add

‘रामायण सर्किट’मा नेपालको भूमिका






ActPro Nepal

|

३० साउन, २०८०

|
417

नेपाल र भारतबीच युगौंयुगदेखि धार्मिक, साँस्कृतिक एवम् सामाजिक रूपबाट बहुआयामिक घनिष्ट सम्बन्ध रहिआएको छ । दुई देशबीचको आत्मीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउनमा खासगरी सामाजिक एवम् साँस्कृतिक सम्बन्धको ठूलो योगदान छ । यो प्राचीन कालदेखिको सम्बन्धलाई अरू प्रगाढ र मननीय बनाउन दुवै देशका सरकार, नागरिक, धार्मिक व्यक्तित्वहरू, बुद्धिजीवी, साहित्यकार, कवि एवम् कलाकारले पनि आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिनुपर्ने देखिन्छ । जति घनिभूत योगदान रह्यो त्यति नै यसको उत्तरोत्तर समृद्धि हुने आशा गर्न सकिन्छ । रामायण सर्किट वास्तवमा दुई देशबीचका नागरिकहरूलाई विभिन्न रूपले जोड्ने, सद्भाव बढाउने, नजिक्याउने साधन बन्न सकेमा नै यसको महत्व थप उजागर हुनेछ ।  

सन् २०१४ यता नेपाल र भारतमा रहेका साँस्कृतिक महत्वका सम्पदा एवम्  तीर्थस्थलहरूलाई के–कसरी संरक्षण, सम्वद्र्धन गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ, त्यस विषयमा पहिलेभन्दा केही बढी पहल हुन थालेको छ । यसो हुनु  सुखद् पक्ष हो । हिजोआज चर्चामा आउने गरेको रामायण एवम् बुद्धिस्ट सर्किटको निर्माणले दुई देशबीचको सुसम्बन्धलाई अभिवृद्धि गर्न मद्दत पु¥याउने छ । साथै, एकअर्को देशका नागरिकहरूलाई भ्रमण गर्ने, हेर्ने, घुम्ने एवम् जीवनमा एक पटक पुग्नै पर्ने ठाउँको रूपमा धार्मिक स्थलको विकास गर्न खोजिनुको अन्तर्य मानिसको अन्तरआत्मालाई सुख, शान्ति र आनन्द दिलाउन खोज्नु हो । अन्ततोगत्वा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याई आर्थिक समृद्धिको मार्ग तयार पार्नु पनि यसको उद्देश्य हो भन्ने बुझ्न गाह्रो पर्दैन । हिजोका दिनमा नजानेर मठ÷मन्दिर, स्तूप÷विहारको भ्रमण भनेको तीर्थयात्राका लागि मात्र हो भन्ने पुरानो संकुचित सोचाइलाई बहुआयामिक ढंगले समय सापेक्षित रूपमा सोच्न कञ्जुसाइँ गर्न हुन्न भन्ने सन्देश पनि प्रकारान्तरले दिइरहेको महसुस हुन्छ ।  

