add

विश्वको ध्यान प्राङ्गारिक उत्पादन तर्फ तानिँदैछः दीपकप्रकाश बास्काेटा






ActPro Nepal

|

१० भदौ, २०७७

|
1173

पछिल्लो समय नेपालमा अर्गानिक बारे चर्चा बढ्दो छ । यद्यपि अधिकांश नेपालीहरु अझैपनि अर्गानिक के हो भन्ने बारे जानकार समेत हुन सकेका छैनन् । साथै नेपालमा अर्गानिक अर्थात प्राङ्गारिक उत्पादनको यकिन तथ्याङ्क के छ भन्ने बारे जानकारी समेत लिन सकिएको छैन । यस सम्बन्धमा नेपाल सरकारले समेत खासै चासो राखेको छैन । जसले गर्दा अहिले पनि ठूलो जनशक्तिले प्राङ्गारिक उत्पादनबारे जानकारी पाउन सकेका छैनन् । यस्तो अवस्थामा अब नेपालमा प्राङ्गारिक उत्पादनको अहिलेको अवस्था र सम्भावना सम्बन्धमा आवश्यक तथ्याङ्क सङ्कलन गरी त्यसको आधारमा प्राङ्गारिक उत्पादन बारे सर्वसाधारणलाई जानकारी गराउँदै यसतर्फ जागरुक बनाउनु जरुरी छ ।

अर्गानिक एक अङ्ग्रेजी शब्द हो । नेपाली भाषामा यसलाई जैविक, वैदिक एवं प्राङ्गारिक जस्ता शब्दहरुले चिन्ने गरिन्छ । पछिल्ला बर्षहरुमा नेपालका किसानहरु पनि जैविक खेती पद्धति तर्फ आकर्षित भइरहेका छन् । तर तथ्यमा आधारित रहेर भन्न सकिने अवस्था छैन । साथै राज्यले जैविक खेती प्रणालीलाई प्रवर्द्धन नगरी रासायनिक पद्धतिलाई नै प्रवर्द्धन गरिरहेको अवस्थामा जैविक प्रणाली समबन्धमा आवश्यक जानकारी समेत सहज रुपमा उपलब्ध हुन सक्ने अवस्था छैन । साथै जैविक खेतीलाई प्रोत्साहन मिल्ने गरी यस पद्धतिको लागि प्रविधि हस्तान्तरण, सीप विकास र राज्यको लगानी त परैका कुरा हुन् । राज्यको नीतिले जैविक उत्पादनलाई विशेष चासोको साथ नलिएको कारण नेपालमा यो अभियान अझै पनि सीमित घेराबाट बाहिर आउन सकेको छैन ।

नेपालमा जैविक खेतीको इतिहास

नेपाल पौराणिक काल देखि नै तपोभूमि र योगभूमिको रुपमा चर्चामा रहँदै आएको मूलुक हो । परम्परागत तवरले उत्पादन गर्ने प्रणाली आफैंमा जैविक विधिमा आधारित थियो । यसर्थ अर्गानिक नेपालको लागि नयाँ पद्धति नै होइन । हामीले पहिले जुन किसिमले खेती गर्थ्याैं, आखिर त्यही पद्धति नै जैविक पद्धति थियो ।

यद्यपि विभिन्न वैज्ञानिक अध्ययनहरुबाट बढ्दो जनसङ्ख्या वृद्धिलाई धान्न सक्ने गरी कृषि उत्पादन वृद्धिको लागि विभिन्न रासायनिक तत्वहरु एवं विषादीको आवश्यकता महसुस गरियो । यद्यपि ती विषादीहरुको प्रयोगबाट उत्पादन वृद्धि गर्दा त्यसको मानवीय स्वास्थ्यमा पर्ने असर बारे भने सोचिएन । नेपालमा पनि उत्पादन वृद्धिको लागि भएको विश्वव्यापी लहर अनुसार नै आधुनिक रासायनिक पदार्थको अभ्यासलाई अङ्गिकार गरियो । नेपाल सरकार आफैंले रसायन र विषादीको उत्पादनलाई प्रोत्साहन दियो । यसको अलावा गाउँगाउँका प्रत्येक घरमा पालिने गाईभैंसी पाल्ने कार्यबाट किसानहरु निरुत्साहित भई सजिलो विकल्पको रुपमा रासायनिक मल नै प्रयोग गर्ने प्रचलन बढ्दै गयो । हाम्रा कृषि भूमिहरु बाँझो हुँदै गए । जसले गर्दा छोटो समयमा नै रसायनको प्रयोग सबै क्षेत्रमा तीव्र रुपले विस्तार हुन पुग्यो । यसबाट हाम्रो उत्पादन भूमी समेत विषाक्त बन्न पुग्यो । अहिले विश्वमा जति वैज्ञानिक आविष्कारहरु भएका छन् । त्यसको तुलनामा डरलाग्दा अकल्पनीय दीर्घ रोगहरु समेत सोही गतिमा वृद्धि भइरहेका छन् । यसो हुनुको मुख्य कारण हाम्रा उत्पादन नै विषाक्त हुनु हो भन्ने कुरा समेत प्रमाणित भइसकेको छ ।

