add

उद्यमशिलता जागरण अभियानलाई थप उचाईमा पुर्याउनेछुः पाण्डे






ActPro Nepal

|

२७ कार्तिक, २०७९

|
1514

सुमन पाण्डे,  प्रतिनिधिसभा सदस्य उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी, नुवाकोट क्षेत्र नम्बर २

लामो समय सफल पर्यटन व्यवसायी एवं समाजसेवीको रुपमा पहिचान बनाएका व्यक्ति हुन् नुवाकोटका सुमन पाण्डे । आफू व्यावसायिक क्षेत्रमा हुँदाहुँदै पनि मुलुकको जटिल परिस्थिति, कुरिती, बेथिति, भ्रष्टाचार र कुशासनले गर्दा दिनप्रतिदिन मुलुकको अवस्था कमजोर बन्दै गएको स्थितिले आफूलाई राजनीतिमा आउन बाध्य बनाएको पाण्डेको धारणा छ ।

यसैकारण आफूले वैकल्पिक राजनीतिको रुपमा भर्खर उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गरेर नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा आफूले पनि उम्मेदवारी दिएको बताउँछन् सुमन पाण्डे । मुलुकको बदलिँदो परिवेशमा पनि राजनीतिक दलहरुको परम्परागत सोच नबदलिएको कारण आफू अहिले स्वतःस्फूर्त रुपमा बौद्धिक एवं व्यावसायिक व्यक्तित्वहरु निर्वाचनमा होमिएको पाण्डेको धारणा छ ।

पाण्डेले मुलुकको पर्यटन प्रवद्र्धनको लागि समेत आफूले प्रयाप्त काम गर्ने प्रतिबद्धता जनाएका छन् । समग्र मुलुकमा पर्यटकीय गतिविधिमा अभिवृद्धि हुन सकेको खण्डमा त्यसको लाभ नुवाकोटले पनि प्राप्त गर्ने पाण्डे बताउँछन् । सबैभन्दा महत्वपूर्ण काम भनेको जागरुक, इमान्दार र प्रतिबद्ध सांसद बनेर निःस्वार्थ रुपमा काम गर्ने हुटहुटी आफूमा पलाएको पाण्डे बताउँछन् । जसबाट मुलुकको विकास र अग्रगमनले नयाँ दिशा पाउन सक्ने पाण्डेको धारणा छ ।

उनी भन्छन्, ‘हामी संसदमा लिन आएका होइनौं । बरु दिन आएका हौं । अहिले हामी मुलुकको राजनीतिक व्यवस्था परिवर्तनको पक्षमा छैनौं । अवस्था परिवर्तन मार्फत मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ र हरेक नेपालीको आर्थिक स्थिति माथि उकास्न सकिन्छ भन्ने कुरामा नै हाम्रो बढी चासो छ ।’

उनै सफल उद्यमी एवं यसपटकको निर्वाचनका उम्मेदवार सुमन पाण्डेसँग निर्वाचन केन्द्रित रही गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं त एक प्रतिष्ठित सफल उद्यमी हुनुहुन्छ ? यसपटकको निर्वाचनमा किन उम्मेदवारी दिनुभएको ?

हो, एक उद्यमी हुँ । राजनीतिमा आउनु मेरो बाध्यता हो । अहिले नेपालमा ३ तहका सरकार छन् । जसबाट जनताहरुले सहज रुपमा सेवा पाउनुपर्ने थियो । त्यो हुन सकेको छैन । सरकारी स्रोतलाई सही तवरले आवश्यकता र औचित्यताको आधारमा उपयोग गर्नुपर्ने थियो, त्यो काम हुन सकेको छैन । आयोजनाको छनौट निश्चित मापदण्ड बिना गरिँदै आइएको छ । यसले मुलुक वेथिति र भ्रष्टाचारमा रुमल्लिएको सङ्केत गर्छ । मुलुकको भ्रष्टाचारलाई शून्यमा पुयाउने गरी निश्चित संयन्त्र निर्माणको आवश्यकता मैले देखेको छु । यसको लागि विज्ञहरुहरु प्रयाप्त छलफल गरी विशेषज्ञहरुको सल्लाह बमोजिम म जस्ता सच्चा देशभक्त नागरिक मुलुकको नीतिगत तहमा पुग्नुपर्ने आवश्यकता देखेर मैले यसपटक उम्मेदवारी दिएको हुँ । मुलुकलाई सही थिति विधिमा हिँडाउन सरकारी संयन्त्रका स्रोतहरुलाई पारदर्शी तवरले उपयोग गर्न मेरो भूमिका महत्वपूर्ण रहनेछ । यसको लागि कुनै पनि विकासे काम अघी बढाउने क्रममा सीमित स्रोतसाधनको उच्चतम उपयोग हुने गरी मैले काम गर्नेछु ।

नुवाकोटका स्थानीय जनताका मुख्य समस्या र आवश्यकता के के रहेको पाउनुभयो ?

