add

कांग्रेस महाधिवेशन आजदेखि, दुवै पक्षलाई उम्मेदवार छान्न हम्मे- हम्मे






ActPro Nepal

|

२४ मंसिर, २०७८

|
504

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रवारदेखि काठमाडौंमा शुरू हुँदैछ । पटक–पटक सर्दै आएको कांग्रेसको महाधिवेशन निर्धारित मितिभन्दा एक वर्ष ढिलागरी हुन लागेको हो ।

शुक्रवार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहलाई कांग्रेस पदाधिकारी तथा प्रमुख दलका नेताहरूले सम्बोधन गर्नेछन् ।

महाधिवेशन उद्घाटनको अघिल्लो दिनसम्म पनि कांग्रेसमा उम्मेदवारको प्यानल बन्न सकेको छैन । उम्मेदवार छान्न संस्थापन र संस्थापन इतरलाई महाभारत भएको छ ।

संस्थापन पक्षले सभापतिमा शेरबहादुर देउवालाई उठाउने निर्णय गरेपनि अन्य पदाधिकारीको टुंगो लागेको छैन । महामन्त्रीका आकांक्षी धेरै हुँदा देउवालाई प्यानल बनाउन अप्ठेरो परेको छ ।

उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्कालाई व्यवस्थापन गर्ने तयारी भएपनि महामन्त्रीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई सकस परेको छ ।

महामन्त्रीका लागि गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की र पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महत मुख्य आकांक्षी देखिएका छन् ।

संस्थापन समूहबाट प्रवक्ता विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्यद्वय रमेश लेखक तथा एनपी साउदले पनि महामन्त्रीमा दाबी गरेका छन् ।

नेताको व्यवस्थापनका लागि सहमहामन्त्री थप गर्ने तयारी देउवा पक्षले गरेपनि रामचन्द्र पौडेलको विरोधका कारण सो प्रस्ताव बिहीवार केन्द्रीय समितिमा पेश हुन सकेन ।

यता संस्थापनइतर पक्षले सभापतिको नाम नै टुंग्याउन सकेको छैन । संस्थापन इतरबाट डा। शेखर कोइराला कि प्रकाशमान सिंह भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

सभापतिको साझा उम्मेदवार बनाउन भन्दै संस्थापन पक्षइतरका नेताहरूले सोमवारदेखि छलफल गरेपनि कुनै निष्कर्षमा पुग्न सकेका छैनन् ।

संस्थापन इतरमा पदाधिकारीभन्दा सभापतिको उम्मेदवार छान्न महाभारत छ ।

सभापतिको टुंगो नलागे पनि संस्थापन इतरबाट गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।

सभापतिका आकांक्षी सबै नेताको रोजाइमा परेका गगनले बिहीवार आफ्नो अवधारणापत्र सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

संस्थापन इतरबाट महामन्त्रीका लागि मीनेन्द्र रिजाल र धनराज गुरुङले पनि दाबी गरेका छन् ।

उपसभापतिका लागि चन्द्र भण्डारी र महेश आचार्यले दाबी पेश गरेका छन् । सभापतिको टुंगो लागेपछि मात्र अन्य पदाधिकारीको व्यवस्थापन गरिने संस्थापनइतर पक्षका नेताहरूले बताएका छन् ।

विगतमा संस्थापन पक्षमा रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । तर, उनले एक्लै उम्मेदवारी दिने या प्यानल बनाउने भन्ने अझै निर्णय गरेका छैनन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.