add

प्रभु बैंकका कुशल सारथी अशोक शेरचन र उनको बैंकिङ अनुभव






ActPro Nepal

|

१३ वैशाख, २०८०

|
565

अशाेक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक 

प्रभु बैंक लिमिटेडमा तेस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरिरहेका व्यक्ति हुन् अशोक शेरचन । बैंक सञ्चालन समितिको गत माघ ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई पुुनः आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । २०७९ पुस मसान्तसम्म मर्जरमा जाने बैंकका सिइओलाई पुनः सिईओ बन्न दिने सुविधा मौद्रिक नीतिले दिएको थियो । त्यही नीतिमा टेकेर शेरचन तेस्रो कार्यकालका लागि प्रभु बैंक लि.को सिईओ बने ।  गत पुस अन्तिम साता मात्रै प्रभु बैंक लि. र सेञ्चुरी कमर्सियल बैंक मर्जर तथा प्राप्ति भई एकीकृत कारोबार सुरु गरेका थिए ।

सन् १९९५ सालमा नेपाल बंगलादेश बैंक लि.बाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव रहेको छ । उनी नेपालमा सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बन्न सफल भएका थिए ।

शेरचनको व्यक्तिगत जीवनी

शेरचन थकाली अन्तरगतको एउटा थर हो । थाकखोलाबाट झरेका कारण उनीहरुलाई थकाली भन्ने गरेको पाइन्छ । अधिकांश थकाली प्रायः आफ्नो परम्परागत पेशामा नै रमाएका छन् । स्वादिलो खाना खुवाउने भएकाले सानो समुदाय भएपनि उनीहरुको आफ्नै शान र नाम नेपालभर छरिएको छ । देशभरी थकालीको जनसंख्या १० हजार हाराहारी होला ।