अहिले सम्म नुवाकोटका जनताहरुमा शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सुविधामा पहुँच पुग्न सकेको छैन । यस्तो स्थितिलाई मनन गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा आवश्यकता बमोजिम स्तरीय पूर्वाधार निर्माण गरेर सहज रुपमा गुणस्तरीय सेवाको सुनिश्चितता गर्न म प्रतिबद्ध छु ।

अहिले पनि युवा वर्गमा निराशा व्याप्त छ । वेरोजगारीको समस्या छ । यसलाई न्यून गर्न गाउँमै सीपमूलक गतिविधिहरु सञ्चालन गरेर स्वरोजगारका अवसरहरु सृजना गर्नुपर्ने मेरो बुझाई छ । मैले गाउँ गाउँमा रोजगारीका अवसर सृजना गर्न स्थानीय प्राकृतिक स्रोतमा आधारित उद्योग व्यवसायलाई प्रोत्साहन गर्नेछु ।

स्थानीय स्तरमा कृषकको लागि अहिले सम्म मल ठूलो समस्याको रुपमा रहँदै आएको छ । त्यो मललाई सहज रुपमा आपुर्ति गर्नेछु । गाउँमा मलको अभाव हुन नदिने गरी मैले सशक्त पहल गर्नेछु । जिल्लालाई औद्योगिक नगरको रुपमा विकास गर्ने र नुवाकोटलाई आगामी दिनमा चीन तथा भारतको वाणिज्य केन्द्रको रुपमा विकसित गर्न गुरुयोजना तय गर्ने गरी प्रयाप्त पहल गर्नेछु ।

कृषिप्रणालीको सुधार र व्यावसायिकरण गर्नको लागि यहाँको पहल के रहला ?

हामीले कृषि क्षेत्र अन्तरगत दूध, गोलभेँडा, आलु लगायतका उत्पादनले राम्रो मूल्य र बजार पाउन नसकेको जानकारी पाएका छौं । कृषिमा काम गर्न प्रयाप्त जनशक्तिको अभाव छ । कृषियोग्य भूमिहरु बाँझो बनिरहेका छन् । जसबाट कृषिको उत्पादकत्व घटिरहेको छ । यस्तो स्थितिमा स्थानीय जनताको अवस्थामा सुधार ल्याउनको लागि केही महत्वपूर्ण पहल गर्नैपर्छ । जस अन्तरगत कृषिको यान्त्रिकीकरण र व्यावसायिकरण अत्यन्तै महत्वपूर्ण कदम हुन सक्छ । कृषि क्षेत्रलाई सरकारको संरक्षकत्व प्राप्त होस् भन्ने स्थानीय जनताको चाहनालाई हामीले सम्बोधन गर्नैपर्छ ।

राजनीतिमा सक्षम, इमान्दार र दृढ इच्छाशक्ति भएका व्यक्ति संलग्न हुनुपर्छ भन्ने मेरो बुझाइ छ । अहिले सम्म अन्य क्षेत्रमा सफल हुन नसकेका व्यक्तिले राजनीति अपनाएको स्थिति पनि एकातिर छ । जसले गर्दा बौद्धिक र क्षमतावान् व्यक्तिको अभाव खड्किइरह्यो । अब राजनीतिमा पढेलेखेका र नयाँ सम्भावना खोजी गर्न सक्ने व्यक्तिहरु संलग्न हुन सकेको खण्डमा सबै कुरा बिस्तारै व्यवस्थित हुँदै जान सक्नेछन् ।

जनताहरुबाट यहाँहरुले कस्तो प्रतिक्रिया पाउनुभएको छ ? साथै यसपटक यहाँले चुनाव जित्ने आधार चाहिँ के छन् ?

हामीले जनताबाट उत्साहित प्रतिक्रिया पाएका छौं । अहिले सम्म सधैंजसो एउटै व्यक्ति दोहोरिइरहेको स्थिति रहँदै आएकोमा जनताले नयाँ अनुहारको खोजी गर्नुभएको हामीले महसुस गरेका छौं । नयाँ भिजन सहितका सदैव जनतासँग सुखदुखमा सँगै रहने प्रतिनिधिहरु हामीले पाउन सकौं भन्ने चाहना स्थानीय जनताहरुको भएको र सोहीबमोजिम हामी मतदाताको लागि नयाँ विकल्पको रुपमा प्रस्तुत भएका छौं । यसै परिप्रेक्ष्यमा हामीलाई सही तवरले देशको नेतृत्व गर्न सक्ने ठानेर हामीलाई विजयी गराउनुहुन्छ भन्ने अपेक्षामा हामी छौं ।

नेपाली जनताले खासमा के चाहेका रहेछन् त ?

