add

बेरोजगार बनेका होटल मजदूरलाई संरचना निर्माणमा लगाइने






ActPro Nepal

|

२८ भदौ, २०७८

|
805

चितवन। बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो ।

प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा काम गर्न लागिएको हो । 

नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ । यससँगै तलाउ माथिबाट राप्तीको ढिकमा जाने गरी काठको पुल राखिने छ ।

भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने छ । सोही ठाउँमा सार्वजनिक शौचालय, बस्ने ठाउँलगायतका निर्माणका काम हुने छन् । उनले भने, “बेरोजगार रहेका मजदूरलाई काम दिइने छ भने सौराहा किनार आकर्षक बन्ने छ ।” प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमबाट रु ९० लाख र पर्यटन बोर्डबाट रु ६० लाख बजेट निकासा भएको छ । यो रकममध्ये ७५ प्रतिशत मजदूरका लागि काम गरेबापत भुक्तानी गरिने छ । सो क्षेत्रमा रहेको सङ्ग्रहालयलाई पनि स्तरीय बनाइने छ ।

नगरप्रमुख वनका अनुसार एक व्यक्तिले दैनिक रु एक हजार ज्याला पाउने छन् । मजदूरले गर्ने काम बढी हुने गरी योजना बनाइएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदूरले काम गर्दछन् । 

कोभिडसँगै न्यून मजदूरले काम पाएका छन् भने अधिकांश बिदामा रहेका छन् । यस संरचनामा काम गर्न सक्ने मजदूर मात्र एक हजारभन्दा बढी छन् । सङ्घले आह्वान गरेको सूचनामा हालसम्म ५०० ले काम गर्न इच्छा व्यक्त गर्दै नाम टिपाएका छन् । यसका लागि होटलले सिफारिस गर्नुपर्ने हुन्छ । 

उनले भने, “हाम्रो पहलका कारण धेरथोर सहयोग मजदूरलाई हुँदैछ ।” यससँगै राप्ती किनार पर्यटकका लागि अकर्षक बन्ने छ ।

 भिजिटर सेन्टरसँगै बन्न लागेको तलाउमा उद्धार गरिएका गोहीलाई छाडिने छ । त्यहाँ माछा पनि राखिने भएको हुँदा यसले पर्यटकलाई थप अकर्षित बनाउने उनको भनाइ छ । सौराहाको होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले यसबाट बिदामा बस्न बाध्य भएका मजदूरलाई केही राहत हुने वताए । 

निषेधाज्ञासँगै होटल सञ्चालन हुन नसक्दा सञ्चालक र मजदूर दुवै मारमा परेको उनको भनाइ छ । पर्यटकीय क्षेत्र थप रमणीय बनाउँदै मजदूरलाई काम दिने गरी योजना बन्नुले सबैलाई ऊर्जा थपेको उनले जानकारी दिए ।

 नगरपालिकाले भिजिटर सेन्टर नजिकै राप्तीको डिलमा १२० मिटर लामो पैदलमार्ग बनाइरहेको छ । राप्ती नदी किनारमा बसेर सूर्यास्थ र चितवन राष्ट्रिय निकुञ्जको रमणीय दृश्य हेर्न सकिने गरी पथ निर्माण गरिएको हो । त्यहाँबाट राप्ती नदीमा खेली रहेका गोहीसमेत देख्न सकिन्छ । सो पथमा ठूला ठूला तीनवटा ढुङ्गासमेत राखिएको छ । ती ढुङ्गामा संरक्षणका क्रममा ज्यान गुमाएका तल्लो तहका कर्मचारी र पर्यटनकर्मीको आकृति कुदिने छ । भुइँमा ढुङ्गा बिच्छ्याइँदै छ । छेउमा काठको रेलिङ रहने छ भने सो रेलिङमा जुटको डोरी बाँधिने छ । झण्डै रु ३१ लाखको लागतमा यो संरचना बनिरहेको नगर प्रमुख वनले जानकारी दिए ।

 देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको तर्फबाट सक्ने सहयोग नगरपालिकाले गरिरहेको उनले बताए। कोभिड घटेसँगै सौराहाका व्यवसायी उत्साहित भएका छन् । जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले भने, “रुम बुकिङ्का लागि  जानकारी लिनेको संख्या बढेको छ । हामी आशावादी छौँ सौराहा अब पूर्ववत् अवस्थामा फर्कने छ ।” सौराहामा १२० पर्यटकीय होटल र १०० हाराहारी रेष्टुराँ छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.