new mega bankadd

मानवशास्त्रको अध्ययन र यसको महत्व






ActPro Nepal

727

५ कार्तिक, २०७९


डा. गोकर्ण प्र.ज्ञवाली

परिचय

सामाजिकतथा मानविकी अन्तर्गतका विषयहरुमा सबैभन्दा उत्कृस्ट विषयकुन हो ? यसको जवाफ आ-आफ्नो विषयको फरक-फरक हुन सक्छ lहरेक विषयका आ-आफ्नै विशेसताहरु हुन्छन जसले निश्चित क्षेत्र र विषयवस्तुको वारेमा अध्ययन गर्दछनlहामी यहाँ मानवशास्त्र बिषयको वारेमा कुरा गर्दैछौं जसलेमानवको वारेमा सम्पूर्ण तवरले अध्ययन गर्दछ l मानवको वारेमा अध्ययन गर्ने अन्य बिषयहरु पनि छन् जसमा मनोविज्ञानले मानव मनको मात्र अध्ययन गर्दछ भने संस्कृति भन्ने विषयले मानव संस्कृतिको l त्यस्तैगरी मेडिकल विज्ञानमा मानव शरीरको अध्ययन गरिन्छ भने ब्यबहारिक विज्ञानले मानव ब्यबहारको मात्र अध्ययन गर्दछ l तर यी सबै विषयलाई एकै ठाउमा राखी मानवको सम्पुर्णात्मक ढंगले अध्ययन गर्ने विषय भने मानवशास्त्र मात्र हो l मानवशास्त्र एक त्यस्तो विज्ञान हो जसले मानवका शारीरिक संरचना र सांस्कृतिक धरोहरहरूलाई तुनलात्मक ढङ्गले अध्ययन गर्दछ । अन्य जीवहरूले संस्कृतिको विकास गर्न नसकेको सन्दर्भमा मानव मात्र त्यस्तो जीव हो जसले भाषा, पोसाक, औजार, मूल्यमान्यता, धार्मिक विश्वासजस्ता अनगिन्ती चिजहरूको आविष्कार र प्रयोग गरिरहेको छ जसका सम्पूर्ण पक्षहरूको अध्ययनसमेत मानवशास्त्रले गर्दछ ।मानवलाई संस्कृतिको विकाश गर्ने , त्यसको जटिल अर्थमा प्रयोग गर्ने , संकेतहरुको विकाश गर्ने , भाषाकोप्रयोग गर्ने जस्ता सकारात्मक र हत्या,  अपराधर आत्महत्या गर्ने, निजि सम्पत्तिको विकाश गरि वर्ग द्वन्दको सिर्जना गर्ने , आफु इतरकाजीवलाई शोषण गर्ने , प्राकृतिक श्रोतहरुको दुरुपयोग गर्ने , राज्यको विकाश गर्ने र आफ्नो स्वार्थ पूर्तिको लागि जे पनि गर्न पछी नपर्ने जस्ता नकारात्मक कार्यहरु गर्ने जीवको रुपमा लिने गरिन्छ जसको समग्रमा अध्ययन गर्ने विज्ञानको नाउ नै मानवशास्त्र हो l मानवशास्त्रले मानव जातिको उदविकाश, मानव नजिकका जीवहरु रआधुनिक मानव अर्थात होमोसेपियंस विचको सम्बन्ध, शिकार संकलित अवस्था देखि उत्तर औद्योगिक युग सम्मका मानवहरु, विभिन्न जात-जातिहरु विचका समानताहरू र भिन्नताहरु, मानव- मानव विचका द्वन्द र मेलमिलाप, रंग-वर्ण र शारीरिक संरचना विचकासमानता र असमानताहरु, धर्म, भाषा, ज्ञानतथा लैगीकता लगायत मानव संग सम्बन्धित हरेक विषयको वारेमा अध्ययन गर्दछ l 

