add

नक्कली नोटको कारोबार गर्ने गिरोहका सात जना पक्राउ






ActPro Nepal

|

२६ असोज, २०७८

|
1339

धनकुटा । धनकुटा प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ ।

असोज ११ गते मूलघाटबाट २८ हजार नक्कली नोटसहित दुई युवा पक्राउ परेपछि उनीहरूको सञ्जाल पहिल्याउने क्रममा प्रहरीले धनकुटा, सुनसरी र काठमाडौंबाट थप पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का २६ वर्षीय विशाल तामाङ, ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ घर भई हिले बस्दै आएका २६ वर्षीय छितेन तामाङ, हिलेकै २४ वर्षीय सोनम तामाङ, महालक्ष्मी नगरपालिका–८ का २६ वर्षीय सुमन खड्का, महालक्ष्मी–९ का २४ वर्षीय तुलसी खवास र सोही स्थानका २१ वर्षीय विकास तामाङ छन् । 

पक्राउ परेका सुमन हिलेको डार्बिन फार्मेसीका सञ्चालक हुन् । तुलसी, तरकारी बोक्ने गाडीका चालक हुन् भने विकासले टाटा सुमो चलाउँदै आएका छन् । उनीहरूलाई धनकुटा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार लागूऔषध खरिद गर्न धरान जाने क्रममा विशाल र छितेन नक्कली नोटसहित मूलघाटबाट पक्राउ परेका हुन् । त्यसपछि नक्कली नोटको कारोबार गर्ने सञ्जाल पहिल्याउँदै सोनम र सुमनलाई हिले, तुलसीलाई सिधुवा र विक्रमलाई इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए । 

‘विशाल र छितेन लागूऔषध किन्न राति धरान जाँदै गरेका बेला शंका लागेर मूलघाटको चेकपोस्टमा खानतलासी गर्दा उनीहरूको साथबाट नक्कली पैसा भेटियो,’ डीएसपी रायले भने, ‘त्यसपछि थप अनुसन्धान गर्ने क्रममा हिले, सिधुवा र इटहरीबाट बाँकी चार जनालाई पक्राउ गरेका हौं, काठमाडौंबाट पनि एक जनालाई पक्राउ गरेर ल्याएका छौं ।’

नक्कली नोट कारोबारको ‘कनेक्सन’ खोज्ने क्रममा प्रहरीले काठमाडौंबाट पनि एक युवालाई पक्राउ गरेर धनकुटा ल्याएको हो । तर, उनको पहिचान खुलाइएको छैन । नक्कली नोट कारोबारीको सञ्जाल पहिल्याउने काम भइरहेकाले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले उनको पहिचान गोप्य राखेको हो । पक्राउ परेकाहरूबाट १ लाख नक्कली रुपैयाँ बरामद भएको छ ।

सोनमको घरबाट ६५ हजार, छितेनको साथबाट २८ हजार, विशालको घरबाट ५ हजार र विशालले मूलघाटमा फालेको २ हजार नक्कली पैसा बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएका सबै १ हजार दरका नोट छन् । ती नोट छाम्दा सक्कलीभन्दा केही नरम छन् ।

प्रहरीका अनुसार सुरुमा दुई जना पक्राउ परेपछि फार्मेसी सञ्चालक सुमनले आफू पनि पक्राउ पर्न सक्ने डरले प्रमाण नष्ट गर्न १ लाख रुपैयाँ नक्कली नोट जलाएर नष्ट गरेको पाइएको छ । उनीहरूले लागूऔषधको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नक्कली नोटको कारोबार भइरहेको भेटिएपछि प्रहरीले यो कारोबारको जरासम्म पुग्ने प्रयास गरिरहेको छ । असोज ११ गते मूलघाटबाट २८ हजार नक्कली नोटसहित विशाल र छितेन पक्राउ परेपछि प्रहरीले यो अनुसन्धानलाई गहन रूपमा अघि बढाएको छ । उनीहरू पक्राउ परेको जानकारी बाहिरिए पनि प्रहरीले यो विषयमा १० दिनसम्म मुख खोलेन । पत्रकारहरूसँग पनि प्रहरीले यो विषय गोप्य राख्यो, सोध्दा पनि बताउन चाहेन ।

