add

आम नागरिकको कलमबाट 'युग पुरुषको खोजी'






ActPro Nepal

|

२१ भदौ, २०७७

|
4200

छाडेर काम सारा एक काम रोजी रहेछु ,
यो देशमा म एउटा मानिस खोजी रहेछु ।..

डा. विश्वनाथ वरालको को शब्द र शिशिर योगी को अत्यन्त सुमधुर स्वर रहेको यस मर्मस्पर्शी  गीत सुन्दै गएँ, देशमा हाल विकसित परिस्थितिलाई नियाल्दा केहि लेख्ने हुटहुटि चलेर आएको हुँदा लेख्ने जमर्को गरेको छु । आशा छ ,केहि प्रतिनिधि घटनामात्र ले पनि सिंगो मुलुकको अथाह पीडालाई उजागर गर्नेछ ।

वेद तथा पुराणहरूमा उल्लेख भए अनुसार  प्राचिन काल देखिनै विभिन्न देवी देवताहरूको बासस्थान, ऋषिमुनिहरूले तपस्या गर्दै मोक्ष प्राप्त गर्नुभएको पवित्र पुण्यभुमि तथा तपोभुमि नेपाल , एशियाका ताराले सुपरिचित शान्तिका दुत भगवान गौतम बुद्धको अवतरण भएको पवित्र भुमि ,  ३० वर्ष अगाडि सम्म   ईन्डिया बाहेक (इन्डिया यस अर्थमा कि उसले आफुभन्दा कमजोर र साना राष्ट्रलाई दास मनोवृत्तिबाट हेर्ने गर्छ ,वशुधैव कुटुम्बकम् को मुलमन्त्र वोक्ने र पुर्विय दर्शनमा आस्था अनि विश्वास भएको भारतले होइन) ।

विश्वका १३० राष्ट्रहरूबाट समर्थन प्राप्त शान्ति क्षेत्र देश, सारा संसारलाई शौर्य तथा पराक्रममा थरहरी पार्ने वीर नेपाली योद्धाहरूको उर्वर भुमि ,शान्तिप्रिय, अतिथि देवो भव: पितृ देवो भव : मातृ देवो भव:  गुरुदेवो भव: को मुलमन्त्र भएका फरासिला र शालीन  आचरण भएका  नेपाली समाज,बिदेशीहरूको अगाडि नेपालीको शान र मान  अनि यहाँको दैनिकी ,स्तरलाई नियाल्ने हो भने हालको युवा पुस्ता टाउकोमा हात राखेर घोत्लिनु पर्ने भयावह अबस्था सृजना भएको छ अहिले ।

दन्त्यकथाको अमुक देश झै भएको छ हाम्रो मुलुक । कृषि उत्पादनमा आत्मनिर्भर मात्र नभई  उत्पादन जन्य खाद्य सामाग्री निर्यात गर्दै आएको कृषि  प्रधान देश नेपाल , अहिले दैनिकीको गर्जो टार्न हम्मे हम्मे परेर  सुन्दर र सुरक्षित भविष्यको मृगतृष्णामा  रुमलिदै र कोरा सपना देख्दै दक्षिण पुर्वि एसिया तथा खाडीका राष्ट्रहरूमा ५०/५५° को  उग्र वाफिलो तापक्रममा  निम्न वेतनमै आफ्नो रगत पसिना बेच्ने श्रमिकहरूको श्रोत मुलुक बन्न पुगेको छ   ।

र त्यहि सुन्दर अनि सुरक्षित भविष्य रुपी मृगतृष्णाको चक्रवात् मा परेर अकालमै आफ्नो इहलीला समाप्त पार्दै काठको बन्द बाकसमा स्वदेश भित्रिनेको संख्या दैनिक बढोत्तरी हुँदै जानु  ,उतै भएका  कयौँ होनाहार तथा कर्णधार नेपाली युवाहरू पनि दलालहरूको चंगुलमा परेर गुमनाम जिन्दगी विताउन बाध्य  छन् ।