इटालियनचिकित्सक तथा शिक्षाविद मारियामोन्टेसोरीले भनेकी छन् जसरि जीव विज्ञानले प्राकृतिक विज्ञानको रुपमा जनावरहरुको अध्ययन गर्दछ त्यसरी नै मानवशास्त्रलेप्राकृतिक विज्ञानको रुपमा मानवको अध्ययन गर्दछ l त्यस्तैगरी अमेरिकी पुरातत्वविद तथा चर्चित मानव अवशेष लुसीका खोजकर्ता डोनाल्ड जोन्सनले भनेका छन् म जे बने र जे खोजे त्यो मानवशास्त्रले दिएको वाचा, विश्वास र सकारात्मक उर्जाले नै हो जुन सफल मानिस हुनका लागि अति जरुरि छ l यो दुइ विद्धानहरुले दिएको विचारले पनि के भन्न सकिन्छ भने मानवशास्त्र आफैमा एक पूर्ण सामाजिक विज्ञान हो जसले मानव जातिको ऐतिहासिक विकाशमा महत्वपुर्ण योगदान पुर्याएको छ l यसर्थ,मानवशास्त्रमानव जातिको अध्ययन गर्ने विज्ञान हो जसले जीव विज्ञान देखि होमो सेपिएंस सम्मको उदविकाशवादीइतिहासलाइ समाज र संस्कृतिको सन्दर्भमा अध्ययन गर्दै अन्य जीव देखि मानवलाई पृथक देखाउने विशेषताहरुको खोजि गर्दछ जसले २० औ शताब्दि देखि विभिन्न नविन शाखाहरु मार्फत मानवका विशिस्ट क्षेत्रहरुकोअध्ययनमा समर्पित हुने गरेको छ l 

मानवशास्त्रको ऐतिहासिक विकाश 

ऐतिहासिकरूपमा हेर्दा मानवशास्त्र विषयलाई सर्वप्रथम एरिस्टोटलले मानवशास्त्री  भन्ने शब्दको प्रयोग गर्दै यसलाई मानवको कुरा गर्ने (speaking of man) विषय भनि परिभाषित गरेदेखि सुरु भएको मानिन्छ जसलाईजर्मन दार्शनिक इम्यानुयल कान्टले मानवशास्त्र भन्ने पुस्तकको प्रकाशन गरी यसका विभिन्न पक्षको व्याख्या गरेका थिए । यसलाई एक पूर्ण विज्ञानको रूपमा विकसित गराउने श्रेय भने इ.वि.टेलर  लाई दिने गरिन्छ जसले सन् १८७१ मा प्राचिनसंस्कृति भन्ने पुस्तक को प्रकाशन गराई सस्कृतिलाई मानवशास्त्रको एक अभिन्न अङ्गको रूपमा विकसित गराएका थिए । १९ औ शताब्दीको सुरुआतदेखि यसले जीव विज्ञानदेखि पुरातत्वशास्त्रसम्म र वंशाणुगत प्रभावहरूले शारीरिक संरचनामा पार्ने प्रभावहरूको व्याख्या गर्न थाल्यो । त्यसैले मानवको उत्पत्तिदेखि वर्तमान अवस्थासम्मका सम्पूर्ण पक्षहरूको व्यवस्थित अध्ययन गर्ने विज्ञानको रूपमा मानवशास्त्रलाई लिने गरिन्छ । 

