Right side from logo

हरिबोधनी एकादशी र तुलसीको महीमा






ActPro Nepal

252

2021 Nov 15

शास्त्रहरुमा एकादशी र तुलसीको विशेष महिमाको व्याख्या गरिएको छ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर 'विष्णु' को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।


भगवानका परमभक्त राजा बलिलाई वामन अवतार लिएर सुतलमा जान आज्ञा दिँदा बली तयार भएकोले  भगवान् प्रसन्न भएर बलिको इच्छाको बारेमा सोधनी हुँदा बलिले भगवान् मेरा प्रजालाई म सधैं हेर्न पाउँ र हजुरको दर्शन सदा पाउँ भनी मागेपछि वरदान स्वरूप आषाढशुक्ल एकादशी (हरिशयनी) देखि कार्तिकशुक्ल एकादशी (हरिबोधनी )सम्ममा तिम्रो ढोकामा रहनेछु भनी वरदान दिनुभएको कुरा पौराणिक कथाहरुमा पाईन्छ ।

सोही अनुसार हरिशयनी एकादशीबाट चिर निन्द्रामा रहनुभएका भगवान् विष्णु   हरिबोधनी एकादशीका दिनमा जागा हुनुहुनेछ भन्ने कुरा शास्त्रमा पाईन्छ । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ शास्त्रमा उल्लेख तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरि कन्दमूल र फलफूल खाने गर्छन् ।
यसदिनमा व्रत तथा उपवास बस्नाले हजारौं अश्वमेघ यज्ञ र सयौं राजसूय यज्ञ गरे बराबरको फल पाईने एकादशी महात्म्यमा वर्णन गरिएको छ । तसर्थयस दिन अर्थात् हरिबोधनी एकादशीको दिनमा व्रत बस्नु उत्तम मानिन्छ ।

देवी भागवतमा वर्णन भएअनुसार शंखचूड नामक दैत्यकाे तुलसी नाम गरेकी स्त्रीसंग प्रेम रहेको र पछि विवाहभएको तथा सोही क्रममा भगवान् विष्णुको छलबाट शंखचुर्णको मृत्यु भएपछि तुलसीले आफ्नो पतिको वियोगका कारण विष्णुलाई श्राप दिन लाग्दा भगवान्  विष्णुले सम्झाएर तुलसीलाई आजका दिनबाट मेरी प्रिय भएर रहनेछौ भनी वरदान दिएकोले तुलसीलाई विष्णुको अवतारको रुपमा लिने गरिन्छ।

हिन्दु धर्ममा तुलसीलाई पवित्र बोटको रुपमा लिने गरिन्छ। वैदिक संस्कारका हरेक कार्यहरूमा तुलसीको बोट तथा पातलाई अनिवार्य सामग्री मान्ने गरिन्छ । यसबाट पाईने अक्सिजनका कारण पनि तुलसीलाई धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक ढंगले पनि मानव जीवनको महत्वपूर्ण वस्तुका रुपमा लिइन्छ । आयुर्वेदका अनुसार दैनिक तुलसीको जलपान गर्नाले ब्लडप्रेसर तथा अन्य रक्तसंचार प्रणालीलाई फाइदा पुग्छ । यसका साथै रुघा, खोकी, ज्वरो, दम आदिमा पनि यसको प्रयोगले रोग नियन्त्रण गर्नमा मद्दत पुर्याउँछ । तुलसीको नियमित प्रयोग गर्नाले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई सन्तुलित तुल्याउन समेत मद्दत पुग्दछ । तुलसीको तेललाई एण्टीमलेरियल औषधीका रुपमा पनि प्रयोग गरिन्छ । एण्टीबोडी तत्व हुनाले तुलसीले हाम्रो शरीरको इम्युनिटि शक्ति बढाउन ठूलो मद्दत गर्दछ ।

वैदिकसनातन हिन्दुधर्मावलम्बीहरूले घरको आँगनमा तुलसीको बोट रोपी नित्य पुजाआजा गर्ने तथा जन्ममृत्यु तथा अन्य वैदिक संस्कारहरुमा तुलसीको मोठलाई पवित्र स्थानको रुपमा लिई  पुजा गर्ने चलन चल्दै आएको छ । पद्मपुराणमा बताइए अनुसार जहाँ तुलसीको एक विरुवा हुन्छ त्यहाँ ब्रह्मा विष्णु र महेश्वर पनि बस्दछन् । तुलसीको सेवा गर्नाले महापातकले पनि छुट्कारा प्राप्त गरी पाप निर्मुक्त हुन्छ भन्ने कुरा पनि शास्त्रमा उल्लेख भएको पाइन्छ । जुन प्रसादमा तुलसी पत्र नराखी भगवान्लाई भोग लगाइन्छ भने त्यो भगवान्का लागि योग्य हुँदैन । श्रीकृष्ण एवं विष्णु भगवान्ले तुलसीपत्रद्वारा प्रोक्षण नगरिएको नैवेद्य स्विकार गर्दैनन् ।

यस दिनमा तुलसीको विवाह गरी तुलसीका ८ नामहरु
 

वृन्दां वृन्दावनीं विश्वपूजितां विश्वपावनीम् ।
पुष्पसारं नन्दिनीञ्च तुलसीं कृष्णजीवनम् ।


वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी यी  आठ नामको उच्चारण गर्नाले अभीष्ट फल प्राप्त हुने कुरा समेत पुराणमा वर्णन  गरेको पाईन्छ ।   तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन प्रत्येक मानवका लागि उपयोग सिद्ध हुन्छ । हाम्रा परम्परा लाई निरन्तरा दिँदै भावी सन्तति मा जानकारी गराउनु आजको आवश्यकता हो।

तुलसी मा जल चढाउदै यसो भन्नु पर्दछ -
महाप्रसाद जननी, सर्व सौभाग्यवर्धिनी
आधि व्याधि हरा नित्यं, तुलसी त्वं नमोस्तुते।।

तुलसी ध्यान मन्त्र
देवी त्वं निर्मिता पूर्वमर्चितासि मुनीश्वरैः
नमो नमस्ते तुलसी पापं हर हरिप्रिये।।


तुलसीं हेमरूपाञ्च रत्नरूपाँश्च मञ्जरीम् ।
भवमाेक्षप्रदां नित्यमर्पयामि हरप्रियाम् ।। प्रसीद मम देवेशि कृपया परया सदा ।
अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।। अभिष्टफलसिद्धिं च सदा देहि हरिप्रिये !
देवैस्त्वं निर्मिता पूर्वमर्चिताऽसि मुनिश्वरैः ।।
अतो मां सर्वदा भक्त्या कृपादृष्ट्या विलोकय ।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.