add

नेपालमा बिमा क्षेत्रको सम्भावना






ActPro Nepal

|

२३ मंसिर, २०७८

|
1040

चंकी क्षेत्री

प्रमुख कार्यकारी अधिकृत, सगरमाथा इन्स्योरेन्स कम्पनी

कुनै पनि मुलुकको विकाससँगै त्यहाँ विमा क्षेत्रको सम्भावना पनि फस्टाउँदै जाने गर्छ । मुलुकमा फस्टाएको बिमा उद्योगको स्थितिले त्यस देशको विकास अवस्थालाई समेत प्रतिनिधित्व गर्छ । पछिल्ला दिनहरुमा जसरी नेपालमा पनि उद्योग व्यवसायहरु फस्टाउँदै जाने क्रममा छन् । व्यवसायहरु फस्टाउँदै जाँदा र विविधिकरण हुँदै जाँदा ती व्यवसायको सुरक्षाको लागि बिमा व्यवसाय पनि सँगसँगै अघी बढ्ने गर्छ ।

सामान्यतया बिमा अन्तरगत जीवन र निर्जीवन गरी २ किसिमका बिमा कार्यक्रमहरु सञ्चालनमा रहने गर्छन् । नेपालमा पनि यी दुवै किसिमका बिमा कार्यक्रमहरु सञ्चालनमा छन् । सामान्यतया अधिकांश मानिसहरुले अझै पनि जीवनबीमालाई नै बिमाको रुपमा बुझ्ने गरेको पाइन्छ । सामान्यतया मानवीय ज्यूज्यानको सुरक्षाको लागि जीवन बिमा गरिन्छ भने ज्यान बाहेक अन्य चलअचल, सम्पत्ति, पशुपक्षी एवं व्यावसायिक सुरक्षाको उद्देश्यले निर्जीवन बिमा गरिन्छ ।

अहिले नेपाल सरकारले पनि बिमा कार्यक्रमलाई विशेष चासोको साथ आफ्नो कार्यक्रमको रुपमा समेटेको छ । अहिले सम्म नेपालमा करिब २५ प्रतिशत मानिसहरुको पहुँचमा बिमा पुगिसकेको छ । राज्यले करिब ३३ प्रतिशत मानिसको पहुँचमा बिमा सेवा विस्तार गर्ने योजना बमोजिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

बिमा क्षेत्रले समेट्ने थुप्रै कार्यक्रमहरु छन् । अहिले सम्म अन्य क्षेत्रहरुमा बिमा कार्यक्रमहरुले समेट्नको लागि महत्वपूर्ण कामहरु गरेका भएपनि आगामी दिनमा नेपालमा स्वास्थ्य बीमाको क्षेत्रमा निकै राम्रो सम्भावना छ । विगत केही बर्ष पहिले देखि नेपालमा स्वास्थ्य बीमा बोर्ड स्थापना गरी नेपाल सरकार अन्तरगत नै स्वास्थ्य बीमा कार्यक्रम अघी बढाइएको छ । यद्यपि यो कार्यक्रमलाई अझ बढी प्रभावकारी र सहज बनाउँदै सबै किसिमका मानिसहरुको पहुँचमा बिमा कार्यक्रम पुर्याउनको लागि निजी क्षेत्रका बिमा सेवाप्रदायक कम्पनी एवं स्वास्थ्य सेवाप्रदायक संस्थाहरुसँग विशेष समन्वय गरी अघी बढाउनु जरुरी रहन्छ ।