शाब्दिकरूपमा मानवको अध्ययन गर्ने विज्ञान नै मानवशास्त्र हो जुन अङ्ग्रेजी भाषाको एन्थ्रोपोलोजीको नेपाली रूपान्तरण हो । अङ्ग्रेजी भाषाको एन्थ्रोपोलोजी शब्द ग्रिक भाषाको एन्थ्रोपसर ल्याटिन भाषाको लोगिया  मिलेर बनेको हो जसको शाब्दिक अर्थ क्रमश: मानव र अध्ययन हुने गर्दछ । नेपाली भाषामा, मानवशास्त्र भनेको मानवको अध्ययन गर्ने एक शास्त्र हो भने संस्कृत भाषामा प्रयोग गरिने नृ–शास्त्रको अर्थ पनि मानवको अध्ययन नै हो । त्यसैले मानवको बारेमा अध्ययन गर्ने एक विज्ञानलाई नै मानवशास्त्र भन्न सकिन्छ । अमेरिकी मानवशास्त्रका पिता मानिने एफ बोअस का अनुसार, मानवशास्त्र भनेको त्यो विज्ञानहो, जसले मान्छेलाई सामाजिक प्राणीका रूपमा समष्टिगत अध्ययन गर्दछ । त्यस्तैगरीएम. ज्याकोब र वि.जे.स्टन का अनुसार,मानवशास्त्र मानवजातिको उत्पत्तिदेखि वर्तमान अवस्थासम्मको शारीरिक, सामाजिक एवम् सांस्कृतिक विकास तथा व्यवहारको वैज्ञानिक अध्ययन हो । जर्मन दार्शनिक विलियम डेलथिका अनुसार, यदि कुनै विज्ञानले मानवको वारेमा अध्ययन गर्दछ भने त्यो मानवशास्त्र हो जसले संरचनागत सन्दर्भमा समग्र अनुभवलाइ बुझ्ने उद्देश्य राख्दछ l 

मानवशास्त्रको अध्ययन क्षेत्र रविशेषता

मानवशास्त्रीहरु एम्बर, एम्बर र पेरेग्रिन का अनुसार,मानवशास्त्रको क्षेत्रभित्र वर्तमान विश्वको जनुसुकै कुनाकाप्चामा रहेका मानवसमुदायदेखि पृथ्वीभित्र पुरिएर रहेका मानव जीवात्माहरू, अवशेष र उपकरणहरूसमेत पर्दछन् । यस शास्त्रको क्षेत्र भौगोलिक र ऐतिहासिक दुवै पक्षमा ज्यादै फराकिलो छ । यस शास्त्रले लाखौ वर्ष अगाडिका मानवपूर्खादेखि वर्तमान मानव समुदायसमेतको समग्र अध्ययन गर्दछ । भौगोलिकरूपमा यस शास्त्रले पृथ्वीमुनिका र पृथ्वीमाथिका सबै मानवसमुदायसग सम्बन्धित सम्पूर्णपक्षहरूको अध्ययन गर्दछ । मानव शरीर रचना, भिन्नता, आनुवंशीकी, मानवमा पर्ने सामाजिक र वातावरणीय प्रभाव, मानव समूहमा पाइने मूल्य पद्धति, मानवीय व्यवहार, सामाजिक नियन्त्रण, परिवर्तन, सामाजिक संस्था र तिनीहरूको प्रभाव, मानव र जीव तथा मानव–मानवबीचका समानता र असमानताहरूको तुलनात्मक अध्ययन गर्ने विज्ञानको रूपमा मानवशास्त्रलाई लिने गरिन्छ । समग्रमा, मानवका शारीरिक संरचना र सांस्कृतिक प्रणालीका एकता र विविधताका पक्ष्ँहरूको तुलनात्मक अध्ययन गर्ने विज्ञान नै मानवशास्त्र हो भन्न सकिन्छ । 

 विशेस गरि मानवीय संस्कृतिलाई अध्ययनको मुख्य विषयवस्तु ठान्ने यो विषयले संस्कृतिलाई समग्र विकाशको मापक र निर्धारक मान्दछ l मानवशास्त्रको अध्ययन क्षेत्रका केहि मुख्य बिषय वस्तुहरुमा : सांस्कृतिक- सामाजिकजीवन , भाषाको उत्पत्ति, संरचना, प्रयोग र भिन्नता , मानव जननशास्त्र, प्रजातीशास्त्र, मानव अवशेषशास्त्र,  मानव मापक, जीव मापक, पुरातत्वशास्त्र, ब्यबहारिक र प्रयोगात्मक मानवशास्त्र लगायतमानव उदविकाश, मानव-मानव विचका समानता र भिन्नताहरु, पर्यावरणीय अनुकुलता आदि हुन् l

त्यस्तै गरि यसका केहि विशेषताहरु निम्नानुसार रहेका छन् :

