाडामा बस्ने उपभोक्ताले राहत महसुस गर्थे । तर, अहिलेसम्म त्यसको कुनै संकेत देखिएको छैन । घर भाडामा पाउनै मुस्किल, पाए अत्यधिक मूल्य, घरमा बसिसेकपछि फेरि बत्ती, पानी, फोहोरको चक्करमा थप रकम घरबेटीलाई बुझाउने पीडाले उपभोक्ता दोहोरो मारमा परेका छन् । 

सामान्य सटर लिएर सानोतिनो व्यवसाय गर्ने उपभोक्ताले लाखौँ भाडा तिरिरहेका छन् । घरभाडाका कारण साना तथा मध्यम व्यवसायी अझ बढी मारमा छन् । उपत्यकामा मात्रै होइन, उपत्यकाबाहिरका ठूला–साना सबै सहरमा अत्यधिक भाडा असुलिइएको छ । घरभाडा तिर्दा व्यवसायी उपभोक्ता हुन् तर तिनै व्यवसायीले घरभाडाको पनि लागत जोडेर वस्तु तथा सेवामा जोड्दा त्यसको प्रत्यक्ष मार आम उपभोक्तामा पर्ने गर्छ ।

दरबारमार्ग क्षेत्रमा प्रतिस्क्वायर फिट १ सय ५० देखि ३ सय रुपैयाँसम्म भाडा रहेको व्यवसायी बताउँछन् । तर, यो कुन आधारमा भाडा तय भएको, कसैलाई थाहा छैन ।

बिजुलीमा ठगि

एकातिर भाडा आफैँमा महँगो छ भने अर्कोतिर पानी, फोहोर र बिजुलीको पैसा घरधनीले छुट्टै असुल्छन् । घरधनीले डेरावालासँग प्रतियुनिट १५ देखि २० रुपैयाँसम्म असुलिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणले खपतका आधारमा प्रतियुनिट ३ रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिने गरे पनि घरबेटीले आफूखुसी डेरावालसँग पैसा उठाउने गरेका छन् ।

घरभाडामा बस्नेसँग अत्यधिक विद्युत् महसुल उठाएको उजुरी र गुनासोपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कारबाही गर्ने चेतावनी दिए पनि अहिलेसम्म कुनै घरधनीलाई कारबाही भएको छैन । उसो त, प्राधिकरण आफै“ले विद्युत्को एकाधिकारको फाइदा उठाउँदै शुल्क महँगो बनाएको उपभोक्ताको गुनासो छ ।

पानीको छुट्टै शुल्क 

त्यसैगरी घरधनीले पानीका लागि पनि धाराको पानीको छुट्टै, पानी तान्ने मेसिनका लागि विद्युत् खपत भन्दै छुट्टै शुल्क लिने गर्छन् । धाराको पानीका लागि ठाउँ हेरीकन प्रतिपरिवार न्यूनतम ५० देखि ३ सय रुपैयाँसम्म र पानी तान्ने विद्युत्का लागि थप न्यूनतम ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।

त्यस्तै, फोहोरका लागि भन्दै न्यूनतम ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्म, इन्टरनेट सुविधाका लागि भन्दै थप शुल्क लिने गर्छन् । घरबेटीले लिने शुल्क यस्तो हुन्छ कि उनीहरुले डेरावालसँग लिएको शुल्कले सम्बन्धित घरधनीले तिर्नुपर्ने सबै असुलउपर गरेर पनि फाइदा हुने अवस्था बन्छ । घरबेटीले के गर्न हुने, के गर्न नहुने भन्ने स्थिति नरहँदा उनीहरुको मनोमानी झन्–झन् बढ्दै गएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.