add

नेपालमा हस्तकला व्यवसाय सम्भावना चुनौती






ActPro Nepal

|

९ जेठ, २०७७

|
2587


रविन्द्र शाक्य, उपाध्यक्ष, नेपाल हस्तकला महासंघ

नेपालमा हस्तकला क्षेत्र परम्परागत रुपमा निकै लामो इतिहास बोकेको व्यवसाय हो । परम्परागत महत्वका मठमन्दिर, भवन, देवल, मुर्तिहरुमा यसको व्यापक प्रयोग भएको पाइन्छ ।

आधुनिक सभ्यता सम्म आइपुग्दा पनि यसले आफ्नो विशेष महत्व राख्दै आएको छ । एकातिर यस उद्योगले व्यापक मात्रामा रोजगारी सृजना गरेको छ भने अर्कोतिर सीप, कलाकौशलता एवं संस्कृतिको संरक्षण र प्रवद्र्धनमा ठूलो सहयोग पुर्याएको छ । मानिसलाई सभ्य र सिर्जनशिल बनाएको छ । यतिमात्र होइन, विश्वबजारमा हामीलाई परिचित समेत गराएको छ ।

अहिले मुलुक लकडाउनमा छ । लकडाउनको असर यस क्षेत्रमा पनि परेको छ । तैपनि हस्तकला क्षेत्रमा निराश नै हुनुपर्ने अवस्था भने छैन । विभिन्न प्रकृतिका हस्तकलाजन्य व्यवसायहरु आंशिक रुपमा सञ्चालित छन् । अहिलेको परिस्थितिको कारण सबैभन्दा पीडा हाम्रा कर्मचारी र कालिगढलाई नै परेको छ ।

हस्तकला मुख्यतः सीपमा आधारित र सानो लगानीमा सञ्चालित व्यवसाय हो । पछिल्ला बर्षहरुमा यस क्षेत्रमा निकै ठूलो रकम लगानी भइसकेको समेत छ । अहिले हस्तकला काष्ठकला, मुर्तिकला र चित्रकलामा मात्र सीमित छैन । नयाँ बजार सम्भावनाहरुको समेत खोजी भइसकेको छ । हुनतः हस्तकलाजन्य वस्तुहरु अन्तरगत कलाकृतिजन्य परम्परागत हस्तकलाजन्य वस्तुहरु चिनिन्छ यद्यपि अहिले भने यसको दायरा निकै नै फराकिलो भइसकेको छ । 


लकडाउनमा हस्तकला व्यवसाय :- 

नेपालमा अहिलेको लकडाउनको अवस्थामा पनि हामी व्यवसायीहरुले थोरै क्षमतामा हस्तकलाजन्य कार्यहरु घरबाट समेत गर्दै आइरहेका छौं । उत्पादन निकै घटेको छ, त्यो स्वभाविक पनि हो । साथै हाम्रो लागि बजार ठूलो समस्या बनेको छ । साथै यस क्षेत्रमा संलग्न कर्मचारीहरुको निकै ठूलो परिमाण रोजगारविहीन बन्नुपरेको छ । यसमा हामी दुखी छौं ।

अहिले सबै क्षेत्र निराशाजनक छन् । यस्तो अवस्थामा हस्तकला क्षेत्र अछुतो रहने कुरै भएन । यद्यपि केही महिना व्यवसाय गाह्रो रहेपनि त्यो भन्दा पछाडिको लागि भने लकडाउनले केही राम्रा सम्भावना पहिचान गर्न समेत सहयोग पुग्ने हाम्रो बुझाइ छ । भावी दिनहरुमा अनलाइन माध्यमबाट गर्न सकिने कारोबार हाम्रो लागि ठूलो सम्भावना बन्न सक्छ । यसको लागि हामीले राज्य पक्षलाई जोडदार माग समेत गरिरहेका छौं ।

अब के गर्ने ?