विदेशी भुमिमा जो बाँच्न सकेका छन् ,तिनैले पठाएको रेमिट्यान्स अहिलेको अर्थतन्त्रको प्रमुख श्रोत वन्न पुगेको छ। नियतिकै खेल न हो ,जन्मनासाथ हजारौ ऋणको भारमा थिचिन्छन् अबोध नेपाली शिशु ।

कागजका पाना र कम्प्युटरका डाटाहरूमा  देश बिकासले छलाङ्ग मारेको अनि आम नेपालीहरूको  आय आर्जनमा वृद्धि भएको देखाउदै जीवनस्तरको ग्राफ उकालो लागे पनि वास्तवमा  सुकिला मुकिला भनिने र निम्न श्रेणीमा रहन वाध्य  नेपालीहरू बिच जीवनस्तरको खाडल भयावह तवरले फराकिलो र गहिरो हुंदै बढ्दो छ ।

प्रविधि को  यो युग एक्काइसौं शताब्दीमा अन्य मुलुकका शिक्षित युवाहरू अन्तरीक्षमा घट्ने घटना परिघटनालाई नियाल्दै त्यहाँ  आफ्नो मुलुकको दर्विलो उपस्थिति जनाउन अनि अन्वेषणका लागि आफ्नै राष्ट्रको प्रतिनिधित्व हुनेगरि अन्तरीक्षयानको बिकास र त्यसमा आफ्नो  पहुँच अनि आफ्नो मुलुकको वर्चस्व कसरी राख्न सकिन्छ भनेर जोड घटाउ गर्दै   सौर्य मण्डलका  ग्रहहरूको विषयमा गहन अनुसन्धान र परिक्षणमा व्यस्त हुदै   सुचना तथा प्रविधिको महासंग्राममा  होमिएका छन् भने हाम्रो मुलुकको प्राय: शिक्षित युवाहरू  बढ्दो वेरोजगारीको चपेटामा परेर मरता न क्या करता भने झै कथित राजनीतिक नेता भनाउदोको झोला बोक्दै तिनै औँठाछाप नेताको गुणगान गाउन र उनिहरूको मलद्वारलाई हरिद्वार भन्दै भजन  गाउन बाध्य छन् ।

परिवारको सदस्य घर बाहिर निस्केपछि सकुशल घर फिर्तिमा परिवारका अन्य सदस्यलाई   यकिन गर्न मुस्किल भएको छ । कारण जो समाजको लागि केहि उदाहरणिय काम गर्छु भनेर सृजनशील कर्ममा लाग्छ वा गाँस वास कै लागि पनि आफ्नो श्रम बेच्ने   श्रमिक  कहाँ कतिखेर वेपत्तामा पर्छ , या मारिन्छ कसैले अनुमान लगाउन सक्दैन।

चन्दा नदिएको झोकमा, सुराकिको आरोपमा  स्कुलमा पढाउन गएको शिक्षक रुखमा बाँधिएर दानविय शैलीमा मारिन्छ , बैदिक सनातन धर्मको उपासक ,आम जनतालाई सत्मार्गमा लाग्न प्रेरणा दिने अभियन्ता  धुन्दुकारीहरुको गोलीको निशानामा पर्छ, हिन्दुधर्मका अन्य सारथी पनि गोली र तरवार अनि खुकुरीको निशानामा पर्छन् ।

एउटि सुर्पणखा चरित्र द्वारा लगाइएको घृणित लाञ्छना मा  आफ्नो धर्म अनि कर्म विपरीत कल्पना नै गर्न नसकिने त्यस्ता कुनै पनि अनैतिक गतिविधि हुदै नभएको र त्यसलाई  अस्वीकार गर्दा गर्दै पनि लाञ्छना लागेकै भरमा  अनुसन्धान पुर्ण नहुदै ठोस प्रमाण बिना  ब्रम्हनिष्ठ  संतलाई कारागारको चौघेरामा राखिएको छ ।