बदलिँदो समयचक्रमा जैविक कृषि प्रणाली
अहिले समयक्रम पुःन बदलिएको छ । हामीले जैविक उत्पादनको प्रयोगलाई नै प्रोत्साहन गर्नुपर्ने बेला आएको छ । यतिबेला विश्वको ध्यान जैविक उत्पादनमा केन्द्रित भएको छ । हामीले उत्तम विकल्पको खोजी गरिरहेका छौं । अहिले हाम्राे वैज्ञानिक अध्ययनका विषयवस्तुहरु फेरिएका छन् । हामीले खाने खाना र फेर्ने स्वास नै हाम्रा औषधी हुन् भन्ने कुरा वैज्ञानिक प्रयोगले नै सावित गरिसकेका छन् । तरपनि मानवीय स्वास्थ्य समस्या समाधानको लागि डाक्टर र अस्पतालहरु निर्माण कार्य पनि तिव्र गतिले नै बढिरहेका छन् ।

स्वास्थ्य समस्याको मूल कारण पहिचान गरियोस्
हामी अझै पनि भ्रममा नै बाँचिरहेका छौं । नेपालमा कुनै स्वास्थ्य समस्या (रोग) सृजना हुँदा हामीले त्यसको उपचार केही लक्षणको आधारमा गर्न तयार हुन्छौं । यद्यपि ती समस्या देखिनुको मूल कारण भने अध्ययन गरिँदैन । अर्थात हामीले क्षणिक लाभ मात्रै खोजिरहेका छौं । पूर्ण समाधान होइन । अर्थात लक्षणबाट मात्रै गरिने उपचारले पूर्ण समाधान दिनै सक्दैन । अब हामीले बुझ्नुपर्छ कि स्वास्थ्य समस्या समाधानमा डाक्टर, अस्पताल र औषधी त सहायक मात्र हुन् ।

हामीले जैविक उत्पादनको प्रयोगलाई नै प्रोत्साहन गर्नुपर्ने बेला आएको छ । यतिबेला विश्वको ध्यान जैविक उत्पादनमा केन्द्रित भएको छ । हामीले उत्तम विकल्पको खोजी गरिरहेका छौं । अहिले हाम्राे वैज्ञानिक अध्ययनका विषयवस्तुहरु फेरिएका छन् । हामीले खाने खाना र फेर्ने स्वास नै हाम्रा औषधी हुन् भन्ने कुरा वैज्ञानिक प्रयोगले नै सावित गरिसकेका छन् ।


जैविक उत्पादनमा राज्य पक्षको चासो न्यून

राज्यले जैविक उत्पादनलाई थप प्रवर्द्धन गर्नेगरी नीतिगत रुपमा नै पहल गर्नुपर्ने जरुरी छ । अहिले नेपाल सरकारले बार्षिक करिब ५ खर्ब रकम बराबरको कृषि रसायन तथा विषादी उत्पादन तथा आयातको लागि बार्षिक बजेट लगानी गरिरहेको छ । त्यो रकम जैविक उत्पादन वृद्धिको लागि लगानी गर्ने हो भने हामीले कृषि उत्पादनको माध्यमबाट हाम्रो स्वास्थ्य अवस्थामा व्यापक सुधार ल्याउन सक्छौं । जैविक उत्पादन क्षेत्र आफैंमा विशाल क्षेत्र हो । यस क्षेत्रमा एकदुई व्यक्तिले गरेको प्रयाशले मात्रै सिङ्गो नेपाललाई स्वस्थ बनाउन सम्भव नहुन सक्ला तर राज्यले नै यस प्रति विशेष चासो लिने हो भने त्यो असम्भव पक्कै रहँदैन ।