भूपि शेरचनले नेपाली साहित्यका माध्यमबाट देश विदेशमा चिनाएको मुस्ताङको थाकखोलालाई थकालीको पुस्तौनी थलोको रुपमा चिनिन्छ । होटल व्यवसायमा रमाउन नसक्ने थकालीहरू लाहुर जान्छन् र प्रशस्त पैसा कमाउछन् । सामूहिक भावनामा बाँच्न चाहने थकाली समुदायहरुले विगत लामो समयदेखि ढुुकटी खेले र आर्थिक रुपमा सबैलाई सबल बनाउने लक्ष्यसमेत राख्दै आएका छन् । केहीले यसलाई अवैध पनि मानेका छन् । ग्रामीण अर्थतन्त्रको विकासमा त्यसले महत्वपूर्ण योगदान दिएको छ । एकाधबाहेक धेरै जसो थकाली आर्थिक रुपमा सम्पन्न छन्, लाहुरे हुने र होटल व्यवसाय गर्न छाडेर अन्य पेशामा रमाउन खोज्ने थकाली कमै भेटिन्छन्, ती मध्येका एक हुन् अशोक शेरचन । लाहुरे हुने मोह त्याग्दा बैंक तथा वित्तीय संस्थाको प्रमुख हुने अवसर उहाँलाई समय र माग्यले मिलायो । विसं २०२९ सालमा बागलुङमा जन्मिएका अशोकलाई शंकरदेव क्याम्पसमा पढ्न आउनु नै सफलताको पहिलो खुड्किलो बनेको थियो । बागलुङ बजार आफैँमा राम्रो, सुन्दर र मेहनेती जनताको वसोबास भएको शहरका रूपमा परिचित छ। उत्तरतिर देखिने धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रेको छायाँले पनि धेरैलाई सफल बन्न प्रेरित गरिरहेको छ । शंकरदेवमा व्यवस्थापन विषय पढ्न बागलुङबाट काठमाडौँ हान्निएका शेरचन लामो समय देखि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गर्दै आउनुभएको छ । राष्ट्र बैंकका उच्च तहका कर्मचारी गोविन्दबहादुर थापा नाताले उहाँका सानाबा हुनुहुन्थ्यो । कालीगण्डकी तरेर काठमाडौंमा युवालाई बैंकर बन्न सुझाउने र प्रेरणा दिने उनै सानाबा थापा हुनुहुन्थ्यो । नेपाल बंगलादेश बैंकमा सन १९९५ मा जागिर खुलेको थियो । खाने कि नखाने एउटा प्रश्न भने मनमा द्विविधाको रूपमा उभिएको थियो । तलब मात्र चार हजार तीन सय थियो । परीक्षाका सबै चरण पूरा गरेर उहाँ बैंकिङ क्षेत्रमा प्रवेश गर्नु भएको थियो । तत्कालिक एनबि बैंकका सिईओ नरेन्द्र भट्टराईले उहाँलाई बैंकिङ सिकाउनुभएको थियो । सानाबाको प्रेरणाले निजी बैंकमा जागिर खान पुग्नु भएका अशोक शेरचन अहिले सक्षम र सवल बैंकरको रुपमा स्थापित हुनुहुन्छ । ‘मेरो जागिर खाने कुरा त थिएन, तर अकस्मात बैंकको जागिरे भइयो । विदेश गएको भए राम्रै कमाइ हुन्थ्यो होला भन्ने शुरुमा त लाग्थ्यो । किनकि सेवा सुविधाका हिसाबले आकर्षक क्षेत्र थिएन यो’ उहाँले विगत सम्झदै भन्नू भएको छ । प्रभु फाइनान्सबाट शुरु भएको वित्तीय क्षेत्रको व्यवसाय यतिबेला प्रभु बैंकमा परिणत भएको छ । त्यसका पछाडि मेहनत, प्रतिवद्धता अनि लगनशीलताले राम्रो काम गरेको छ । कुनै बेलाको सबल र सक्षम संस्थाको रुपमा चिनिएको ‘क’ वर्गको वाणिज्य बैंक किष्ट बैंक समस्यामा प¥यो । सम्हाल्न प्रभु समूह नै आइपुग्यो । यस्तै अर्को ग्राण्ड बैंक समस्याको भूमरीमा फस्यो, समाल्ने जिम्मेवारी प्रभु समूहले नै पायो । समस्यामा परेका बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभेर ठूलो संस्था बनाउने प्रेरणाले काम ग¥यो । समस्या भएकालाई लिँदा राम्रो गर्ने प्रेरणा मिल्दो रहेछ । राम्रा त राम्रा नै भए । नराम्रालाई राम्रो बनाउन सजिलो हुँदो रहेछ, प्रमुख कार्यकारी अधिकृत शेरचनले भन्नु हुन्छ–‘बैंक तथा वित्तीय संस्था गाभ्दा सकारात्मक र नकारात्मक दुवै प्रकारको परिणाम प्राप्त हुँदो रहेछ ।’ समस्यामा फसेका संस्था उद्धार गर्दागर्दै सबल संस्थाको रुपमा प्रभु बैंक स्थापित भएको हो ।

निजी क्षेत्रको अग्रणी बैंकको रुपमा स्थापित प्रभु बैंकले डोल्पा र हुम्लालगायत कर्णालीमा समेत शाखा विस्तार गरेर राज्यको आँखाभन्दा पर परेका दूर्गम बस्तीलाई राजधानीसँग जोडेको छ ‘सबै काम राज्यले मात्रै गर्छ भनेर सोच्नु पनि भएन, हामीले पनि केही न केही योगदान त गर्नैपर्छ, एकले थुकी सुकी, सयले थुकी नदी भन्ने त हाम्रो लोकोक्ति नै छ नी !’ उहाँले भन्नु भयो । नेपालको बैंक तथा वित्तीय संस्था गाभ्नेमा प्रभु बैंक अग्रणी संस्थाको रुपमा स्थापित छ । समस्यामा फसेका, झण्डै–झण्डै अस्तित्व नै सकिन लागेका संस्थालाई प्राण भरेर, नयाँ जीवन दिएर, ती संस्थाका लगानीकर्ता बचाउने संस्थाको रुपमा अग्रपंक्तिमा नाम आउँछ, प्रभु बैंकको । समस्यामा फसेका बैंक तथा वित्तीय संस्थालाई लिँदा कसरी राम्रो गर्ने भन्ने छट्पटिले काम गर्दोरहेछ ।