यद्यपि, संविधानतः दुवै देश धर्मनिरपेक्ष भए पनि यहाँको जीवनपद्धतिमा हिन्दु एवम् बौद्ध धर्म÷संस्कृतिको गहिरो तथा व्यापक प्रभाव छ । धर्मनिरपेक्षको अर्थ सरकारले धर्मको लागि केही गर्नै हुन्न भन्ने नभई सर्वधर्म सद्भाव रहोस्, कुनै एउटा धर्मको लागि मात्र राज्य नलागोस् भन्ने दुवै देशको संविधानको उद्देश्य रहेको छ । त्यसैअनुरूप यसलाई आगामी दिनमा के–कसरी अरू फलदायी बनाउन सकिन्छ  त्यसमा समूचित दृष्टि दिनु जरुरी छ । यद्यपि, भन्नै पर्ने हुन्छ ‘धर्मनिरपेक्ष’ शब्द नेपालको संविधानमा पनि रहनु दुर्भाग्य हो । जे होस्, दुवै देशमा हिन्दु धर्म मान्ने जनसमुदायको अधिकता छ भने त्यहाँ धर्मसापेक्ष र धर्मनिरपेक्षको बहस जरुरी छैन । किनभने जुन देशमा जुन धर्ममा आस्थावान्हरू अधिक छन् त्यहाँ स्वतः त्यस धर्मको संस्कृति, परम्परा, सम्पदाहरूको जोगाडमा सबैको जोडबल ज्यादा हुने गर्छ । धर्म÷संस्कृतिभित्रको धरोहरको रूपमा रहेको मूर्त÷अमूर्त सम्पदाहरूलाई जोगाउन कुनै पनि पक्षको भेद नगरीकन समान अवसरहरू दिएर संरक्षण, सम्वद्र्धन एवम् प्रवद्र्धनमा लाग्दा नै सम्पदाहरूलाई जीवन्त राख्न मद्दत पुग्छ । त्यसो हुँदा यस विषयमा वादविवाद गरिरहनु जरुरी छैन । केचाहिँ बुझ्नुपर्छ भने, यसैको नाउँमा अरू धर्मावलम्बीहरूको आस्था÷विश्वास एवम् सम्पदाहरूलाई तिरस्कृत गर्ने, चोट पु¥याउने काम गर्नु कदापि उपयुक्त हुन्न । 

 रामायण सर्किटको प्रस्ताव 

भारत सरकारले आफ्ना १५ वटा धार्मिक स्थललाई जोड्ने संकल्पसहित तयार पारेको ‘रामायण सर्किट’ अवधारणामा नेपालको जनकपुर पनि समेटिएको छ । यही कारण यो विषय नेपालसँग पनि जोडिन आइपुगेको हो । सीता नेपालकी सुपुत्री हुन् । उनको जन्म जनकपुरमा अलौकिक रूपले भएको विश्वास गरिन्छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्नु नै ‘रामायण सर्किट’ को अवधारणा हो । रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि सीतासहित अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थलको विकासमा महत्वपूर्ण मानिएको यो सर्किटको शुभारम्भको संकेतको रूपमा दुई देशका प्रधानमन्त्रीले जनकपुरमा सन् २०१८ को मे ११ को दिन जनकपुर÷अयोध्या, अयोध्या÷जनकपुरबीच चल्ने गरी बससेवा सञ्चालनको उद्घाटनलाई लिन सकिन्छ ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१४ मा भएको नेपाल भ्रमणका क्रममा जनकपुर र अयोध्यालाई जोड्ने सहमति भएअनुसार भारतले ‘रामायण सर्किट’ जनकपुरसम्म विस्तार गर्न लागेको देखिन्छ । राष्ट्रिय तथा अन्तार्राष्ट्रिय पर्यटकहरू तान्ने उद्देश्यले भारतले सन् २०१४÷१५ को बजेटमै ‘रामायण सर्किट’को अवधारणा प्रस्ताव गर्दै भारत, नेपाल र श्रीलंकाका राम र सीतासँग सम्बन्धित धार्मिक स्थललाई जोड्ने योजना सार्वजनिक गरेको थियो । 

प्रस्तावित रामायण सर्किटमा राम र सीता नेपाल र भारतको जुनजुन ठाउँमा पुगे, ती स्थलहरूलाई पवित्र मानी त्यहाँ समयसापेक्ष विकास गर्दै पर्यटकीय क्षेत्रका साथै धार्मिक आस्थावान्हरूको लागि तीर्थस्थलको रूपमा विकास गर्ने लक्ष्यसाथ यो प्रस्ताव आएको देखिन्छ । त्यसमा नेपालको एक ठाउँ जनकपुर मात्र परेको छ भने भारतको चाहिँ १५ स्थान–अयोध्या, श्रृंगवेरपुर, चित्रकुट, सीतामढी, दरभंगा, बक्सर, मध्यप्रदेशको चित्रकुट, नन्दीग्राम, महेन्द्रगिरी, जगदलपुर, भद्राचलम, हम्पी, नासिक, नागपुर र रामेश्वर आदि तीर्थस्थल समेटिएको छ । यसले करिब ६५० किलोमिटर सडकमार्गलाई ओगट्ने बताइएको छ । राम र सीताको सम्बन्ध श्रीलंकासँग पनि जोडिएको हुनाले श्रीलंकालाई समेत समावेश गर्नुपर्छ भन्ने आवाज उठ्दै गरेको सन्दर्भमा भविष्यमा रामायण सर्किटमा त्यो देश पनि जोडिने सम्भावना छ ।  