मानवको सम्पूर्णात्मक अध्ययन: मानवशास्त्रले मानवका शारीरिक, सांस्कृतिक, सामाजिक, भाषिक,मनोवैज्ञानिकलगायतका सम्पूर्ण पक्षहरूको अध्ययन गर्दछ । मानवको उत्पत्तिदेखि वर्तमान अवस्थासम्मका सम्पूर्ण सामाजिक–सांस्कृतिक विषयवस्तुहरूको अध्ययन गर्नुका साथै मानवलाई एक पूर्ण सांस्कृतिक जीवको रूपमा व्याख्या गर्दछ । मानव नजिकका जीवहरु(प्राइमेट)  का समग्रजीवन प्रक्रियादेखि मानव जीवनशैलीसम्मका सम्पूर्ण पक्षको यसले अध्ययन गर्दछ । 

सांस्कृतिक समानता र भिन्नताको धारणा : मानवशास्त्रको मुख्य विषयवस्तु मानवले सिर्जना गरेको संस्कृतिका समानता तथा विभिन्नताको अध्ययन गर्नु हो । विभिन्न सांस्कृतिक समूहले प्रयोग गर्ने संस्कृतिमा समानता र असमानताहरू विद्यमान रहेका हुन्छन । हिन्दु, बौद्ध, इस्लाम, क्रिश्चियनजस्ता धार्मिक समूहहरूको भिन्नता भनेको सांस्कृतिक असमानता हो । त्यस्तैगरी, विभिन्न समुदायहरुको शारीरिक भिन्नताहरु, भाषीक समानता र असमानताहरु, बिभिन्न जाति-जनजातिहरुकोशरीरकोरंग, उचाई लगायतका शारीरिक संरचना आदिमा रहेका भिन्नताहरुको यसले अध्ययन गर्दछ l 

मानवीय संस्कृतिको अध्ययन: मानवशास्त्रले मानवको शारीरिक, भाषिक, पुरातात्विक  र सामाजिक-सांस्कृतिक पक्षहरूको अध्ययन गर्ने भए पनि यसको केन्द्रीय विषयवस्तु भनेको संस्कृति नै हो । संस्कृतिका सम्पूर्ण पक्षहरूको तुलनात्मक अध्ययन गर्ने, संस्कृतिको उत्पत्ति र विकासका विभिन्न पक्षहरूको विश्लेषण गर्ने कार्य मानवशास्त्रले गर्दछ। 

मानवशास्त्रीय अध्ययन-अनुसन्धानविधि: सिधै अध्ययन क्षेत्रमा गई विस्तृत अध्ययन गर्ने(फिल्डवर्क स्टडी) अर्थात इथ्नोग्राफिक अध्ययनलाई मानवशास्त्रीयअनुसन्धानको सबै भन्दा मुख्य विधि मानिन्छ lकम्तिमा एक वर्ष देखि बाह्र वर्ष सम्मको क्षेत्रगत अनुसन्धान गर्ने यो विषयलेअवलोकन, मुख्यसूचना दाता, वंशावाली, वैयक्तिक अध्ययन तथा अभिलेखहरू, कुराकानी विश्लेषण आदिबाट सूचनाहरूको संकलनगर्दछ जसले अनुसन्धानको विश्विसनियता र बैद्यानिकतालाइ समेत पुस्टि गर्दछ।

यसर्थ, संस्कृतिको अध्ययन गर्ने मुख्य कार्य मानवशास्त्रको भएकोले पनि यसको प्रकृति सांस्कृतिक दृष्टिकोणको व्याख्या गर्ने देखिन्छ । माथि उल्लेखित विश्लेषणको आधारमा मानवशास्त्र मानव, उसको शरीर, संस्कृति, सांस्कृतिक मूल्यमान्यता, सभ्यता आदिको अध्ययन गर्ने एक सामाजिक विज्ञान रुपमा लिने गरिन्छ । यसर्थ,मानवको उत्पत्तिदेखि वर्तमान अवस्थासम्मका सामाजिक, सांस्कृतिक, शारीरिक, भौतिकलगायत मनोवैज्ञानिक पक्षहरूको समग्रतामा अध्ययन गर्दछ । 