कारोबार गर्नेहरूको सञ्जाल पहिल्याउने क्रममा सात जना पक्राउ परेपछि बल्ल प्रहरीले विवरण सार्वजनिक ग¥यो । तर, काठमाडौंबाट पक्राउ परेका एक जनाको अझै पहिचान खुलाइएको छैन । प्रहरी अझै गहिराइमा पुग्न अनुसन्धान गरिरहेको छ । ‘नक्कली नोट कारोबार गर्नेहरूको जरासम्म पुग्न खोज्दै छौंथप अनुसन्धान भइरहेकाले एक जनाको परिचय गोप्य राखेका हौं,’ डीएसपी रायले भने ।

नक्कली नोट कहाँ छापिन्छ र कसरी बाहिरिन्छ भन्ने यकिन भइसकेको छैन । यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट कारोबारको जालो पहिल्याउने क्रममा प्रहरीले धनकुटामा काठमाडौंबाट नक्कली नोट आएको निष्कर्ष निकालेको छ । लागूऔषध कारोबार गर्नेहरूबाट नक्कली नोट भित्र्याइएको प्रहरी अनुसन्धानले देखाएको छ । 

पक्राउ परेकाहरूको बयान उदृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार टाटासुमो गाडी चलाउँदै आएका महालक्ष्मी–९ का विकास गाडी मर्मत गर्न गत भदौं पहिलो साता काठमाडौं गएका थिए । त्योबेला उनी झन्डै दुई साता काठमाडौं बसपार्क क्षेत्रको एक होटलको कोठामा बसे । होटलको अर्को कोठामा बसेका एक युवासँग उनको चिनजान भयो । लागूऔषध प्रयोगकर्ता भएकाले उनीहरू घुलमिल भए ।

काठमाडौंका ती युवाले धरानमा सस्तो मूल्यमा ब्राउन सुगर पाइने भन्दै ब्राउन सुगर किनेर पठाइदिन विकासलाई ३० हजार सक्कली पैसा दिए ।

काठमाडौंबाट फर्किएपछि विकासले ब्राउन सुगर किनेर दिनु भन्दै इटहरीका युवालाई त्यो पैसा बुझाए । तर, इटहरीका युवा पैसा पाएपछि सम्पर्कविहीन भए । यता, पैसा दिएर किन्न पठाएको ब्राउन सुगर नआएपछि काठमाडौंका युवा एक सातापछि इटहरी आए । पुनः विकास र उनीबीच भेट भयो ।

विकासले पैसा दिन नसकेपछि काठमाडौंका युवाले विकासलाई आपूmसँग नक्कली नोट रहेको भन्दै त्यो नोट साटेर ब्राउन सुगर पनि किन्न र आफ्नो ३० हजार पनि फिर्ता दिन प्रस्ताव गरे । सोहीबमोजिम काठमाडौंका युवाले विकासलाई नक्कली नोट दिए । विकाससँग नक्कली नोट रहेको कुरा महालक्ष्मी–९ नै घर भएका अर्का चालक तुलसीलाई पनि थाहा थियो ।

विकास र तुलसी ब्राउन सुगर सेवन गर्न हिलेमा डार्बिन फार्मेसी चलाउँदै आएका सुमनकोमा आउने गरेका थिए । सोही क्रममा तुलसीका माध्यमबाट फर्मेसी सञ्चालक समुनले नक्कली पैसा विकाससँग भएको थाहा पाए । तुलसीकै समन्वयमा पछि उनले २ लाख नक्कली पैसा विकासबाट लिए । फार्मेसी सञ्चालक सुमनले १ लाख नक्कली पैसा विशाललाई दिए र १ लाख आफैंसँग राखे ।

त्यही पैसा लिएर विशाल र छितेन राति धरानमा ब्राउन सुगर किन्न जाने क्रममा मूलघाटमा पक्राउ परे । उनीहरूसँग नक्कली नोट बरामद भएपछि प्रहरीले नक्कली नोट कारोबार गर्नेहरूको जालो पहिल्याउँदै सात जनालाई पक्राउ गरेको हो । नक्कली नोट कारोबार गर्ने थप व्यक्ति र छापिने ठाउँसम्म पुग्न प्रहरीले थप अनुसन्धान गरिरहेको छ । राजधानी दैनिकबाट 

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.