add

जात र वर्णका सिकार नवराज सुनार र जर्ज फ्लोइडले गिज्याइ रहेको मानव सभ्यता !!!






ActPro Nepal

|

२९ जेठ, २०७७

|
1795


-राजनप्रसाद पाेखरेल

घटना नं. १. नवराज वि. क :-

जाजरकोट भेरी नगरपालिका-४ का नवराज वि. क. रुकुम चौरजहारी नगरपालिका ८ सोती गाउँकी एक मल्ल थरकी किशोरीसँग प्रेममा थिए । वि. क.ले १९ जना साथीसहित केटी भगाउन खोजेपछि घटनाक्रमले विकसित रूप लिएको थियो ।

केटा पक्षले केटीले बोलाएपछि आफूहरू लिन आएको बताएका थिए । तर परिवार र गाउँलेले दलितलाई छोरी लिन नदिने भन्दै धपाएका मात्र नभई कुटपिट गरी हत्या गरेर भेरी नदीमा फालिदिएको र पटकपटक गरी छ जनाको शव भेरी नदीको किनारमा भेटिएको थियो ।

घटना नं. २. जर्ज फ्लोइड:-

अमेरिकाको मिनिसोटाका एक निहत्था, समर्पण गरिसकेका, आक्रामक नदेखिएका अश्वेत युवकलाई मिनियापोलिस प्रहरीका एक श्वेत अधिकृतले भुइँमा लडाएर करिब ९ मिनेटसम्म खुट्टाले घाँटी थिँची हत्या गरे । अमेरिकामा गोरा जातिका प्रहरीको जातीय घृणाको प्रतिविम्व स्वरूप हेपाहा प्रवृत्तिको दुर्व्यवहार खपेर मृत्यु वरण गरेका अश्वेत जातिका जर्ज फ्लोइडको हत्या काण्डलाई लिएर अमेरिकामा अझै विारोध प्रदर्शन जारी रहेको छ । अमेरिकामा प्रहरी ज्यादतीका कारण काला जातिका जर्ज फ्लोइडको मृत्यु भएको १५ औं दिन अर्थात् मङ्गलबार रंगभेद तथा प्रहरी क्रुरताको विरुद्ध अमेरिकाभरि शान्तिपूर्ण -यालीको आयोजना गरिएको छ ।

विक्रम संवत् १९१० मा जंगबहादुर राणाले ल्याएको मुलुकी ऐनले छुवाछूत तथा जातीय विभेदलाई नेपालमा वैधानिक गरायो । प्रस्तावनामा ‘समानता’ शब्द राखेको मुलुकी ऐनले आफूभित्र प्रशस्तै विभेदकारी धाराहरू पनि राखेको थियो । यी विभेदकारी व्यवस्थाबाट सबभन्दा बढी दलित समुदाय प्रताडित भए । २०२० सालमा आएको मुलुकी ऐनले जातीय विभेद अन्त्य त भन्यो तर ऐनमा व्यवस्था भएका कुरा समाजका बुज्रुकहरू मान्न तयार भएनन् ।

यी दुई प्रतिनिधि घटना हुन् वा भनौँ देखिएका घटना हुन् । यी घटनाले विश्व समुदायको ध्यानाकर्षण गराएको छ । नेपाल र अमेरिकालाई विकास, सुशासन, आर्थिक स्तर, शैक्षिक स्तर कुनै पनि हिसाबले तुलना गर्न सकिँदैन । अमेरिका आफूलाई विश्व शक्तिशाली राष्ट्र मान्दछ । भूभागका हिसाबले, प्रजातन्त्रका हिसाबले, द्रुतगतिमा भइरहेको विकासका कारणले अमेरिका सबैभन्दा अगाडि छ तर नेपालमा न विकास छ, न सुशासन छ, न आर्थिक वृद्धि नै राम्रो छ । न त नेपालले त्यसखालका योजना ल्याएर देशको मुहार फेर्ने खालको दूरदर्शी नेतृत्व नै पाएको छ ।

कुनै पनि हिसाबले तुलना गर्न नमिल्ने यी मुलुकमा केही समय अगाडि गज्जबको तुलना गर्न लायक घटना घटे; जसले विश्व मानव समुदायलाई नै कलङ्कित पार्ने खालका रहे । नेपालमा नवराज वि.क. लगायत छ जनाको कुटीकुटी भेरी नदीमा फालेर गरिएको हत्या र अमेरिकामा जर्ज फ्लोइडको घाँटी थिचेर गरिएको हत्या ।

जातीय विभेद वा छुवाछूत भनेको के हो ?

