Right side from logo

को हुन् युयुत्सु ? जो महाभारत युद्धमा कौरवहरूको पक्ष छाडेर पाण्डवतर्फ लागे






2021 Sep 02

काठमाडौँ । युयुत्सु महाभारतका एक पात्र हुन् । महाभारत युद्ध सुरु हुनै लाग्दा उनी कौरवहरूलाई छाडेर पाण्डवका पक्षमा मिसिए । जसरी महाभारतका चर्चित पात्र विदुर दासी पुत्र हुन् त्यसरी नै युयुत्सु पनि दासीपुत्र हुन् । विदुरका भतिजा उनी महाराज धृतराष्ट्रका पुत्र हुन् ।

गान्धारी गर्भवती भएका समयमा धृतराष्ट्रको सेवादि कार्य गर्न एक वणिक वर्गकी दासी नियुक्त थिइन् । धृतराष्ट्र ती दासीप्रति लोभिए र उनीसँग सहवास गरे । फलस्वरूप ती दासी गर्भवती भइन् । दासीले समय पुगेपछि एक पुत्र जन्माइन् जसको नाम युयुत्सु राखियो । धृतराष्ट्रको पुत्र भएका हुनाले युयुत्सुलाई पनि अन्य राजकुमारहरूलाई जस्तै सम्मान, शिक्षा एवं अधिकार दिइएको थियो ।

युद्धमा किन पक्ष बदले युयुत्सुले ?

युयुत्सु धर्मात्मा थिए, यसकारण दुर्योधनको अनुचित चेष्टालाई एकजात मन पराउँदैनथे, र गलत कार्यका लागि उनको विरोध पनि गर्थे । यसैकारण दुर्योधन तथा उनका अन्य भाइ युयुत्सुलाई त्यति महत्व दिँदैनथे, अवसर मिल्नासाथ हँसीमजाक गर्थे, खिल्ली उडाउँथे । युयुत्सुले महाभारत युद्ध रोक्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरेका थिए तर उनको केही लाग्दैनथ्यो । जब युद्ध प्रारम्भ भयो । सुरुमा युयुत्सु कौरवहरूकै पक्षमा लागेर मैदान पुगेका थिए ।

युद्ध प्रारम्भ हुनैलागेका बेला युधिष्ठिरले दुवै पक्षका सेनाका बीचमा उभिएर दुवै पक्षमा जसलाई पक्ष बदल्न मन लाग्छ, उसले अहिल्यै पक्ष बदलोस् भनी घोषणा गरे । युधिष्ठिरले आफू सत्य र धर्मको पक्षमा उभिएको कुरासमेत भन्न छुटाएनन् । यति सुनिसकेपछि युयुत्सुले अधर्मको साथ छाड्ने विचार गरे र आफ्ना सैनिकसहित कौरव सेना छाडेर पाण्डवको सेनामा मिसिन गए । युधिष्ठिरले अँगालो मारेर उनको स्वागत गरे अनि उनलाई आफ्ना अन्य भाइसरहकै व्यवहार गर्ने विश्वास दिलाए ।

युयुत्सुलाई दिइएको थियो यस्तो जिम्मेवारी

आफ्नो पक्षममा आएपछि युधिष्ठिरले एक विशेष रणनीतिअनुसार युयुत्सुलाई सीधै युद्धको मैदानमा उतारेनन् बरु अर्कै महत्वपूर्ण काममा लगाए । युधिष्ठिरलाई के थाहा थियो भने युयुत्सु त्यस कार्यका लागि सबैभन्दा योग्य छन् । युधिष्ठिरले युयुत्सुको योग्यता विचार गरेर उनलाई योद्धाहरूका लागि हतियार एवं रसद आपूर्ति व्यवस्था मिलाउने प्रबन्धकका रूपमा नियुक्त गरे । पाण्डवहरूतर्फ ७ अक्षौहिणी सेना थिए । युयुत्सुले आफ्नो दायित्व जिम्मेवारीपूर्वक निर्वाह गरे अनि अभावहरू हुँदाहुँदै पनि पाण्डव पक्षलाई हातहतियार तथा रसदपानी कम हुन दिएनन् । यहाँनेर उल्लेखनीय के छ भने पाण्डव पक्षमा भोजनको व्यवस्था भने उडुपीको राजालाई दिइएको थियो ।

महाभारत युद्ध सुरु हुनुअघि पाण्डवहरूले आफ्नो सेनाको आधार शिविर कुरुक्षेत्रको पश्चिमी क्षेत्रमा सरस्वती नदीको दक्षिणी तटमा पर्ने समन्तपञ्चक तीर्थनजिक हिरण्यवती नदी (सरस्वती नदीको सहायक नदी) को किनारमा स्थापित गरेका थिए । कौरवहरूले कुरुक्षेत्रको पूर्वी भागमा त्यहाँबाट केही योजन टाढा रहेको एक समथर मैदानमा आफ्नो शिविर राखेका थिए । दुवैतर्फको शिविरमा सैनिकहरूका लागि भोजन तथा घाइतेहरूका लागि उपचारको राम्रो व्यवस्था थियो । हात्ती, घोडा र रथ आदिको छुट्टै व्यवस्था थियो । आधार शिविरस्थित हजारौं आश्रयस्थलहरू प्रत्येकमा प्रचुर मात्रामा खाद्य सामग्री, अस्त्रशस्त्र, यन्त्र एवं थुप्रै वैद्य तथा शिल्पीलाई तलब दिएर राखिएको थियो । दुवै सेनाका बीचमा युद्धका लागि छ योजन अर्थात् करिब ४५ किलोमिटरको घेरा अर्थात् ४५ वर्गकिलोमिटर क्षेत्र निर्धारण गरिएको थियो ।

महाभारत युद्धपछि बाँचेका १८ जना योद्धाहरूमध्ये युयुत्सु पनि एक थिए । युद्ध सकिएपछि महाराजा युधिष्ठिरले उनलाई आफ्नो मन्त्री बनाए । पाण्डवहरू सशरीर स्वर्ग जाने यात्रामा लाग्नुअघि उनीहरूले अर्जुनका नाति परीक्षितलाई राजा तथा युयुत्सुलाई राजाको संरक्षक बनाइदिए । धृतराष्ट्रको मृत्युपश्चात् युयुत्सुले नै दागबत्ती दिएर पुत्र धर्म निर्वाह गरेका थिए । वर्तमान समयमा भारत उत्तर प्रदेशको पश्चिमी तथा राजस्थानको पूर्वी भागमा बसोबास गर्ने जाट जातिका मानिसहरू युयुत्सुको वंशज हुन् भन्ने विश्वास गरिन्छ ।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.