नेपालमा सम्भावना

नेपाल विकासशिल देश हो । यहा्रँ अझै पनि बिमा अधिकांश मानिसहरुको पहुँचमा पुग्न सकेको छैन । अहिले मध्यम आर्थिक स्थिति भएका व्यक्तिहरुले बिमालाई विशेष महत्वका साथ लिएपनि न्यून आर्थिक अवस्था भएका व्यक्तिहरुलाई यस कार्यक्रममा समेट्न सकिएको छैन । साथै नेपाल कृषिप्रधान देश समेत भएकोले आगामी दिनमा निर्जीवन कार्यक्रम अन्तरगत कृषि तथा पशुपालन सम्बन्धी कार्यक्रमहरुलाई बढी महत्वका साथ अघी बढाउनुपर्ने जरुरी छ । अहिले बिमा ऐन परिमार्जन हुने क्रममा छ । अब आउने बिमा ऐनमा विमा क्षेत्रको दायरा विस्तार गर्ने उद्देश्यले अन्य महत्वपूर्ण कार्यक्रमहरु समेत समेट्नुपर्ने जरुरी छ ।

सेवाग्राहीको गुनासो

अझै पनि केही सेवाग्राहीहरुले प्रक्रियागत झण्झटको कारण बिमा बापतको भुक्तानी पाउन केही समस्या भोग्नुपर्ने स्थिति छ । सामान्यतया विमा बापतको भुक्तानी लिन गाह्रो पर्छ भन्ने स्थितिलाई चिरेर सहज तवरले भुक्तानी गर्ने वातावरण सृजना गर्न आवश्यक छ । साथै पछिल्लो समय नेपालमा लागु गरिएको कोरोना बिमा कार्यक्रम बापतको रकम भुक्तानी गर्ने कार्य अझै पनि सहज स्थिति बन्न सकेको छैन । कोरोना बिमाको भुक्तानीमा भएको ढिलाईको कारण सेवाग्राहीहरुमा बिमा सेवाप्रदायक कम्पनी विश्वास घट्दै गएको अवस्था सृजना भएको छ ।

कोरोना बीमा भुक्तानी ढिलाई हुनुको कारण

कोरोना बिमा कार्यक्रम निजी बिमा कम्पनी एक्लैले भुक्तानी गर्ने सर्तमा ल्याइएको होइन । यो कार्यक्रम बिमा कम्पनी, बिमा समिति, पुमर्बिमा कम्पनी र नेपाल सरकारको संयुक्त कार्यक्रम हो । विभिन्न चरणमा कोरोना बिमा बापतको रकम भुक्तानी गरिएपनि नेपाल सरकारले कोरोना बिमा बापतको रकम समयमा निजी बिमा कम्पनीहरुलाई उपलब्ध गराउन नसक्दा अझै पनि कोरोना बिमा बापतको रकम सबै सेवाग्राहीहरुले प्राप्त गर्न नसकेका हुन् ।

विश्वभर कोरोना तीव्र रुपमा फैलिँदा समेत नेपालमा यसको फैलावट दर शुरुमा निकै न्यून थियो । त्यही अवस्थामा नेपालमा बिमा कम्पनीहरुले कोरोना संक्रमणको दायरा नेपालमा व्यापक हुने स्थिति बारे विचार नगरी तत्कालिन स्थितिमा राम्रो सम्भावना एवं कल्याणकारी सोच बमोजिम कोरोना बिमा कार्यक्रम अघी बढाइएको हो । यद्यपि नेपालमा कोरोना जब तीव्र रुपमा फैलिन शुरु भयो, त्यसपछि अवस्था हामी कसैको नियन्त्रणमा रहेन । यससँगै नेपालमा कोरोना बिमा प्रति मानिसहरुको चासो समेत बढ्दै गयो । कोरोना बिमा कार्यक्रम ल्याउँदाका शुरुका दिनमा नेपालमा कोरोना यसरी व्यापक रुपमा विस्तार होला भनेर हामी कसैले पनि सोचेका थिएनौं । यद्यपि अहिले भने नेपालमा कोरोना लगभग नियन्त्रणमा आएको जस्तो स्थिति देखिन्छ । यद्यपि यसै भनेर भन्न सकिने अवस्था भने अझै छैन ।

