add

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशतमा सिमित






ActPro Nepal

|

२ पुष, २०७९

|
494

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा रु चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस अवधिमा सरकारको पुँजीगत खर्च करिब नौ प्रतिशत बराबर मात्रै देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारको पुँजीगत खर्च रु ३३ अर्ब ९९ करोड १६ लाख बराबर छ ।

चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजाबर बजेट छुट्याएको छ । हालसम्मको पुँजीगत खर्च आठ दशमलव ९४ प्रतिशत बराबर हो ।

त्यस्तै चालु शीर्षकमा विनियोजित कूल रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेटमध्ये हालसम्म २९ दशमलव ९४ प्रतिशत खर्च भएको छ । जुन रु तीन खर्ब ५४ अर्ब २५ करोड ६९ लाख बराबर हो ।

वित्तीय व्यवस्थापनतर्फ रु दुई खर्ब ३० अर्ब २१ करोड ७७ लाख बजेट छुट्याइएकामा मङ्सिर मसान्तसम्ममा रु ४६ अर्ब ९६ करोड २६ लाख बराबर खर्च भएको छ । जुन खर्च वित्तीय व्यवस्था शीर्षकमा विनियोजित बजेटको २० दशमलव चार प्रतिशत बराबर हो । यसरी हेर्दा हालसम्म सरकारको पुँजीगत खर्चभन्दा वित्तीय व्यवस्थापन शीर्षकमा भएको खर्च बढी देखिएको छ ।

यही अवधिमा सरकारको राजस्व सङ्कलन २४ दशमलव ५२ प्रतिशत बराबर रहेको छ । चालु आर्थिक वर्षका लागि कूल रु १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख आन्तरिक राजस्व उठाउने र रु ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेको छ ।

हालसम्म आन्तरिक राजस्व सङ्कलन रु तीन खर्ब २६ अर्ब ८९ करोड अर्थात् वार्षिक लक्ष्यको २३ दशमलव तीन प्रतिशत बराबर छ । साथै  यस अवधिमा सरकारले रु तीन अर्ब ४१ करोड ५९ लाख अर्थात् वार्षिक लक्ष्यको छ दशमलव १६ प्रतिशत वैदेशिक अनुदान लिएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.