नेपाली जनताले अरु केही होइन, सुशासन र पारदर्शिता चाहेका छन् । त्यो चाहना नयाँ प्रतिनिधिहरुबाट प्राप्त हुन सक्नेमा नेपाली जनताहरु आशावादी छन् ।

तपाईंहरुको यस पार्टीमा कस्ता व्यक्तिहरु छन् ? किन तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टी नै रोज्नुभयो ?

यस पार्टीमा विभिन्न क्षेत्रको विशेषज्ञता हासिल गर्नुभएका, नयाँ विचार अङ्गिकार गर्नुभएका, देश विदेशका प्रख्यात विश्वविद्यालयमा अध्ययन गर्नुभएका, आ–आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्नुभएका क्षमतावान् व्यक्तिहरु समेटिनुभएको छ । यसकारण हामीले क्षमतावान् व्यक्ति छनोट गर्नुपर्छ भन्ने मान्यता सहित मतदाता कहाँ ‘अब जान्नेलाई छान्ने’ नारा सहित जनता माझ भोट मागिरहेका छौं । यस पार्टीमा अधिकांश युवा व्यक्तिहरु हुनुहुन्छ । यसैकारण मैले राष्ट्रिय स्वतन्त्र पार्टी नै रोजेको हुँ ।

यहाँले सफल उद्यमी एवं समाजसेवीको रुपमा राम्रो प्रतिष्ठा कमाईसक्नुभएको छ । अबको यहाँको यात्रा कता तर्फ केन्द्रित होला ?

अब म राजनीतिक हैसियत प्राप्त गरेर विगत भन्दा अझ माथिल्लो तहबाट जनताका लागि सेवामूलक काम गर्ने र पर्यटन उद्योगलाई अझ नयाँ उचाईमा पु¥याउने योजनामा केन्द्रित हुनेछ । मुलुकका सबै सम्भावनालाई पहिचान गर्न एक इमान्दार प्रतिनिधिको रुपमा काम गरी राज्यको इमान्दार पात्रको रुपमा मेरो पहिचान बन्नुपर्छ भन्ने योजनाबाट म सदैव निर्देशित हुनेछु ।

यहाँलाई मुलुक समृद्ध नहुनुको मुख्य कारण के रहेछ जस्तो लाग्छ ?

अहिले सम्म मुलुक समृद्ध नहुनुका कारण मध्ये राजनीति सही तवरले व्यवस्थित हुन नसक्नु एउटा ठूलो कारण हुन सक्छ भन्ने मलाई लाग्छ । राजनीतिमा सक्षम, इमान्दार र दृढ इच्छाशक्ति भएका व्यक्ति संलग्न हुनुपर्छ भन्ने मेरो बुझाइ छ । अहिले सम्म अन्य क्षेत्रमा सफल हुन नसकेका व्यक्तिले राजनीति अपनाएको स्थिति पनि एकातिर छ । जसले गर्दा बौद्धिक र क्षमतावान् व्यक्तिको अभाव खड्किइरह्यो । अब राजनीतिमा पढेलेखेका र नयाँ सम्भावना खोजी गर्न सक्ने व्यक्तिहरु संलग्न हुन सकेको खण्डमा सबै कुरा बिस्तारै व्यवस्थित हुँदै जान सक्नेछन् । मुलुकको आयात निर्यात व्यापारलाई सन्तुलनमा राख्न सहयोग पुग्नेछ । कृषि, पर्यटन, उद्योग, खनिज, पूर्वाधार लगायतका सम्भावना क्षेत्रलाई राम्रो तवरले प्रयोग गरेर प्रयाप्त लाभ लिन सक्षम व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने मलाई लाग्छ । मुलुक समृद्धिको लागि हामी अब गुणस्तरीयता तर्फ केन्द्रित हुनैपर्छ । जसबाट मुलुक दिगो समृद्धिको दिशामा अघी बढ्न सक्छ ।

अन्त्यमा मतदाताहरुलाई के भन्नुहुन्छ ?

मुलुक राम्रो भएको देख्न चाहने हो भने हाम्रो नभई राम्रो उम्मेदवार चयन गर्नुस् । यदि विगतका टेस्टेड व्यक्ति सक्षम ठान्नुभएको छैन भने क्षमता भएका नयाँ व्यक्ति खोज्नुहोस् । मताधिकार प्रयोग गर्दा व्यक्तिको पृष्ठभूमिलाई गहिरो रुपमा अध्ययन गर्नुस् । आफ्नो स्वविवेक प्रयोग गर्नुहोस् । हामी लोकतान्त्रिक प्रणालीमा छौं । तपाईंहरुलाई विकल्प छनौटको अवसर छ । यदि तपाईंहरुले हामीलाई घण्टी चिन्हमा मतदान गरी विजयी गराउनुभयो भने हामीले तपाईंहरुलाई निराश बन्न कदापि दिनेछैनौं । हामी सबैको कल्याण भएको देख्न चाहन्छौं ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.