add

म राष्ट्रपति भए सडकमा निस्कँदा जाम र उडानमा आकाश अवरुद्ध हुने छैन






ActPro Nepal

|

१९ फागुन, २०७९

|
647

काठमाडौं । राष्ट्रपति सडकमा निस्क्यो कि तामझाम हुन्छ ।  सडक खाली गरेर हुने सवारीमा जनताले सास्ती खेप्नुपर्छ । तर, राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ राष्ट्रपति शीतल निवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँछन् । आफू निर्वाचित भए 'सडकमा निस्कँदा जनताले जाम र उडानमा रहँदा आकाश अवरुद्ध नहुने' उनी बताउँछन् । 'अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ,' उनी भन्छन् । प्रस्तुत छ नेकपा एमाले नेतासमेत रहेका राष्ट्रपति उम्मरेदवार नेम्वाङसँग राससका नारायणप्रसाद न्यौपाने र भीष्मराज ओझाले गरेको कुराकानीको सम्पादित अंश : 

 राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । मतदाता कहाँ के-कस्ता कार्ययोजना बोकेर पुगिरहनुभएको हो ?

मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरेँ, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२/६३ को आन्दोलनपछि सर्वसम्मतिले  सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु ।

एमालले तपाईंलाई नै किन राष्ट्रपतिको उम्मेदवार बनायो ?

राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवर्द्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस  अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित गर्‍यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ ।

सभामुख र संविधानसभा अध्यक्ष हुँदा नै म परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ ।

राष्ट्रपति आलङ्कारिक पद हो, तपाईं एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ?

त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्काे दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु “म अलरेडी टेस्टेड व्यक्ति हुँ । मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ ।

पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई कसरी नियाल्नुभएको छ ?

राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ ।

आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छन् त ?

सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवर्द्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी गर्‍यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ ।

 राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा जनताले सहजता महसुस गर्नुपर्छ ।

विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई कसरी लिनुहन्छ ?

यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, 'हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छाैँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।' कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् ।

आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ?

अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छौँ । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।

नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ?

राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र  एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु ।

अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ?

उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.