छुवाछुत निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथा हो। यो सामाजिक कुरीति हो ।

विकिपिडियामा छुवाछूतलाई यसरी अर्थ्याइएको छ :- “धर्म, वर्ण, सम्प्रदाय, जाति आदिको नाममा गरिने छुवाछुत अल्प विकसित तथा अविकसित देशहरूमा बढी पाइन्छ । नेपालको संविधानले कुनै पनि व्यक्तिलाई जात, जाति, वर्ण, लिङ्ग वा धर्म आदि कुनै आधारमा छुवाछुत गर्न नपाइने कानुनी व्यवस्था गरेको छ। यद्यपि नेपालमा छुवाछुतको कुरीतिले निकै गहिरो जरा गाडेको पाइन्छ। तथाकथित तल्लो जात अथवा दलित जातजातीले छोएको पानी बार्ने, धार्मिक स्थलहरूमा उनीहरूलाई जान रोक्ने आदि कुप्रथा कतिपय समाजमा अझै पनि कायम रहेको छ।”

तर यो परिभाषाले जे परिभाषित गरेपनि एउटा नवराजले वि. क. थर भएकै आधारमा ज्यान गुमाउँछ र अर्को फ्लोइडले कालो वर्ण भएकै आधारमा ज्यान गुमाउनुपर्छ । त्यसमा पनि मानवीय सभ्यताको युग भनिएको समयमा, एउटा विकासशील राष्ट्र (अमेरिका) र अर्को विकासोन्मुख राष्ट्र (नेपाल) मा ।

विक्रम संवत् १९१० मा जंगबहादुर राणाले ल्याएको मुलुकी ऐनले छुवाछूत तथा जातीय विभेदलाई नेपालमा वैधानिक गरायो । प्रस्तावनामा ‘समानता’ शब्द राखेको मुलुकी ऐनले आफूभित्र प्रशस्तै विभेदकारी धाराहरू पनि राखेको थियो । यी विभेदकारी व्यवस्थाबाट सबभन्दा बढी दलित समुदाय प्रताडित भए । २०२० सालमा आएको मुलुकी ऐनले जातीय विभेद अन्त्य त भन्यो तर ऐनमा व्यवस्था भएका कुरा समाजका बुज्रुकहरू मान्न तयार भएनन् । आज पनि व्यवहारमा दलितले विभेद भोग्नु सामान्य ठानिन्छ ।

पोहोर आएको नयाँ मुलुकी ऐनले पनि जातीय विभेदलाई गैरकानुनी मानेकै छ । तर, समाजका कथित उच्च जातका मानिसहरू कथित दलितको हैसियत सम्झाउन आज पनि उद्यत छन् । पश्चिम रूकुमको सोतीमा नवराज वि.क. र उनका साथीहरूको हालै भएको हत्या यसको पछिल्लो उदाहरण हो । नेपालमा यसको विरोधमा र नवराजले न्याय पाउनुपर्छ भन्ने विषयमा चौतर्फी आवाजहरू उठिरहेका छन् ।

अमेरिकामा पनि यस्तो रङ्गभेदी, अमानवीय र क्रुर घटनाको विरोधमा आज श्वेत, अश्वेत सबै जुर्मुराएका छन् । अमेरिकामा ठूलै आन्दोलनको शुरुवात भएको छ । दासप्रथालाई गैरकानुनी घोषणा गरिएको डेढ सय वर्षभन्दा बढी समयपछि आजको अमेरिकी समाजमा यस्तो घटना घट्नुले धेरै प्रश्न उठाएको छ । कुनै पिछडिएको भनेको समाजमा पनि होइन, संसारको सबैभन्दा सम्पन्न, शक्तिशाली, विकसित र मानव विकास हासिल गरेको भनिएको देशमा यस्ता घटना हुनु खेदजनक वा  आपत्तिजनक छ ।

नेपाल र अमेरिकामा विभेदका कारण घटेका यी दुई घटनालाई जोडेर हेर्दा संसारका विभिन्न देशमा विभिन्न सामाजिक व्यवस्थाको फलस्वरूप विभेद उत्पन्न हुँदो रहेछ भन्ने बुझ्न कठिन हुँदैन । तर मननीय विषय के हो भने, हरेक विभेदको इतिहासमा अविवेकी र स्वार्थी शासक एवं तिनका चाकरी र भक्तिले सम्पन्न बन्ने उद्देश्य बोकेका आसेपासे हुन्छन् । यिनैको शक्ति र भक्तिको भोक एवं चरम अहंकारले गर्दा धर्म, संस्कृति वा यस्तै केही आममानिसको विश्वासमा आधारित विषयलाई च्यापेर वर्गीय शोषणलाई सामाजिक व्यवस्थाको रूपमा स्थापित गरिन्छ । समयक्रममा यसलाई कानुनी आधार पनि प्रदान गरिन्छ । र, बिस्तारै यस्तो विभेदकारी व्यवस्था समाजको चलनचल्तीको मान्यता बन्न पुग्छ ।

