add

९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक






ActPro Nepal

|

१४ असोज, २०८१

|
82

काठमाडौँ । आइतबार बसेको सर्वदलीय बैठकमा विपद्को घडीमा सरोकारवाला सबै हातेमालो गरेर उद्धार, राहत र पुनः स्थापनाका काममा जुट्ने निर्णय भएको छ।

कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकले यो सहित विभिन्न नौ वटा निर्णय गरेको हो।

कार्यबहाक प्रधानमन्त्री सिंहको सचिवालयले उपलब्ध गराएको निर्णयहरूको नौ नम्बर बुँदामा ‘विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा  उद्धार, राहत र पुनः स्थापनाका काम गर्ने’ विषय उल्लेख छ । 

यस्ता छन् नौ निर्णय 

१. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण जनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

२. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने ।

३. वर्षाका कारण गएको पहिरो र बाढीले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पु¥याउने ।

४. देशको राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठुलो रोकावट आई आवागमन अवरुद्ध हुन गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई आवागमन सुचारु गर्ने । यसै गरी ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत सम्भार गरी विद्युत् आपूर्ति र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सुचारु गर्ने । बाढी र पहिरोको कारण क्षतिग्रस्त भएका खानेपानी प्रणालीको मर्मत सम्भार गरी खानेपानी आपूर्ति गर्न खानेपानी मन्त्रालयले आवश्यक कार्य गर्ने ।

५. मौसममा क्रमिक सुधार आइरहेको भएता पनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितिमा जनस्वास्थ्यको सवाल अहम् हुने भएकोले विपद् पछिको महामारीको सम्भावनालाई न्यूनीकरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक दुवै विधि प्रयोग गरी प्रभावित क्षेत्रमा औषधी उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने ।

६. विपद्को चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको दसैँ, तिहार, छठ जस्ता पर्वहरूलाई समेत लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोगेका सामानहरू सुपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने ।

७. बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत् संरचना लगायत पूर्वाधार र कृषि तथा   पशुपन्छी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले सङ्कलन गरी पुनः निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाउने । 

८. बाढी पहिरोबाट घर वास गुमाएका पीडितहरूका पुनः स्थापनाका लागि राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा सहरी विकास मन्त्रालयले उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने ।

९. विपतको यस घडीमा सबै राजनीतिक दलहरू, तीनै तहको सरकार र निजी क्षेत्र समेतको समन्वयात्मक एवं एकीकृत प्रयासमा  उद्धार,राहत र पुनर्स्थापनाको काम गर्ने । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न सम्पूर्ण निजी क्षेत्र, आम नागरिक र संघसंस्थाहरूलाई अपिल गर्ने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.