रामायण सर्किटको विषयलाई प्रोत्साहन दिनुको अर्थ अरू धर्म÷संस्कृतिलाई वेवास्ता गर्ने भन्ने नसम्झीकन बरु यो सर्किटको समयानुकूल उन्नति र प्रगतिको प्रेरणाले अरू धार्मिक÷साँस्कृतिक पहिचानहरूलाई उत्प्रेरित गरोस् भन्ने पनि हो । नेपाल÷भारतबीचको सम्बन्धलाई राजनीति एवम् कूटनीतिको आँखाले मात्र नहेरी यसलाई अरू व्यापक तुल्याएर समग्र देशको विकास एवम् उन्नतिमा जोडेर स्वीकार्य हुने गरी अघि बढ्ने मार्गदर्शनको रूपमा पनि हेर्नु जरुरी छ । 

भारतका प्रधानमन्त्री मोदीले ‘पशुपति÷काशी’ र ‘जनकपुर÷अयोध्यालाई’ जोड्ने राजमार्गको निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरिसकेको अवस्था छ । काठमाडौं÷बनारसबीच एकआपसमा भगिनी सम्बन्धको सम्झौताले भविष्यमा दुवै देशबीच पर्यटकीय विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गर्न सकिन्छ । ‘रामायण सर्किट’ को निर्माणमा भारतीय प्रधानमन्त्री मोदीले एक सय करोडको लगानीको प्रत्याभूति पनि सन् २०१८ को मे ११ मा जनकपुरमा रामायण सर्किटकै अंग मान्न सकिने जनकपुर÷अयोध्या बस सञ्चालनको उद्घाटनको बेला घोषणा गरिसकेको अवस्थाले भारतको केन्द्र सरकार यसप्रति सकारात्मक छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।  

जनकपुरमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका समकक्षी मोदीले एक भव्य कार्यक्रमबीच संयुक्त रूपमा जनकपुरमा उद्घाटन गरी प्रस्थान गराएको बसलाई उत्तर प्रदेश सराकारका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यामा भव्य स्वागत गरेबाट प्रदेश सरकार पनि रामायण सर्किटप्रति उदासिन छैन भन्ने सन्देश दिएको देखिन्छ । यसप्रकार, जनकपुर र अयोध्याबीचको प्राचीन सम्बन्धलाई नजिक्याउन रामायण सर्किट उपयोगी हुन सक्ने देखिन्छ । मात्र यसको कार्यान्वयन कसरी ? कुन रूपले हुन्छ ? भन्ने कुराचाहिँ महत्वपूर्ण छ ।  

त्यसभन्दा पनि बढी आफैले जनकपुर÷अयोध्याबीच बस सेवाको उद्घाटन गरेका ओलीले पछिल्लो पटक रामको जन्म अयोध्यामा भएको नभई नेपालको माडीमा भएको भन्ने विवादास्पद कुरा गरेका थिए । उनले रामको मूर्तिसमेत काठमाडौंमा पूजा गरी माडीमा स्थापना गर्न पुगेको घटनालाई हेर्दा नेपालको लागि रामायण सर्किटको औचित्य अझै छ या छैन सरकारी पक्षबाट आधिकारिक विचार अझैसम्म नआएकोले ‘रामायण सर्किट’ नेपालको सन्दर्भमा अन्योलमा छ भन्नु पर्ने अवस्था सृजना हुन पुगेको छ ।