जात मिल्या छ । दुवै बाहुन हुन् वा दुवै क्षेत्री हुन् । दुवै दलित हुन् वा दुवै जनजाति हुन् । तर, तीमध्ये धनीले आफूलाई सजातीयमै बेग्लै व्यवहार गर्न थाल्छ । एउटै जातिमा मान्छे सम्पन्न हुँदै गएपछि उसले आफूलाई वर्गको रूपमा हेर्न थाल्छ । वर्ग जो छ, अलिकति प्रभाव पायो भने त्यसले जातिको रूपमा व्यवहार गर्न थाल्छ । यसैले  विद्वानहरू भन्छन्, ‘प्रत्येक वर्गले वर्ण हुने लक्ष्य राख्छ, वर्णले वर्ग हुने लक्ष्य राखेको हुन्छ ।’ समाजमा अलि विशिष्टता हासिल गर्नेबित्तिक्कै हामी पनि विशेष अधिकार खोज्छौँ ।

समाजमा एउटा कुकुर, बिराला, कुखुरा, गाई, भैंसीलाई अँगालो मार्ने अनि एउटा मानिसले अर्काे मानिसलाई छुँदा पनि सुन पानी छर्किएर चोखो हुनुपर्ने हाम्रो कतिसम्मको कथित समाज छ । अझै पनि बनेका कानुन कागजमै मात्र सीमित भएको जस्तो देखिन्छ । जातीय छुवा  छुत गर्ने अपराधीको विरुद्धमा उजुरी खासै परेको र पीडकले सजाय पाएको पनि सुनिदैंन । हामीले सोचाइमा सकारात्मक परिवर्तन मात्र होइन हाम्रा हरेक व्यवहारमा परिवर्तन ल्याउन जरुरी देखिन्छ ।

जातीय प्रथा हटाउने  के उपाय छ त ?

जातीय प्रथा वा छुवाछूतको अन्त्य गर्न सर्वप्रथम उच्च जातिको मानव समुदायको रूपमा रहेको हेपाहा मानसिकतामा परिवर्तन आउनुपर्छ । त्यो मानसिकतालाई लोकतन्त्र विरोधी प्रवृत्ति हो, मानवअधिकारको विरोधी हो भनेर आत्मसात गर्नुपर्छ । राज्यले त्यतिखेर मात्रै कार्यक्रमहरूलाई प्रभावकारी रूपमा लागू  गर्न सक्छ जतिखेर शिक्षित समुदायले त्यो कुरालाई आत्मसात गर्दै अगाडि लैजान्छ ।  नेपालमा सिद्धान्तत: दलित, आदिवासी र मधेसी कुनैपनि समुदायले जातीय विभेद चाहदैन तर व्यवहारिक रूपमा यहाँ पनि भित्रभित्रै यो जातीयताका आधारमा गरिने विभेद प्रष्ट देखिन्छ ।  उच्च जातिका समुदायहरूले त यसलाई आफ्नो बिद्वता, उच्चता र पैत्रिक सम्पत्ति जस्तो मानेर यी खालका विभेदकारी कार्यलाई  निरन्तरता दिइरहेका छन् । सबै खालका जातिमै विभेद नगर्ने चेतना र साहस हुनुपर्यो । अमानवीय व्यवहारलाई चिन्न सक्नुपर्यो र आफू पनि मानव हुने र अरुलाई पनि मानव ठान्ने, मान्ने र त्यही अनुरूप व्यवहार गर्ने प्रवृत्तिको विकास हुनुपर्यो ।  साथै, जो विभेदमा परेका छन्, उनीहरूमा पनि त्यो विभेदलाई नकार्ने चेतना चाहियो । यसमा राज्यले पनि शक्तिशाली समूहको सट्टा विभेदित समूहको पक्षमा नीतिगत र प्रक्रियागत रूपमा आवश्यक सहयोग गर्नुपर्छ । अन्तर्राष्ट्रिय नियममा भएका मापदण्डहरूलाई  राज्यले सम्प्रेषण गर्ने र तिनको कार्यान्वयनमा जोड दिनुपर्छ ।

समाजमा एउटा कुकुर, बिराला, कुखुरा, गाई, भैंसीलाई अँगालो मार्ने अनि एउटा मानिसले अर्काे मानिसलाई छुँदा पनि सुन पानी छर्किएर चोखो हुनुपर्ने हाम्रो कतिसम्मको कथित समाज छ । अझै पनि बनेका कानुन कागजमै मात्र सीमित भएको जस्तो देखिन्छ । जातीय छुवाछुत गर्ने अपराधीको विरुद्धमा उजुरी खासै परेको र पीडकले सजाय पाएको पनि सुनिदैंन । हामीले सोचाइमा सकारात्मक परिवर्तन मात्र होइन हाम्रा हरेक व्यवहारमा परिवर्तन ल्याउन जरुरी देखिन्छ । त्यसका लागि सुरुवात हाम्रै घर, परिवार र समाजबाट आरम्भ गर्नुपर्छ तब मात्र हामीले यस्ता सामाजिक कु–प्रथा तथा कु–संस्कृतिहरूलाई निर्मूल गर्दै नयाँ समुन्नत नेपाल निर्माण गर्न सक्छौं ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.