आफुलाई वैदिक सनातन धर्मको अभियन्ता हुँ भन्दै साधु संतको छद्म भेषमा रहेका केहि खलपात्रहरूमा स्खलित मानसिकता भएकै कारण अहिलेको स्वेच्छाचारी पनले बढावा पाएको हो ।

न यथेष्ट धन सम्पत्ति छ,न कुनै उच्च सम्मान प्राप्त व्यक्ति नै हुन् , फगत भगवानको पुजा आराधना गर्दै  मन्दिरमा आश्रय लिएर लौरो र लंगौटीमा रहेका  वृद्ध दीन संत पुजारीको   हत्या हुन्छ ,राज्यको तर्फबाट अन्नमा भएको घुन मारिएको जस्तो व्यवहार हुन्छ।

छोराको हत्यारालाई कार्वाही होस् भनेर किटानी जाहेरी दिदै राज्यसंग न्यायको भिख माग्ने मातापिता  मध्ये पिताको ईहलीला अस्पतालको शैय्या मै बित्छ, माता पनि  मृत्युसंग पौँठेजोरी खेल्दैछिन । 

सुदुर पश्चिममा १३ वर्षे किशोरीको अस्मिता दिन दहाडै लुटिएर हत्या हुन्छ र बर्षौ बित्दा पनि अभियुक्त फेला पर्न सक्दैन ।अबोध  बालकलाई  नर पिचासहरूले रकम  फिरौतीको लालचमा परेर यमदुत बन्दै क्षत विक्षत पारिदिन्छन ।

आफ्नो निकृष्ट र छुद्र स्वार्थ पुरा गर्न कै लागि माता/पिताले सन्तानको, सन्तानले आफ्ना जन्म/कर्म दाताको , भाइले आफ्नै सहोदर दाजु भाइको , सहकर्मी र सहधर्मी ले आफ्नै सहयात्रीको मानमर्दन या तेजोवध गर्न  विभिन्न षड्यन्त्रको तानावाना बुन्न उद्यत छन् ,अझ भनुँ घाँटी रेट्न समेत पछि पर्दैनन् , यी त प्रतिनिधि घटनामात्र भए , उल्लेख गरि साध्य छैन ,अनेकौ छन यस्ता शृङ्खलाबद्ध घटनाका नालीवेली इतिहासमा सिमित हुन लागेको हाम्रो त्यो सुन्दर शान्त  अनि फराकिलो छाती भएको देशको हालको वास्तविकता ।
घिउ र तरवार बेच्ने बँनिया शैलीको  बिकास बढ्दो क्रममा छ ।

नैतिकता, निष्ठा , इमान्दारीता ,शालीनता ,भाइचारा  र  सद्भाव भन्ने शब्द  शब्दकोष का कुनै पानामा आफ्नो अवमूल्यनमा  रुँदै संकुचित भएर लुकेर बसेको छ । अपवाद वाहेक जनताले तिरेको करबाट सरकारी वेतन खाने विभिन्न पेशा  तह अनि तप्काका राष्ट्र सेवकले आफ्नो पेशागत मुल्य मान्यतालाई आर्यघाटमा  तिलाञ्जली दिएका छन् ।

वर्षा कालिन भ्यागुताको झै कर्कश  स्वरमा देश बिकाश को फोस्रो नारा उराल्दै आम नागरिकलाई उल्लु बनाउने  राजनितिका ठेकेदारहरूको हालीमुहाली छ मेरो देशमा  ।सरकारलाई खोपाको भिमसेन जस्तै  बनाउने या आफ्नो चंगुलमा पार्ने  अनवरत्  प्रयास चल्दो छ बिभिन्न तस्कर माफियाहरूबाट ।

सदाचारमा रहेर राष्ट्र सेवा गर्ने राष्ट्र सेवक कर्मचारीलाई ( जो बिभिन्न पेशा,तह अनि तप्काका छन् ) भाडाका टट्टुहरू लगाएर मानमर्दन गर्दै हुर्मत लिन खोजिन्छ ।निष्ठाको राजनिति गर्ने राजनितिकर्मीलाई पंगु वनाइन्छ ,अरबौँ भ्रष्टाचार गर्दै, शक्तिको उन्मादमा  हजारौँ निरिह जनताको हत्याको जिम्मेवारी लिने युद्ध अपराधीले देशको नियम कानुनलाई  टेरपुच्छर लगाउँदैन ।

