add

महिनावारीलाई हिन्दुधर्ममा किन गरिन्छ पाप र अपवित्रको व्याख्या ?






ActPro Nepal

|

९ साउन, २०७८

|
2261

- डिकेन्द्र ढकाल ढकाल

अंग्रेजीमा योनिलाई vagina भनिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशले योनीको अर्थ मुत्रेन्द्रिय, पिसाबद्वार लेखेर गलत कुरा सिकाएको छ । योनि भनेको "मुत्रद्वार" हुँदै होइन । योनि भनेको यौन अंग हो । मुत्रद्वार भनेको शरीरबाट पिसाब बाहिर निस्किने ठाउँ हो । 

यसरी पनि नेपाल प्रज्ञा प्रतिष्ठानले योनिलाई अपवित्र, फोहोर कुरो निस्किने ठाउँ भन्ने गलत पाठ सिकाएको छ । मुत्रद्वारबाट फोहोर कुरा (पिसाब) निस्किन्छ जुन योनीभन्दा केही माथि अवस्थित हुन्छ । तर योनिबाट पिसाब आउँदैन । 

यो एउटा उदाहरण मात्रै हो गलत सिकाइका लागि गरिएको प्रपन्चबारे ।

मेरो कुरा महिनावारीको हो । संसारका धेरै संस्कृतिमा महिनावारीलाई अशुद्ध, फोहोर, अपवित्र र नचाहिने कुरो भनेर व्याख्या गरिएको छ । 

बाइबल र कुरानमा तिनै कुरा लेखिएको छ, हिन्दु धर्मसँग सरोकार राख्ने पुराण र स्मृतिमा पाप र अपवित्र भनी व्याख्या गरिएको छ । यसरी धेरै धेरै अगिदेखि नै महिनावारी बारे संसारभरि लगभग एउटै खाले 'सांस्कृतिक निर्माण' भएको छ । 

यसै अनुसारको सिकाइ चलेको छ जुन खासमा सिकाइ होइन (mislearning) गलत सिकाइ हो । भयानक गलत सिकाइ । 

कतिपयलाई लाग्न सक्ला, यो पुरुषको मुद्दा होइन, पुरुषले सिक्ने, बोल्ने र बुझ्ने कुरा हुँदै होइन । यो झन् (misunderstanding) गलत बुझाइ हो । यस बारे पुरुषहरुमा बुझाइ नभएमा डिसमेनोरिया (महिनावारी हुँदा पेट दुख्ने समस्या) को कारणले कुनै स्टाफले बिदा माग्दा हाकिमले कसरी बिदा देला ? घरमा छोरी, बुहारी, दिदी, आमा, बहिनी र श्रीमतीको ब्यथा कसरी बुझ्ला ? यी केही उदाहरण मात्र हुन् ।

महिनावारीलाई राम्ररी बुझ्न महिलामा हुने "महिनावारीको चक्र" बुझ्न एकदमै आवश्यक छ । खासमा महिनाका ४-५ दिन महिलाको योनिबाट रगत बग्दाको बारे धेरैलाई थाहा छ तर बाँकी दिन पनि महिनावारी चक्रकै विभिन्न चरण बनेर चलिरहन्छन् भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ ।

"उमेर पुगेकी" प्रत्येक महिलामा महिनाभर नै उनको शरीरभित्र गर्भधारणका लागि केही परिवर्तन भइरहन्छन् । 'एस्ट्रोजेन' र 'प्रोजेस्टेरोन' भनिने हर्मोन (खास खाले रसायन) यस महिनावारीको चक्रको लागि जिम्मेवार हुन्छन्।  र लगभग महिना दिनमा पूरा हुने र दोहोरिने महिनावारी चक्रका विभिन्न चरण हुन्छन् । 

पहिलो चरणमा योनिबाट केही दिनसम्म (कसैकसैमा ७ दिनसम्म) रगत बग्दछ। योनि भनेको यौन अंग हो । 

दोश्रो चरणमा महिनावारी भएको सातौँ दिनतिरबाट पाठेघरको भित्तामा पातलो पत्र वा तह विकसित हुन थाल्छ । १४औँ दिनको आसपासमा महिलाको शरीरभित्रको डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ र पाठेघरमा आउँदछ । 