  रामायण सर्किटका लागि पहल 

भारत सरकारको सहयोगमा उत्तर प्रदेश सरकारले चार लेनको रामजानकी राजमार्ग निर्माण सुरू गरिसकेको कुरा पनि मिडियाहरूमा आएकोले जनकपुर÷अयोध्या, ‘जनकपुर÷लखनउ’ एवम् ‘जनकपुर÷नयाँ दिल्ली’ बीचको दूरी पनि कम हुँदै जाने आशा गर्न सकिन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले सीताविना राम अधुरो रहेजस्तै जनकपुर र अयोध्याबीच नङ र मासुको जस्तो सम्बन्ध रहेकाले यसलाई विश्वकै सर्वश्रेष्ठ संस्कृतिको उदाहरणको रूपमा लिन सकिने’ धारणा व्यक्त गरेको देख्दा रामायण सर्किटप्रति भारतको प्रतिबद्धता अहिलेको लागि सकारात्मक नै देखिएको छ । तर कुनै पनि विषयलाई राजनीति गर्ने माहोलले वर्तमान समयलाई गाँजेको सन्दर्भमा यस विषयलाई जति सक्दो छिटो पूर्णतातिर पु¥याउन नेपाल सरकारको पहल जरुरी छ । 

पर्यटनको क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएको क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रम र गतिविधि बढाउन त्यसबेला दुवै देशबीच भएका १४ बुँदे सहमतिलाई कोशेढुंगाको रूपमा लिन सकिन्छ । त्यस सहमतिमा पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन लक्ष्यका साथ योजनाबद्ध तवरले अगाडि बढ्ने कुरा उल्लेख भएकोले त्यसको इमानदारीपूर्वक परिपालना दुवै सरकारको तर्फबाट हुनु पनि त्यत्तिकै जरुरी छ ।  

नेपालको तर्फबाट ‘रामायण सर्किट’ को प्रवद्र्धनको लागि खास कुनै किसिमको पहल भएको थाहा पाइएको छैन । एकपछि अर्को विवादास्पद कार्यहरू नै रामायण सर्किटको विषयमा अन्योल हुनुको प्रमुख कारण हो । जनकपुर÷अयोध्याको बीचमा नेपालभूमिमा सीता–रामसँग जोडिएका धेरै स्थान छन् । तिनको पहिचान गरी जतिजति उल्लेखनीय र महत्वपूर्ण स्थान छन्, त्यहाँ धार्मिक पर्यटनको लागि आवश्यक पर्ने बाटो, धर्मशाला, व्यवस्थित शौचालयका साथै धार्मिक क्षेत्रको मर्मत, सम्भार, संरक्षण, सम्वद्र्धन गर्न सकिए पर्यटकका लागि आकर्षक स्थल बन्ने देखिन्छ । 

नेपालले गर्नुपर्ने पहल 

‘रामायण सर्किट’ को सम्बन्धमा भारततर्फको तयारी धेरै देखिए पनि नेपालतर्फ यस विषयमा अन्योल र अस्पष्टताको अवस्था छ । यसको लागि सबैभन्दा पहिले त नेपाल सरकारले आफूले रामायण सर्किटको क्षेत्रमा के गर्ने हो ? के गर्ने इच्छा छ ? त्यस विषयमा कमसेकम अब निक्र्योल गरिहाल्नुपर्ने अवस्था छ । नेपाल सरकारको तर्फबाट यस विषयमा कुनै प्रस्ताव तयार भएको भए देशको हितलाई सर्वोपरि राखी चाँडोभन्दा चाँडो सरकारको भूमिका, योजना र बजेट सार्वजनिक हुनु जरुरी छ । घोषित योजनाअनुसार बजेटको व्यवस्था प्रदेश सरकार र केन्द्र सरकारले गरी आ–आफ्नो काम अगाडि बढाउँदै जानु नितान्त आवश्यक भइसकेको छ । 

नेपालतर्फको जनकपुर तथा बाटोमा पर्ने यससँग सम्बन्धित अन्य स्थलहरूको पहिचान गरी त्यहाँ गर्नुपर्ने न्यूनतम सर–सुविधा विकासदेखि लिएर सडक–बाटोको पहुँचको लागि क्रमैसँग बजेटको व्यवस्था गर्नु पनि त्यत्तिकै आवश्यक छ । 