अन्तरास्ट्रिय अदालतमा मुद्धा दायर गरेर आजीवन कठघरामा कुहाउनु पर्ने यस्ता धुर्त र चण्डाल प्रवृत्तिको  हत्याराको सरदारले अझै दम्भी भएर खुलेआम प्रशासन अनि न्यायलाइ चुनौति दिइरहेको छ । अझ उसैलाई नै अग्रगामी परिवर्तनको संवाहक भन्दै गुणगान गाउन खेताला अरिंगालहरूलाई भ्याइ नभ्याइ छ।

नेपालका  बिभिन्न स्थानमा भएका वा अनुसन्धानबाट पत्ता लागेका खनिज पदार्थमा आफ्ना INGO ,NGO एजेण्ट मार्फत केहि आकर्षक योजनाको  चारो फाल्दै  अनुदानको आडमा उक्त वहुमुल्य खनिज पदार्थ हडप्न  वक्रदृष्टि लगाइरहेका छन्  मित्रराष्ट्र नामका केहि हुँडारहरूले ।  राष्ट्रको प्राकृतिक श्रोत दोहनमा चुल्ठे मुन्द्रे र टोले गुण्डाहरूको दवदवा छ ।

विश्वका सवा अर्ब भन्दा बढि जनसंख्याले अपनाउदै आएको वैदिक सनातन हिन्दुधर्मको पवित्रभुमि र आस्थाको केन्द्र, मन्दिरै मन्दिरको सजिएको एक मात्र हिन्दुराज्य  देशमा पश्चिमाहरूको स्वार्थ अनुकूल रातारात लादिएको धर्म निरपेक्षताको विषवृक्षबाट नेपाली समाजमा आफ्नो गुण अनुरुपको प्रभाव विस्तारै मौलाउदै छ।

यकिन गर्न कठिन छ कि भावी पुस्ताले यसको मुल्य कति चुकाउनु पर्ने छ ।खुराफाती सोच र  अति द्रव्यमोह भएकाहरूका लागि राष्ट्रमा सृजित हुने कुनै पनि प्राकृतिक या दैवी प्रकोपलाई अवसरको रुपमा छोप्दै जुनसुकै हदसम्म गिरेर भएपनि रकम कुम्ल्याउन र लाशमाथीको व्यापार  गर्न ध्याउन्न छ ।औसत देशवासीको जीवन यापन कहाली लाग्दो परिस्थितिबाट गुज्रदो छ हालका दिनमा ।

यसर्थ  यो देशमा एउटा त्यस्तो युगपुरुषको खाँचो छ , जसले देश दुखेको महसुस गरोस् ,  न्युनतम आधारभुत कुराहरू(गाँस,बास, कपास ,स्वास्थ्य र शिक्षा )को अभावमा जनताका आँखाको डिलबाट गुडिरहेका नुनिलो अश्रुस्रावको मुहान सुकाउन सकोस् ,जसले.. गाइ मारेर गधा पोस्ने प्रवृत्तिका विवेकहीन खलपात्रलाई समाजबाटै बहिस्कृत गराउन न्यायको कैँची  चलाउदै विवेक रुपी सियोले सुन्दर फुलवारी रुपी यो राष्ट्रका पवित्र फुल रुपी सम्पुर्ण वर्ग, तह र तप्काका पिडित नेपालीहरूलाई एउटै मालामा गांस्न सकोस्  र बिभिन्न पीडाहरू( रोग भोक, अभाव )बाट आक्रान्त भएर  धर्माउदै गरेकी नेपाल आमाको मुहारमा शान्ति र प्रसन्नतारुपी हर्षका रेखाहरूको पुनरागमन गराउन  सकोस् ।

हो , म त्यहि  युगपुरुष को खोजीमा छु ।...


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.