उता गर्भाशयको भित्तामा लाग्दै गरेको पत्र बाक्लो हुँदै जान्छ ।  यही बेला पुरुषसँगको यौन सम्पर्क वा अन्य विधिबाट डिम्बलाई शुक्रकीटले डिम्बाशय (ovary) बाट निस्केको डिम्ब डिम्बबाहक नली (fallopian tube) मा भेटेमा गर्भ रहन्छ अर्थात् पाठेघरमा पुगेर बच्चा विकास हुन सुरु हुन्छ र पाठेघरको भित्तामा लाग्दै गरेको बाक्लो पत्रले गर्भे बच्चालाई सुरक्षा र पोषण दिने काम गर्छ । 

अनि यसरी गर्भ रहेपछि नियमित महिनावारी चक्र रोकिन्छ र बच्चा नजन्मेसम्म महिनावारी हुँदैन ।

तर गर्भ रहेन भने पाठेघरको भित्तामा लागेको पत्र उप्किन्छ र यो बस्तु र निष्कृय डिम्ब योनिबाट शरीर बाहिर रगतसँगै निस्किन्छ । यही निष्कृय डिम्ब र काम नभएको पाठेघरबाट उप्किएको पत्र रगतसँगै निस्किने कामलाई महिनावारी भनिन्छ र यसरी महिनावारीको चक्र चलिरहन्छ । 

यसरी स्वस्थ महिलाको योनिबाट बाहिर निस्किने रगतमा अस्वस्थ, फोहोर, अपवित्र र संक्रामक कुनै कुरो हुँदैन । संक्रामक रोग लागेको व्यक्तिको नाक मुख वा अन्य अंगबाट निस्किने रगत अथवा सिंगान, खकार जे पनि फोहोर/संक्रामक हुन सके झैं बिरामी  महिलाको योनिबाट निस्किने रगत फोहोर हुनु बेग्लै कुरो भयो !  

वास्तवमा यो महिनावारीको बेला निस्किने रगत मुटुबाट शरीरभरि फैलिने अरु रगत जत्तिकै सफा हुन्छ । यसलाई "अपवित्र" मान्नु पर्ने कुनै कारण छैन । शरीरको अन्य भागबाट निस्किने रगत जस्तै यो रगत पनि छिट्टै सड्ने भएकोले अरु रगत पखाले जस्तै यसलाई धुनु र अरु रगत लागेका शरीरका भाग वा रगत लागेका कपडा पखाले जस्तै यो रगत पनि पखाल्नु पर्ने छुट्टै कुरो भयो। 

खास कुरो के हो भने हामीले महिनावारीको रगतलाई शुद्ध र पवित्र रगतको रूपमा स्वीकार्नुपर्दछ । समाजका सचेत वर्गले  सुन्दर र सभ्य संसार बनाउनका लागि समाजमा स्थापित गलत मान्यतामा आधारित निषेध र कलंक तोड्न अग्रसर हुनुपर्दछ । हामीले स्थापित मिथकहरूलाई होइन कि वास्तविक तथ्यहरूलाई विश्वास र स्वीकार गरेर व्यवहार नै परिवर्तन गर्नुपर्दछ । 

 कसरी स्वीकार्ने ?

हिजोको समाजमा हामीमा नभएको प्रजातन्त्रको संस्कृतिलाई हामीले जसरी स्वीकारेका छौँ नि त्यसरी नै यो "नयाँ ज्ञान"को संस्कृतिलाई पनि स्वीकार्ने हो । राम्रो कुरा स्वीकार्दा पाप लाग्दैन । बरु गलत मान्यतालाई पुष्टि गर्न जबर्जस्ति विज्ञानको अपव्याखा गर्नु चाहिँ पाप हो । 

अनि स्थापित मान्यताको पक्षपातीबाट "त्यसो भए महिनावारीको बेला आजापूजा गर्न हुन्छ ? मन्दिर जान हुन्छ आदि जस्ता प्रश्न पनि उठ्न सक्लान् ! यसमा म के स्पष्ट छु भने यस्ता कुरा भनेका कुरा बुझ्न नै रुचि नभएर अत्तो थाप्ने निउँ हो। खासमा धार्मिक कुरो नै गर्ने हो भने मान्छेलाई मान्छे सरह व्यवहार गर्नु नै धर्म हो ।यति गरे  व्यवहारले आफै असल बाटो देखाउँछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.