काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रम संकटमा पर्दै गएको भन्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई जिम्मेवारी लिन वा मार्ग प्रशस्त गर्न सुझाव दिएकी छन्।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले स्वास्थ्य बीमाको सीमा पाँच लाख पुर्याउने सपना बाँडे पनि अहिले कार्यक्रम नै धरासायी हुने अवस्थामा पुगेको आरोप लगाइन्। ‘स्वास्थ्य बीमाको दायरा पाँच लाख पुर्याउने महत्वाकांक्षी प्रतिबद्धता व्यक्त गर्ने मन्त्री आफैंले अहिले भुक्तानी गर्न नसकिने, बजेट अपुग भएको र स्वास्थ्य बीमा बन्द हुने स्थितिमा पुगेको भन्दै लाचार अभिव्यक्ति दिएको सुन्दा दुःख लाग्छ,’ उनले भनिन्।
उनले स्वास्थ्य बीमालाई अलपत्र पारेर केवल २६ देखि २८ प्रतिशत जनसंख्यामा सीमित राखिएको भन्दै आलोचना गरिन्। ‘स्वास्थ्य बीमा ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई कमजोर बनाउने प्रवृत्ति राम्रो होइन,’ उनले भनिन्।
सांसद कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन तथ्यांकगत अध्ययन, आवश्यक सुधार र दीर्घकालीन योजना आवश्यक रहेको बताइन्। ‘यदि उपयुक्त सल्लाह लिन सकिँदैन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला,’ उनले स्वास्थ्यमन्त्रीलाई सुझाव दिइन्।
स्वास्थ्य बीमाको सुधारमा सरकारको ध्यान नपुग्दा लाखौं नेपालीको स्वास्थ्य सुरक्षामा असर पर्ने देखिन्छ। सांसद कार्कीको भनाइले सरकारको स्वास्थ्य नीति र व्यवस्थापनको समिक्षा आवश्यक रहेको संकेत गर्छ।
यो पनि…
स्वास्थ्य बिमामा देखिएका विकृति हटाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल
प्रतिक्रिया