नेपालमामानवशास्त्रको अध्ययन

नेपालमा मानवशास्त्रको अध्ययन,अनुसन्धान र प्रयोगको इतिहास धेरै लामो छैन । त्यसो त हाम्रो उच्च शिक्षाको इतिहास नै त्यति लामो छैन । त्यसमाथि समाजशास्त्र–मानवशास्त्रजस्तो पश्चिमी जगतमाविकासित विधाको त हामीकहाँ लामो इतिहास हुने कुरै आएन । संस्थागत ढङ्गले नेपालमा योविषयको शुरुआतभएको सन् १९८० देखि अर्थात करिब चारदशक मात्रभएको छ । नेपालमा मानवशास्त्रको अध्ययन र खोजको ऐतिहासिक विकासक्रमलाई मोटामोटी रूपमा तीन चरणमा विभाजन गर्नसकिन्छ : 

१. सन् १९५० भन्दा अघिको अवधि: राणाकालसम्मकोयो अवधिमा शैक्षिक संस्थाहरुको खासै विकाश भएको थिएन l केहि स्वदेशी र विदेशी विद्धानहरुले यसचरणमामानिसकोजीवनशैली,विभिन्नजाति, जनजातिकोपरिचय,नेपालकोइतिहास आदिकोअध्ययन गरि केहि पुस्तकहरुको प्रकाशन गरेका थिए l

२. सन् १९५१ देखि सन् १९८० सम्मको अवधि: यो अवधिमा त्रि.वि. को स्थापना हुनुका साथै विभिन्न विषयको पठनपाठन शुरु भएको थियो l समाजशास्त्र र मानवशास्त्रको संस्थागत विकाशको लागि INAS जस्ता संस्थाहरुको स्थापना भएको यो अवधिलाई विश्वविद्धालयमा समाजशास्त्र/मानवशास्त्र विभाग स्थापनाको दृष्टिले अति महत्वपुर्ण मानिन्छ l 

३. सन् १९८१ देखि हालसम्मको अवधि: सन् १९८० मा त्रि.वि.मा समाजशास्त्र र मानवशास्त्रको ब्यबस्थित अध्ययन/अध्यापन गर्नेगरी एक विभागको स्थापना गरियो l यसको नेतृत्वमा स्वदेशी - विदेशी विद्द्वानहरूले मानवशास्त्र/समाजशास्त्रका विभिन्न विषयको अध्ययन अनुसन्धान गरिप्रकाशन गर्न थाले । दुवै विषयलाई संयुक्त रुपमा चलाइएको यो विभागले समाजशास्त्री र मानवशास्त्रीहरुको ठुलो जमात तयार गर्यो जसले त्रि.वि. र निजि शैक्षिक संस्थाहरुमा आवश्यक प्राध्यापकहरुको मागलाई हाल सम्म पनि धानिरहेको छ lपछी यी दुवै विषयहरुलाई विशिस्टकृत गर्नेगरी सन् २०१५ (वि.सं. २०७२भाद्र २५ गतेको प्राज्ञिक परिषदको निर्णय अनुसार) मायसलाई विभाजन गरि दुइ छुट्टाछुट्टै विभागको स्थापना गरियो l अहिले देशभरकाधेरैजसोक्याम्पसहरुमा मानवशास्त्र विषयको पठनपाठन हुने गरेको छ l समाज र मानवको अध्ययन गर्ने यी दुइ विषयहरुको अध्ययन क्षेत्रमा धेरै समानता रहेको कारणलेदुवै विषयहरु एकै हुन भनि मानवशास्त्रलाइ निरुत्साहित गर्ने कार्यहरु धेरैक्याम्पसहरुमा भएको सुन्नमा आएको छ जसले मानवशास्त्रको प्राज्ञिक उन्नयन रविशिस्टकरणमा निकै असर गरेको पाइन्छजसलाई चिर्न र मानवशास्त्र विषयको महत्ववारे विद्धार्थी र अभिभावकलाई जानकारी गराउन जरुरि देखिन्छ  l 

