add

प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता






ActPro Nepal

|

२३ साउन, २०८१

|
85

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउन लागिएको जानकारी गराए।

प्रधानमन्त्री ओलीले विस्तृत शान्ति सम्झौताको मर्म, सर्वोच्च अदालतका आदेश, अन्तर्राष्ट्रिय अभ्यास र पीडितका विषयलाई केन्द्रमा राखेर बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढ्ने प्रक्रियामा रहेको बताए।

प्रधानमन्त्री ओलीले नेपाल र युनियनबीचको कूटनीतिक सम्बन्धको ५०औं वर्ष प्रवेशको स्मरण गर्दै नेपाल सन् २०२६ सम्ममा विकासशील र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने तयारीमा रहेकाले यसमा विकास साझेदारको सहयोग अपेक्षित भएको बताए।

लोकतन्त्र र मानव अधिकारको प्रत्याभूतिका प्रति नेपाल पूर्ण प्रतिबद्ध रही गरिबी निवारण र आर्थिक सामाजिक विकासमा क्रियाशील रहने उनले उल्लेख गरे।

राजदूत लोरेञ्जोले सरकारका प्राथमिकता र लक्ष्य सफलतामा पुगोस् भन्ने कामना गर्दै प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरिन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.