नेपालमा राम्रो तवरले बजार व्यवस्थित गर्ने र बजार सञ्चालनको प्रबन्ध मिलाउने हो भने यस किसिमको लकडाउन बीच पनि प्रभावकारी तवरले नै सेवाप्रवाह गर्न सकिन्छ । सिधै सामान विक्री गर्न कठिन हुने अवस्थामा प्रविधिको प्रयोग वरदान सावित हुन सक्छ । अनलाइन सेवालाई विश्वसनीय बनाउन सके यसबाट हाम्रो समय र लागत घटाउन पनि सहयोग पुग्नेछ । यसबारे हामीले नेपाल सरकारलाई समेत ध्यानाकर्षण गराइसकेका छौं । नेपाल सरकारका अधिकारीहरुले आगामी बजेटमा यसलाई समेट्ने आश्वासन दिनुभएको छ । अनलाइनबाटै पेमेन्ट गर्न सकिने व्यवस्था समेत गर्न सकिएको खण्डमा नेपालमा यसले हाम्रो बजार प्रणालीलाई नयाँ दिशामा अघी बढाउनेमा हामी विश्वस्त छौं ।

नेपाली हस्तकलाजन्य उत्पादन र यसको बजार :-

नेपालमा उत्पादित हस्तकलाजन्य सामानहरु आन्तरिक र बाह्य बजार दुवैमा खपत हुने गर्दछन् । आन्तरिक बजार अन्तरगत बौद्ध, ठमेल, पाटन लगायत मुख्य हुन् । हस्तकला बजारको करिब ४० प्रतिशत आन्तरिक बजारले ओगटेको छ । यसैगरी बाह्य बजारमा हुने खपत करिब ६० प्रतिशत छ । ढाका, मेटल, ज्वेलरी, हाते कागज लगायतका सामानहरु नेपालको आन्तरिक बजारमा समेत खपत हुने गर्छन् । विगतमा नेपालको हस्तकला बजार बार्षिक १० देखि १२ प्रतिशतले वृद्धि हुँदै आइरहेको थियो । यसलाई हामीले सकारात्मक रुपमा नै लिएका थियौं । हामीलाई आशा छ, लकडाउन र कोरोना समाप्तिपछि पुन हस्तकला बजार राम्रो हुनेछ ।


लकडाउनमा पनि व्यस्त छन् कालिगढहरु :- 

हस्तकला अन्तरगत पर्ने केही वस्तुहरुको उत्पादन लकडाउन बीच पनि तीव्र रुपमा नै भइरहेको छ । कुनै–कुनै वस्तु उत्पादनमा त हामीलाई भ्याइनभ्याइ नै छ । तर सबै वस्तुमा एकैनास भने छैन । हस्तकला अन्तरगत पछिल्लो समय फेल्ट निकै नै फस्टाएको छ । यसैगरी प्राकृतिक रेसा र हाते तानबाट बुनिने सामानहरु, हाते कागज लगायत नेपालमा अहिले पनि निकै राम्रो तवरले उत्पादन भइरहेका छन् । यद्यपि हस्तकला अन्तरगत केही वस्तुहरुमा भने लकडाउनले निकै नै प्रभाव पर्ने अवस्था पनि देखिएको छ । खासगरी परम्परागत धातुका सामाग्री एवं मुर्तिकला, विदेशबाट कच्चा पदार्थ ल्याइ उत्पादन गर्नुपर्ने वस्तु लगायतमा भने यस अवस्थाले निकै नै असर पारेको छ ।

समस्यामा श्रमिक वर्ग :- 

अहिलेको अवस्थामा हस्तकलाजन्य कारखानामा काम गर्ने श्रमिक निकै नै समस्यामा छन् । कारखाना सञ्चालन गरिएपनि श्रमिकहरु कारखाना सम्म जान सक्ने अवस्था पनि छैन । नेपाल सरकारले उद्योग सञ्चालनको लागि आचारसंहिता समेत नबनाएको अवस्थामा ठूलो सङ्ख्यामा कर्मचारी र कालिगढलाई काममा लगाउनेमा हामी आफैं अन्यौलमा छौं । हामीलाई थाहा छ, मध्यमवर्गीय व्यक्तिहरुको अवस्था सामान्य रुपमा चलिरहेपनि श्रमिक भने निकै नै समस्यामा छन् । तर के गर्ने हामीसँग समाधान पनि त छैन ।