नेपालमामानवशास्त्रीयअध्ययनको महत्व  

नेपालको सन्दर्भमा मानवशास्त्रीय अध्ययनको सान्दर्भिकता यसकोसंस्थागत विकाश भन्दा पहिले पनि थियो र अहिले पनि त्यत्तिकै रहेको छ l विदेशी अनुसंधानकर्ताहरुकोमुख्य रोजाईको विषय पनि मानवशास्त्र हो जसले नेपालका विभिन्न जात-जातिहरुको अध्ययन गरि विभिन्न सिद्धान्तहरुको समेत विकाश गरेका छन् l  नेपालमा आई विभिन्न विषयको अध्ययन गर्ने केहि विदेशी अनुसन्धानकर्ताहरुमा: ए.पी. क्याप्लान(१९७२)- पुजारी र सार्की , लिओनल क्याप्लान( १९७०) - पूर्वी नेपालमा भुमि र सामाजिक परिवर्तन, जेम्स फिसर (१९६४) - हिमालयवारी - पारि ब्यापार, हाइमन डोर्फ़ (१९६४) - शेर्पा, हेमिल्टन(१८१९)- नेपाल अधि राज्यको विवरण, हिट कोक (१९६६) - मगर,म्याक फार्लेन(१९७६) - श्रोत र जनसंख्या, मेसिस्मेट(१९७६) - गुरुङ, सरी ओर्टनर (१९७६) - शेर्पासंस्कार र धर्म, पिग्ननेड(१९६६) - गुरुङ, पोफेन वर्गर (१९८०) - हिमालयको परिवर्तन ढाचा, वेक(१९८०) - विकाश, म्यारी क्यामरुन (१९९६) - जैविक विविधता र औषधीय विरुवाहरु, डेविड गेल्नर (१९८९) - बौद्ध भिक्षु, जोन ग्रे (२०११) - उच्च जातका मानिसहरुको घरको बनावट, इयान हार्पर (२०१०) - क्यान्सर, मार्कलिचटे (२००८) - काठमान्डौकामध्यम वर्गको संस्कृतिआदि मुख्य हुन भने डोर बहादुर बिस्ट, प्रयागराज शर्मा, डिल्लीराम दाहाल, ओम गुरुङ, राम बहादुर क्षेत्री, पदम लाल देवकोटा लगायत अन्य नया पिडिका मानव शास्त्रीहरुले यो विषयको विकाशमा महत्वपुर्ण योगदान पुर्याएका छन् l त्यसैले नेपाल मानवशास्त्रको अध्ययन र अनुसन्धानको लागि एक उर्बर भुमि हो र पछिको लागि पनि अनगिन्ती विषयहरु रहेका छन् l 

यो देखि बाहेक नेपालमा मानवशास्त्रको अध्ययनको महत्वलाइ निम्न बुदाहरुको आधारमा उल्लेख गरिएको छ : 

१. नेपालमा १२५  भन्दा बढी जात-जाति, जनजातीय विविधता रहेको र यिनीहरु मध्ये अधिकांसको प्रजातिशास्त्रीय अध्ययन हुन बाकि रहेको 

२. नेपालमा रहेका विभिन्न धार्मिक समूहहरु जस्तै हिन्दु, बौद्ध, किरात, मस्टो, इस्लाम, क्रिस्चियन आदिको अध्ययन, धर्म परिवर्तन र यसले पारेको असरको तुलनात्मक अध्ययन गर्न, 

३. हिमाल, पहाड र तराईको प्राकृतिक विविधता र यसले सिर्जित गरेकोसंस्कृतिको अध्ययन, संसारमै सबैभन्दा धेरै उचाइका हिमाल, त्यहाका वासिन्दा, उनीहरुको संस्कृति, अनुकुलनता र वातावरणीय परिवर्तनले पारेको असरको अध्ययन 

४. नेपालका करिव १४० भन्दा बढी भाषिक समूहको अवस्था, यिनीहरुको लोपोन्मुख स्थिति, यिनीहरुको विस्तृत र तुलनात्मक अध्ययन,

