add

आजदेखि फाइजरको खोप लगाइने,यी हुन खोप केन्द्र






ActPro Nepal

|

२८ कार्तिक, २०७८

|
1508

काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ ।

आजदेखि मङ्सिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मङ्सिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।

कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए । दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मङ्सिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरूप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रूपमा लैजानुपर्ने छ । फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रूपमा रहने उनले बताए । यो खोप सामान्य अवस्थामा झोल वा सेतो हल्का धमिलो सेतो रङको हुन्छ । फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ । त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए । उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।

यी हुन् लक्षित दीर्घरोगी समूह

मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका ।

मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका ।

जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका ।

फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका ।

अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका ।

अङ्ग प्रत्यारोपण गरेका ।

उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका ।

रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका ।

मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका ।

यी हुन् खोप लगाइने अस्पताल

फाइजर खोप लगाएपछि देखिन सक्ने सामान्य असर

सुई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुन्निने

टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने

मांसपेशीहरू दुख्ने र जोर्नीहरू दुख्ने

खान मन नलाग्ने र वाकवाकी लाग्ने

थकाई लाग्ने

सुई लगाएको हातको काखीको ग्रन्थि सुन्निने र दुख्ने

यी समस्या भएमा नआत्तिन चिकित्सकको सुझाव छ । यस्ता समस्या भएमा २-३ दिन पछि आफै ठिक हुने स्वास्थ्य मन्त्रालयको भनाइ छ । फाइजर खोप लगाएपछि अपवादमा अवाञ्छित घटना पनि हुन सक्छ ।

जस्तै, एनाफाइलेक्सिस्, मायोकार्डाइसी, पेरीकार्डडाइटिस, शरीरमा साना बिमिरा आउने र चिलाउने, शरीरभरि डाबर आउने र चिलाउने, अनुहार सुन्निने लक्षणहरू देखिन सक्छन् । पखाला लाग्ने, बान्ता हुने, सुई लगाएको हात धेरै नै दुख्ने तथा बेहोस हुनेजस्ता लक्षणहरू देखिन पनि सक्ने शाखा प्रमुख दाहालको भनाइ छ ।

खोप लगाइसकेपछि कम्तीमा ३० मिनेटसम्म खोप केन्द्रमा अनिवार्य रूपमा बस्नुपर्ने उनले बताए । खोप दिइसकेपछि एनाफाइलेक्सिस् प्रतिक्रियाको निगरानीसमेत गरिने उनको भनाइ छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.