मन्त्रालयसँग हस्तकला व्यवसायीहरुको माग :-

लकडाउन पश्चात् नेपालमा २५ देखि ५० प्रतिशत सम्म रोजगारी घट्ने अवस्था हामीले आँकलन गरेका छौँ । यस्तो अवस्थामा रोजगारी सृजना सम्बन्धी नयाँ योजना सहित काम गर्नुपर्नेमा हामीले नेपाल सरकारलाई जागरुक समेत गराएका छौं ।

  •  अनलाइन सिष्टमलाई व्यवस्थित बनाउने र पेमेन्ट सिधै सुरक्षित रुपमा गर्न सकिने व्यवस्था एक हुन सक्छ ।
  •  स्वदेशी वस्तु १५ प्रतिशत सम्म तुलनात्मक रुपमा महँगो भएपनि स्वदेशी नै प्रयोग गर्नुपर्ने व्यवस्था गरिएकोमा त्यो सुविधा भ्याटमा दर्ता भएकाले मात्र पाउने व्यवस्था गरिएको छ ।
  •  हामी चाहन्छौं हस्तकला भनेको सानो लगानी रहेको र अधिकांश व्यवसायी प्यानमा नै कारोवार गर्ने किसिमका भएका हुनाले उनीहरुको पीडा पनि समेटिनुपर्छ ।
  •  यो व्यवस्था कार्यान्वयन हुनसके राज्य नै हाम्रा उत्पादनहरु किन्नको लागि एउटा ठूलो बजार बन्न सक्छ ।
  •  विगत २ बर्ष देखि हामीले हस्तकला नीतिको डाफ्ट तयार गरी राज्यलाई बुझाएका छौं । त्यो लाागु गर्नु जरुरी छ । यसबाट हस्तकला क्षेत्रलाई अझ बलियो र व्यवस्थित बनाउन ठुलो सहयोग पुग्नेछ ।
  •  नेपाल सरकारले नेपालबाट निर्यात गर्न सकिने वस्तु निर्यातमा पनि सहयोग गरोस् । कम्तीमा एक पक्षीय रुपमा भएपनि हवाइ सेवा सुचारु गरी नेपालमा उत्पादित सामान विदेश पठाउने व्यवस्था गरियोस् । हवाई चार्टड गरेर हाम्रा सामान विदेश पठाउन सम्भव छैन । त्यसले निकै महँगो पर्न जान्छ ।

अन्त्यमा :-

हामी सबै अप्ठ्यारो अवस्थामा छौं । यसलाई सामना गर्न सामुहिक ऊर्जा आवश्यक पर्छ । सबै सकारात्मक होऔं । व्यवसायीले पनि बुझ्नुपर्छ कि सबै कुरा सरकारसँग मागेर मात्र हुँदैन । बरु सम्भव रहेसम्म सरकारले लकडाउन बीच पनि सुरक्षित तवरले काम गर्ने व्यवस्था गर्न सकोस् । जसबाट गास, बास र रोजगारी सुरक्षित हुनेछ । हाम्रा उद्योगहरु सङ्कटमा पनि बच्न सक्छन् । यद्यपि हामी व्यवसायीहरु सरकारको काम प्रति ऐक्यवद्ध छौं ।



(नेपाल हस्तकला महासंघका वाणिज्य परिषद सभापति समेत रहेका व्यवसायी रविन्द्र शाक्य बौद्ध स्थित नायो क्राफ्टका सञ्चालक हुन् । उनी परम्परागत हस्तकलाजन्य सामाग्री उत्पादनमा संलग्न छन् ।) 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.