add

लयमा फर्किदै सौराहाका पर्यटन व्यवसाय






ActPro Nepal

|

२३ भदौ, २०७९

|
387

भरतपुर । नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् ।

उनीहरूले धमाधम चाडपर्व लक्षित छुट ‘प्याकेज’ घोषणा गरिरहेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा केही उत्साह थपिएको क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन् । सौराहाको पर्यटन व्यवसाय केही समययता तङ्ग्रिन थालेको र होटल, पव, रेष्टुरेन्टमा अचेल आन्तरिक पर्यटक झुम्न थालेका उनको भनाइ छ ।

चाडपर्व नजिकिएसँगै आन्तरिक तथा बाह्य पर्यटकले होटलबारे सोध्न थालेका र पर्यटक आउन सुरु भएकाले व्यवसायी उत्साही देखिएको अध्यक्ष भट्टराईले जानकारी दिए।

‘कोरोना महामारीले चितवनको मात्रै होइन, नेपालकै पर्यटन क्षेत्र प्रभावित बन्यो’ उनले भने, ‘करिब दुई वर्ष हामीले होटल तालाबन्दी गरेर बस्नुपर्ने अवस्था आयो, अब अहिले विस्तारै होटल सञ्चालन गर्दै आएका छौँ ।’

अहिले सौराहाका होटल पूर्णरूपमा सञ्चालनमा आएका जनाउँदै उनले विदेशी पर्यटक फाट्टफुट्ट मात्र देखिएको बताए । उनले गत वर्ष मात्रै दुई लाख आन्तरिक र बाह्य पर्यटक सौराहा आएको जानकारी दिए । यसपटक पर्यटकको सङ्ख्या बढ्ने अनुमान थियो तर आर्थिक मन्दीलगायतका कारणले सोचेअनुसार हुँदैन कि भन्ने चिन्ता थपिएको बताए।

पर्यटकको आगमन बढ्न थालेपछि देशमा चुनाव भएकाले पनि त्यसको असर र बर्खाका कारणले घटेका पर्यटक फेरि थपिन सुरु भएका उनको भनाइ छ । ‘अहिले पर्यटन क्षेत्रले विस्तारै लय समात्न सुरु गरेको छ, अहिलेसम्म चहलपहल खासै नबढेको भए पनि अब चाडपर्व सुरु भयो पर्यटक बढ्छन् भनेर हामी ढुक्क छौँ’, अध्यक्ष भट्टराईले भने, ‘विस्तारै आन्तरिक र बाह्य पर्यटकको चहलपहल पनि बढ्न थालेको छ ।’

सौराहामा कोभिडको बेला सुरु भएको छुटको अभियान अहिले पनि होटलको स्तर हेरेर २० देखि ४० प्रतिशतसम्म रहेको भट्टराईले जानकारी दिए । ‘घुमौ सौराहा’ अभियानलाई अहिले पनि निरन्तरता दिएको उनको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष योगेश अधिकारीले विदेशी पर्यटक आउने सिजन सुरु भए पनि पर्यटक नआएको बताए । उनले भने, ‘चिनियाँ पर्यटक नआएसम्म पर्यटन क्षेत्रले गति लिँदैन ।

केही समय भारतीय पर्यटक आए, तर कोभिडअघि जस्तो पर्याप्त आएनन् ।’ उनले बर्खायाम र आर्थिक मन्दीका कारण पनि पर्यटक आउन नसकको वताए । सौराहामा सभा सेमिनार भने क्रमशः हुन थालेको उनले बताए । ‘दशैँ, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै छ’, उपाध्यक्ष य अधिकारीले भने, ‘अब आन्तरिक पर्यटकको आउने अपेक्षा राखेका छौँ ।’

सौराहामा शुक्रबार र शनिबार आन्तरिक पर्यटक आउने तथा अन्य दिनमा गोष्ठीलगायतका कार्यक्रम हुन थालेका व्यवसायी ध्रुव गिरी बताए । ‘अहिले पछिल्लो समय नेपाली युवाहरू आउने गरेका छन्’, गिरीले भने, ‘विदेशबाट समेत होटलको बारेमा बुझ्ने र कोठा बुकिङ गर्न सुरु भइसकेको छ ।’ पछिल्ला दिनमा पर्यटक आगमनमा वृद्धि भइरहेको उनको भनाइ छ ।

यहाँ आउने अधिकांश पर्यटक जङ्गल सफारी गर्न रुचाउँछन् । सौराहा आउने विदेशी पर्यटक जङ्गल सफारी तथा जीप सफारीमा रमाउने भए पनि नेपाली पर्यटक भने खाने पिउने गरी आउने हुनाले आन्तरिक पर्यटकले बढी खर्च गर्ने गरेका छन् । ‘कोभिड पछाडि हामीले होटल खोल्यौँ त्यसपछि नेपाली पर्यटक धेरै आउनुभएको छ’, व्यवसायी गिरीले भने, ‘विशेषगरी अहिले ‘गुडफ्राइडे’ भन्ने प्रचलनत सुरु भएको छ, त्यसैले पनि शुक्रबार र शनिबार सौराहामा राम्रै नेपाली पर्यटक आउने गरेका छन् ।’

सौराहामा गुड फ्राइडे भनेर आउनेमध्ये बढीमात्रामा युवाहरू भएका जनाइएको छ । ‘किशोरावस्थाका आन्तरिक पर्यटक नेचरमा रमाउनभन्दा ‘गुड फ्राइडे’ भनेर खाने, रमाउने, पिउने, इन्जोय गर्ने भन्ने हिसाबले बढी खर्च गर्ने गरेको देखिएको छ’, व्यवसायी गिरीले भने, ‘यहाँ आउने विदेशी भने जङ्गल ड्राइभ, जीप सफारी रमाउने गरेकामा नेपालीहरू भने फ्राइडेको दिनमा होलिडे मनाउन आएको भन्दै अलिकति बढी खर्च गर्ने गरेको हामीले पाएका छौँ ।’ निकुञ्जभित्रको जङ्गल सफारी बन्द रहे पनि सामुदायिक वनमा जीप सफारी र अन्य गतिविधि भइरहेका छन् ।

निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीलगायत वन्यजन्तु, वनस्पति, चरा, पुतली अवलोकन गर्नको सङ्ख्या पनि उत्तिकै छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा पर्यटकले हात्ती, जीप, पैदल सफारी गर्नका लागिसमेत आकर्षित हुने गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.