कोरोना बीमा कार्यक्रमको लागत

शुरुका दिनमा कोरोना बीमा कार्यक्रम निजी बिमा कम्पनीहरुकै अग्रसरतामा अघी बढाइएको हो । हामीले यस नयाँ योजनालाई अघी बढाउने जोखिम लिएकै हौं । कोरोना संक्रमण बढ्दै गएपछि विमा कम्पनीहरुले अघी बढाएको यस कार्यक्रमलाई नेपाल सरकारले बजेटमा समेत संलग्न गराएर आफ्नै कार्यक्रमको रुपमा अङ्गिकार गर्यो ।

कोरोना बीमा भुक्तानीको लागि कोषको संरचना

अहिले सम्म जनताहरुलाई कोरोना बीमा बापत ५ अर्ब रकम भुक्तानी गरिएको छ । कोेरोना बीमा कार्यक्रमलाई अघी बढाउने क्रममा शुरुमा १ अर्ब रकम बिमा कम्पनीहरुबाट, अर्को १ अर्ब रकम नेपाल पुनर्विमा कम्पनीबाट र अपुग भएमा महाविपत्ति कोषबाट ५० करोड रकम विनियोजन गर्ने, उक्त रकमबाट पनि कोरोना बिमा बापतको रकम भुक्तानी गर्न नसकिए बिमा समितिले १ अर्ब रकम भुक्तानी गर्ने र अझ थप रकम आवश्यक परे साढे ३ अर्ब रकम सबै नेपाल सरकारले व्यहोर्ने सल्लाह भएको थियो । साथै यस कार्यक्रमलाई व्यापक बनाउन साधारणतया प्रतिव्यक्ति साढे ६ सय रुपियाँ तोकिएको कोरोना बिमा नेपाल सरकार अन्तरगतका निजामती कर्मचारी, सुरक्षाकर्मी लगायतलाई लक्षित गरी ५० प्रतिशत छुटमा उपलब्ध गराउने सल्लाह समेत भयो । यस्तो व्यवस्थासँगै व्यापक मात्रामा यस कार्यक्रम प्रति मानिसहरु आवद्ध हुन पुगे । यद्यपि सबै सेवाग्राहीलाई समयमा आवश्यक भुक्तानी गर्न नसक्दा समस्या सृजना हुनगयो ।

जुन सर्तमा सेवाग्राहीहरुलाई व्यापक मात्रामा यस कार्यक्रममा आवद्ध गराइएको थियो, सोही बमोजिम नै बिमा बापतको रकम भुक्तानी गर्नुपर्ने दायित्व हामी सबैको रहन्छ । यद्यपि स्थिति हाम्रो काबु भन्दा बाहिर गएकोले समस्या सृजना भएको हो । बाहिर बिमा कार्यक्रम बिस्तार गर्ने बिमा कम्पनीहरु नै भएपनि भित्र उक्त कार्यक्रममा कुन–कुन निकायको आवद्धता छ भन्ने सम्बन्धमा सर्वसाधारणहरुलाई जानकारी हुँदैन । यसले गर्दा रकम भुक्तानी नहुनुमा सबै दोष बिमा कम्पनीहरुले नै पाउनुपर्ने अवस्था सृजना भएको छ ।

अन्त्यमा,

भित्र जे–जस्तो सम्झौता भएपनि बाहिर सेवाग्राहीहरुलाई बिमा गराउने कामको नेतृत्व जनस्तरमा बिमा कम्पनीले नै गरेका हुनाले बीमा बापतको रकम भुक्तानी गर्ने दायित्व समेत बिमा कम्पनीको नै हुनुलाई पनि अस्वभाविक रुपमा लिन मिल्दैन । यद्यपि बिमा कम्पनीहरु समेत नेपाल सरकारमा नै निर्भर रहने हुनाले यी कम्पनीहरुले पनि समयमा कोरोना बिमा बापतको रकम भुक्तानी गर्न सकेनन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.