सङ्खुवासभा । सङ्खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो ।
यो वर्षको हालसम्म ३४ करोड ८५ लाख रुपैयाँको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केहीवर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ ।
‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सुन्तला जोन लागू भई कृषकलाई प्रोत्साहन कार्यक्रममार्फत सहयोग पुर्याएपछि उत्पादन बढ्दै जान थालेको हो । जिल्लामा गत वर्ष रु १९ करोड ९३ लाख ९१ हजारको सुन्तला बिक्री भएकामा यसवर्षको हालसम्म रु ३४ करोड बढीको कारोबार भइसकेको छ,’ प्रमुख यावदले भने ।
यो वर्ष जिल्लामा ३ हजार ४८५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साथै ११५ मेट्रिकटन किवी उत्पादन भएको छ ।
परियोजना कार्यान्वयन भएसँगै किसानलाई प्राविधिक सहयोग हुनुका साथै सुन्तलाका लागि उपयुक्त मौसम भएकाले पनि यसको उत्पादन बढेको प्रमुख यादवले बताए । उनका अनुसार जिल्लाभरि १ हजार १४८ हेक्टर खेतीयोग्य जमिनमध्ये ६२० हेक्टरमा सुन्तला उत्पादन हुने गरेको छ ।
उत्पादन भएको सुन्तला बगानबाट प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको छ । सङ्खुवासभाको मादी, खाँदबारी र चैनपुर नगरपालिकामा व्यावसायिक सुन्तला खेती हुने गरेको केन्द्रले जनाएको छ । यहाँ उत्पादित सुन्तला पूर्वी तराईका साथै काठमाडौँसम्म पुग्ने गर्दछ । रासस
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।