५. राउटे, बनकरिया, राजि, कुशुन्डा, चेपांग, जस्ता शिकार संकलित अवस्थाका जनजातिहरु, पहाडका विभिन्न जनजातिहरु, शहरका आदिवाशी जनजातिहरु र तराईका आदिवाशी र बसाई सराई गरि आएका जात-जातिहरुको अवस्थाको अनुसन्धान गर्न 

६. आधुनिकीकरण, विश्वव्यापीकरण, पश्चिमीकरण, हिन्दुकरण, गैर हिन्दुकरण लगायतका प्रक्रियाले पारेको प्रभावको अध्ययन, 

७. विकास, प्राकृतिक श्रोत, यिनीहरु माथिको स्वामित्व, वर्गको निर्माण र परिवर्तन, वर्णाश्रम व्यवस्था र यसले पारेको असर, महिला-पुरुष तथा तेश्रो लिंगका समस्याको पहिचान र तिनीहरू विचको द्वन्द र त्यसको निवारणको लागि गरिएका प्रयासकोअध्ययन गर्न, 

८. सांस्कृतिक र सामाजिक एकीकरण, विभिन्नीकरण, परसंस्कृतीकरण, आत्मीकरण ; रास्ट्र निर्माणको प्रकृया, राजनीतिक परिवर्तन र यसले सिमान्तकृत समुदायमा परेको असर आदिको अध्ययन गर्न,

९. जात, वर्ग, विभिन्न जन-जातिहरु, धर्म, लैगिंकता; स्तरीकरण, सम्भ्रान्त वर्ग र उनीहरुले प्रयोग गरेको परम्परागत सामाजिक- सांस्कृतिक पुजी, सामाजिक तथा सांस्कृतिक द्वन्द्व र मेलमिलापको अध्ययन गर्न, 

१०. राजनीतिक दलहरु, राजनीतिक आन्दोलन, समावेशीकरण, सरकारमा विभिन्न जात-जातिहरुको प्रतिनिधित्व, निर्णय निर्माण प्रक्रियामा तल्लो वर्गको प्रतिनिधित्व, संवैधानिक व्यवस्था र यसको कार्यान्वयन प्रकृया र यसमा देखिएका समस्याहरु लगायतका विभिन्न विषयको अध्ययन तथा अनुसन्धान गर्न , आदि l 

माथि उल्लेखित बुदाहरु बाहेक सरकारी र गैर–सरकारी क्षेत्रमा मानवशास्त्रको बढ्दो माग र यसकोलोकप्रियताले पनि मानवशास्त्रको उत्कृस्टताको पुस्टि हुने गर्दछ । पछिल्लो अवधिमा मानवशास्त्रको अध्ययनमा देखा परेको बिद्धार्थीहरुकोअभूतपूर्व रुचिले पनि यसको लोकप्रियतालाइ उजागर गर्दछ । विद्यार्थीहरूको बढ्दो सङ्ख्यालाई सकेसम्म ध्यान दिने उद्देश्यले पाटन संयुक्त क्याम्पस, त्रिचन्द्र क्याम्पस, रत्नराज्य क्याम्पस, पद्मकन्यातथासरस्वति क्याम्पस जस्ता उपत्यकाका विभिन्न क्याम्पसहरु,विराटनगर, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत, धनगढी लगायतका क्याम्पसहरुमा डिप्लोमा र एम्.ए. तहमा यसको अध्ययन-अध्यापन भै रहेको छ । यसैबीच सन्१९९० को दशकदेखि मानवशास्त्रको केन्द्रीय विभागले एम.फिल र डिनको कार्यालयले पी.एच.डी सम्मको अध्यापन गराउन थालेको छ जसमा हजारौ स्वदेशी र विदेशी विद्धार्थीहरुअध्ययन गरिरहेका छन्। पाठ्यक्रममा रहेका केहि जटिलताहरु, नेपालि भाषामा लेखिएका पाठ्यपुस्तकको अभाव, दक्ष जनशक्तिको अभाव जस्ता केहि समस्याहरु भए पनि हाल यसको अध्ययन गर्ने बिद्यार्थीहरुको संख्यामा निरन्तर वृद्धि भै रहेको छ l अझ पनि आम बिद्यार्थीहरु माझ यो विषयको महत्व पुग्न सकेको छैन जसको प्रचार - प्रसार गरि यो विषयको उपादेयता  बुझाउन जरुरि रहेको देखिन्छ l