जनकपुरबाट अयोध्या जाने क्रममा नेपालको तराई एवम् पहाडी क्षेत्रमा भएका राम–सीतासँग सम्बन्धित सम्भावित स्थलहरूको पहिचान गरी ती क्षेत्रलाई पनि यसभित्र समेट्न सकिएको खण्डमा अझ व्यापकता पाउने देखिन्छ । 

जनकपुर क्षेत्रको विकासको लागि छुट्टै परिषद् गठन भइरहेको सन्दर्भमा त्यो संस्थासँग नबाझिने गरी के कसरी कार्य अगाडि बढाउने हो ? त्यस विषयमा पनि दोहोरोपन नआउने गरी काम अगाडि बढाउनु आवश्यक छ ।  

उपसंहार 

‘रामायण सर्किट’ अन्तर्गत जनकपुरमा भएका संवद्र्धन तथा संरक्षण गर्नुपर्ने सम्पदाहरूको सूची र तिनको कार्यान्वयनको लागि समय तथा बजेटको व्यवस्था गर्दै कार्यान्वयन गर्ने निकायको किटान गर्नु पनि त्यत्तिकै आवश्यक छ । तराई क्षेत्रमा विकास निर्माणका कार्यहरूको ढिलाइ तथा अलमल हुने गरेका विगतका उदाहरणबाट पनि यसको सफल कार्यान्वयनको लागि कुन निकाय उपयुक्त हुन्छ, तोकिनु जरुरी छ । जनकपुरमा समयसापेक्ष ढंगले परिलक्षित समुहको लागि धर्मशाला, अतिथि गृह, धार्मिक कृत्य गर्ने स्थलहरूको निर्माण, वर्षभरि त्यहाँ सम्पन्न गरिने क्रियाकलापका लागि भएका विभिन्न स्थलको स्याहार–सम्भार तथा उपयुक्त किसिमले सौन्दर्यीकरण गरिनुपर्छ । साथै, सुविधासम्पन्न निजी होटलहरूको निर्माणका लागि स्थान चयनदेखि लिएर रामायण सर्किटअन्तर्गतको स्थलको किटान पनि जरुरी छ । यसका लागि चाँडोभन्दा चाँडो गुरुयोजना तयार गर्नु आवश्यक छ । त्यही गुरुयोजनाले निर्दिष्ट गरेबमोजिमका कार्यहरूलाई कमसेकम १० वर्षभित्र सक्ने गरी योजना, कार्यक्रम एवम् बजेटको व्यवस्था गर्नु उपयुक्त हुन्छ । यसैगरी, जनकपुरबाहिर पर्ने स्थलहरूको पहिचान जतिसक्दो चाँडो गर्न एउटा अध्ययन समितिको गठन गरी त्यसको सिफारिशअनुसार अगाडि बढ्नु पनि त्यत्तिकै जरुरी छ । जनकपुरमा परम्परागत रूपमा भएका मूर्त÷अमूर्त सम्पदाहरूको जोगाडका साथै त्यहाँ भएका गुठी जग्गाको संरक्षण, संवद्र्धन गर्नु आवश्यक छ । त्यसका लागि निर्दिष्ट गुरुयोजनाको माध्यमबाट साँच्चिकै प्राचीन मिथिलाको केन्द्रस्थली जनकपुर नै हो भनी देखाउन गर्नुपर्ने काम प्रशस्त छन् । समयमै केन्द्र, प्रदेश एवम् स्थानीय सरकारका साथै सम्बन्धित क्षेत्रका विज्ञ, विद्वान् व्यक्तिहरूको योगदान पनि त्यत्तिकै आवश्यक छ । यसलाई कुनै हालतमा ढिलो गर्नु हुँदैन । 

संस्कृतिविद् डा.गोविन्द टण्डन

यो लेख नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक जर्नल ‘अर्थचित्र’बाट साभार गरिएको हो ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.