अहिलेको अवस्थामा नेपाल सरकारले कर्णाली प्रदेशलाई अर्गानिक जोनको रुपमा घोषणा गरी जैविक उत्पादनलाई जोड दिन खोजेको अवस्था समेत देखिन्छ । जुन सकारात्मक पहल हो । यदि राज्य जनताको स्वास्थ्यमा जागरुक बन्ने हो र त्यो कार्यक्रमलाई प्रभावकारी ढंगले अघी बढाउन लागेको हो भने हामी त्यस कार्यमा सहयोग गर्न तयार छौं । नेपालमा गरिने उत्पादनलाई जैविक बनाउँदै लैजानुपर्छ भन्ने मान्यताले नै हामीले अहिले अर्गानिक एसोसिएसन नेपाल स्थापना गरी विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेका हौं ।

सहज छैन प्राङ्गारिक प्रमाणिकरण

कुनै उत्पादनलाई साँच्चै नै अर्गानिक हो भनेर प्रमाणित गर्न विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले प्रमाणिकरण गरेको हुनुपर्छ । यद्यपि अहिले नेपालीहरुले अर्गानिक हिसाबले कृषिजन्य वस्तुहरु उत्पादन गरेपनि यस्ता उत्पादनलाई अन्तर्राष्ट्रिय रुपबाटै सर्टिफिकट लिन सकिने गरी पूर्ण प्राङ्गारिक बनाउने कार्य भने अहिलेको अवस्थामा नेपाल जस्तो देशमा निकै नै समस्याको रुपमा रहँदै आएको छ । यस कार्यमा ठूलो बजेट समेत आवश्यक पर्छ भने राज्य पक्षले राष्ट्रको प्रतिष्ठासँग जोडिने यस किसिमका कार्यलाई लक्षित गरी कुनै प्राविधिक सहयोग समेत उपलब्ध गराएको अवस्था सम्म छैन । जसले गर्दा अहिले अत्यधिक न्यून सङ्ख्याका कम्पनीहरुले मात्रै आफ्ना उत्पादन बापत अर्गानिक सर्टिफिकट लिन सफल छन् । सर्टिफिकट लिएका संस्थाले समेत उच्च शुल्कको कारण बार्षिक रुपमा नवीकरण गर्न सकेका छैनन् । यस्तो अवस्थालाई विचार गर्दै नेपाल सरकारले नै यसबारेमा विशेष व्यवस्था गर्नु निकै जरुरी छ ।

पछिल्ला वैज्ञानिक अध्ययनहरुले आधुनिक समयमा उत्पादन वृद्धिको लागि रसायनको प्रयोगमा मात्र निर्भर हुननहुने बारे विश्वलाई सचेत बनाएको छ । बरु आधुनिक विज्ञानले पछिल्लो समय कसरी यस्ता रसायनको प्रयोग घटाउँदै लैजान सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित गराएको छ । रसायनको प्रयोगले जमीन र शरीरमा हुन सक्ने असरबाट बच्नको लागि जैविक उत्पादनलाई कसरी वृद्धि गर्ने भन्नेमा विश्वकै ध्यान तानिइरहेको अवस्थामा नेपाल सरकारको ध्यान यसतर्फ केन्द्रित हुन नसक्नु आफैंमा दुखद कुरा हो ।

वातावरणमैत्री परम्परागत कृषि प्रणाली नै उपयुक्त

अहिले वैज्ञानिकहरुले पूर्वीय वैदिक प्रणालीमा आधारित कृषि पद्धतिलाई नै उत्कृष्ट पद्धतिको रुपमा अङ्गिकार गरिसकेका छन् । वातावरणलाई प्रतिकूल असर नपार्ने यस प्रणालीको विस्तारको लागि राज्यले जसरी विगतमा रसायन प्रयोगको लागि तालिम र भत्ताको अलावा विभिन्न तवरले प्रचारप्रसारबाट यसबारे जानकारी गराउने काम भएको थियो, त्यसरी नै अहिले जैविक उत्पादनको प्रचारप्रसार हुनु जरुरी छ ।

(प्राङ्गारिक उत्पादनका अभियन्ता बास्कोटा कञ्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टरका संस्थापक समेत हुनुहुन्छ ।)


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.