निष्कर्ष

मानवशास्त्र मानवको शारीरिक, सांस्कृतिक, मानशिकतथा उदविकाश लगायतका मानव संग सम्बन्धित सम्पूर्ण पक्षहरुको वारेमा अध्ययन गर्ने एक विज्ञान हो जसलाई विश्वकाकतिपय विश्व विद्धालयहरुले जीव विज्ञान जस्तै शुद्ध विज्ञानको रुपमा लिने गरेका छन् l नेपालमा यसलाई एक सामाजिक विज्ञानको रुपमा राखिएको छ तर यसको अध्ययनको क्षेत्र निकै विस्तृत रहेको छ l अमेरिकी फेशन मोडेल, FEED प्रोजेक्ट कि प्रमुख तथा पुर्व रास्ट्रपति जर्ज डब्लु. बुश कि नातिनीले लाउरेन बुशले भनेकी छन् , एक मानवशास्त्रीको रुपमा मैले गरिवीको सांस्कृतिक पक्ष  बुझ्न अर्थात किन कुनै देश गरिबीमा रहन्छन र कुनै देश गरिबी वाट माथि उठ्न सफल भएका छन् भन्ने बुझ्नसक्षम भएकी छु l नेपाल लगायत विश्वका विभिन्न विश्व विद्धालयहरुले मानवशास्त्रीय अध्ययनमा नयाँ नयाँ विषयहरु राखी यसलाई एक लोकप्रिय विषयको रुपमा स्थापित गरेका छन् l यसले आदिवाशी जनजातिहरुको परम्परागत ज्ञान देखि ब्यापार, रास्ट्र विचको सम्बन्ध, संगीत, लोकगित हुदै आधुनिक विश्वमा भए घटेका विषयहरुको समेत अध्ययन गर्दछ l जति-जति मानव जीवन जटिल बन्दै जान्छ त्यति -त्यति यसको अध्ययन पनि जटिल बन्दै गैरहेको छ l हाल डिजिटल मानवशास्त्र, कम्प्युटरमा आधारित अनुसन्धान, बैज्ञानिक समुदाय, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विषयहरु यसमा लोकप्रिय बन्दै गैरहेका छन् l त्यसैले, मानवशास्त्रकोअध्ययनलेआफु लगायत सिंगो मानव जातिको वारेमा एक बैज्ञानिक ज्ञान प्रदान गर्नुकासाथै आधुनिक विज्ञानलाइ अध्ययन गरिविद्धार्थीहरुले पनि आफुलाई विश्व बजारमास्थापित गर्नसक्षम हुनेमा कुनै दुइमत नहोला l विश्व प्रसिद्ध मानवशास्त्री रथबेनेडीक्त (Ruth Benedict) ले भनेकी छन् , विश्वमा मानव-मानव विचका भिन्नताहरुलाइ सुरक्षित गर्नु मानवशास्त्रको मुख्य उद्देश्य हो l  त्यस्तै जर्मन मानवशास्त्री तथा दार्शनिक लुडविक फायरवाकले भनेका छन् , आधुनिकयुगकोमुख्य कार्य भनेको ईश्वरलाइमहशुस गरि मानवीयकरणगर्नुर धार्मिक अध्ययनलाइ मानवशास्त्रमा रुपान्तरण गर्नु हो l  यी विश्व प्रशिद्ध भनाइले पनि मानवशास्त्रको विकाशले मात्र जातीय भिन्नताको संरक्षण र धर्मको मानव हितमा प्रयोग गर्ने कुरालाई जोड दिने गर्दछन l 

ज्ञवाली मानवशास्त्र विभाग पाटन संयुक्त क्याम्पसमा कार्यरत छन् ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2022. ALL RIGHTS RESERVED.