समस्यामा फसेर प्रभुले जिम्मा लिएको तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको डुबेको ऋण उठाउन शेरचन आक्रामक रुपमा लाग्नुभयो । ‘हामीले खराब ऋणीलाई समय दियौं, उनीहरुसँग छलफल गर्याै, सम्झौता पनि ग¥यौं । सधैँ त्यसरी सुविधा दिन सकिँदैन भन्ने निष्कर्षमा हामी पुगेका छौं’ शेरचनले भन्नुभयो । प्रभु बैंकले अब रणनीति बदलेको छ । धमाधम पूराना डुबेको र बिग्रिएका ऋण उठेका छन् । अहिले खराव कर्जा धेरै छैन प्रभु बैंकमा । अशोक शेरचन बैंकिङ क्षेत्रमा परिचित नाम हो तर, यतिमा मात्रै उनको परिचय सीमित रहँदैन । उनी एक भर्सटाईल व्यक्तित्व पनि हुन् । अझै भन्नुपर्दा शेरचन लेखक, गीतकार र कवि पनि हुन्ुहुन्छ ऊहाँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएका शेरचनको दैनिकी हरेक दिन बैंकमा नै बित्ने गरेको छ । समय पाउनासाथै उहाँ लेखपढ गर्न मन पराउनु हुन्छ । साथै उहाँ सामाजिक कार्यमा पनि निकै सक्रिय हुनुहुन्छ । २०७७ सालको लकडाउनको दिक्दारीपूर्ण समयमा केही खुसीको सञ्चार गराउन उहाँले २०७७ बैशाख १ गते नयाँ बर्षको अवसर पारेर नयाँ गीत रिलिज पनि गर्नु भएको थिया । त्यो गित निकै हिट पनि भयो । यस हिसावले उहाँ एक रचनाकार र गितकार पनि हुनुहुन्छ ।

तत्कालिन प्रभु फाइनान्सपछि स्तरोन्नती भई प्रभु विकास बैंक लिमिटेड बनेपछि पनि उहाँले नै विकास बैंकको सीईओको जिम्मेवारी पाउनुभएको थियो । प्रभु विकास बैंकमा जेनिथ फाइनान्स लि., गौरीशंकर डेभलपमेन्ट बैंक लि. र किस्ट बैंक लि.लाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ हुनुभएको थियो । आठ वर्षअघि प्रभु विकास बैंक र किष्ट बैंक लि. मर्जर भएर प्रभु बैंक लि. भएपछि पनि उहाँ नै सीईओ बन्नु भएको थियो । यसैगरि खराव कर्जाले समस्यामा रहेको ग्राण्ड बैंक लि. पनि प्रभू बैंकले प्राप्ति गरेको थियो । यसै क्रममा प्रभु बैंकमा २०७९ माघ १८ देखि उहाँको तेस्रो कार्यकाल सुरु भएको छ । शेरचन प्रभु फाइनान्सको स्थापनाकाल अर्थात विगत १६ वर्षदेखि सिइओ हुनुहुन्छ । शंकरदेव क्याम्पस पुतलीसडकबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नु भएका शेरचन बैंकिङ, मौद्रिक, वित्तीय, अर्थशास्त्र र व्यवस्थापनका क्षेत्रमा एक योग्य, सक्षम, अनुभवी र जोखिम मोल्न सक्ने सिईओ हुनुहुन्छ । त्यही भएर उहाँले किष्ट बैंक, ग्राण्ड बैंक र अहिले सेञ्चुरी कमर्सियल बैंक जस्ता खराव बैंकसँग मर्जर गरेर छोटो समयमै कुशस, सबल, सफल र सुशासनयुक्त बैंकका रूपमा विकसित बनाउन सफल हुनु भएको छ । बैंक मर्जर सम्बन्धमा कुरा गर्दै बैंकका डेपुटी सिईओ मनोज न्यौपाने भन्नुहुन्छ, “आगामी दिनमा प्रभु बैंक थप सशक्त बन्ने छ, बिग मर्जरले छुट्टै सिनर्जी पैदा गरेको छ, यसले बैंकलाई थप सशक्त र सुदृढ बनाउनेछ, मर्जरपछि बैंक अझ शसक्त हुनेछ, बैंक ठूलो बनेपछि देशलाई आर्थिक रुपान्तरण गर्नका लागि सहयोग पुग्नेछ, थप सुदृढ बैंकिङ कारोबार गरेर अघि बढिनेछ, अन्तर्राष्ट्रिय प्रविधि भित्राएर औद्योगिक विकासमा योगदान गर्ने गरी काम गर्नेछौँ ।’

