add

यो वर्ष धान उत्पादन अहिलेसम्मकै उच्च,५९ लाख मेट्रिक टन उत्पादन






ActPro Nepal

|

२० पुष, २०८१

|
157

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो ।

चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धान बाली लगाइएको क्षेत्रफल घटेको भए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्विले उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ । ‘वर्षे र चैते दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ । जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कमि हो,’ मन्त्रालयले भनेको छ, ‘औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टर पुगी हालसम्मको उच्च विन्दु कायम भएको छ ।’

चालु आर्थिक वर्षमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुन पुगेको र पर्याप्त वर्षा हुँदा उत्पादन बढेको जनाइएको छ । यस्तै, किसानले समयमा रासायनिक मल र उन्नत जातको बीउ पाएका कारण पनि उत्पादन बढेको मन्त्रालयको दाबी छ ।

प्रदेशगत रूपमा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्वि भएको छ भने बाँकी तीन प्रदेशमा कमी आएको छ । रुकुम (पश्चिम) मा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा घटेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नवलपरासी (पूर्व)को केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखिदा उत्पादनमा कमी आएको र लमजुङ जिल्लामा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादनमा कमी हुन पुगेको जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.