मर्जरपछि बैंकको सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला, सञ्चालक सदस्यहरूमा रमेशसिंह खड्का, मनबहादुर राई, शंकरप्रसाद कालिकोटे, गिता प्रधान, रामेश्वर शापकोटा, अभिषेक बज्राचार्य रहनु भएको छ । व्यवस्थापनतर्फ सीईओ अशोक शेरचन, डेपुटी सीईओमा सेञ्चुरी बैंकका तत्कालीन सिईओ मनोज न्यौपाने रहनुभएको छ । सेञ्चुरी कमर्सियल बैंकसँगको मर्जरपछि हाल प्रभु बैंक कर्जा प्रवाहका हिसावले सातौँ, निक्षेपका हिसावले छैटौँ, कुल सम्पत्तिका हिसावले छैटौँ र चुक्ता पुँजीका हिसावले पाँचौ ठुलो वाणिज्य बैंक बनेको छ । यस बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब रूपैयाँ पुगेको छ । त्यस्तै चुक्ता पुँजी २३ अर्ब रूपैयाँ भन्दा बढी पुगेको छ भने कुल निक्षेप २ खर्ब ८४ अर्ब रूपैयाँ र कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब रूपैयाँ पुगेको छ । हाल बैंकको देशभरमा ३६५ वटा शाखा कार्यालय रहेका छन् भने एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी पुगेको सो बैंकले जनाएको छ ।

यसपटक ठूला बैंकहरूमा अर्को बैंकसँग मर्जरमा गएर वा प्राप्ति गरेर थप बलियो बन्ने प्रतिस्पर्धा जस्तै देखियो । बैंकहरूको लागत बढ्दै गएको र स्वस्थ प्रतिपर्धामा समेत आशंका गरिएको बेलामा गत पुस महिनामा मात्र ८ वटा बैंकहरू मर्जरमा गएका थिए । फागुन महिनामा थप ४ वटा बैंक मर्जर तथा प्राप्तिमा गए । पुस र फागुनमा गरी १२ वटा बैंक ६ वटामा झरेका छन् । नेपालको बैंकिङ क्षेत्रमा एउटा फरक परिचय बनाएको प्रभु बैंकले गत पुसमा सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्तिपछि एकीकृत कारोबार सुरू गरेको छ । यसलाई समृद्धिको नयाँ आयामका रूपमा लिइएको छ । प्रभु बैंकले ‘अझ सुदृढ अझ सबल’ भन्ने नाराका साथ एकीकृत कारोबारको सुभारम्भ गरेको थियो । यसअघि सञ्चालमा रहेका २७ वाणिज्य बैंक फागुन महिनाभित्र २० वटामा झरिसकेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.