add

नेतृत्व र राष्ट्र निर्माणमा युवावर्गको भूमिका






ActPro Nepal

|

२४ भदौ, २०७८

|
1217

अहिले नेपाली जनताहरु खासगरी युवाहरुमा राष्ट्र प्रति जति चिन्ता छ, त्यति चिन्ता हाम्रा नेताहरुमा छैन । समयक्रमसँगै बालकको रुपमा जन्मिएको व्यक्ति युवा हुँदै वृद्ध अवस्थामा प्रवेश गर्छ । हाम्रो जीवन र समय भनेका एउटै रथका दुई ओटा पाङ्ग्रा हुन् । समय सँगसँगै हाम्रो जीवन पनि बितिरहेको हुन्छ । समयको आफ्नै सिमा र आफ्नै गति हुन्छ । समय निश्चल र निष्पक्ष हुन्छ । यसलाई धनी–गरीब, शक्तिवान, रुपवान्, रोगी–निरोगी, कसैको पनि केही प्रवाह हुँदैन । दिनरात हुँदै समयले कसैलाई पनि पर्खेर बसेको हुँदैन । हाम्रो लागि समय नै फूल र समय नै काँडा बन्ने गर्छ ।

समय किन्न सकिन्न तर सजिलै गुमाउन सकिन्छ । समयलाई रोक्न सकिँदैन तर यसलाई सही प्रयोग भने गर्न सकिन्छ । समय कहिले स्थिर रहँदैन । ब्रह्माण्डमा पनि पृथ्वी मात्र घुमेको हुन्छ । जहाँ सूर्य त सदैव स्थिर र उदयमान हुन्छ । समय र सूर्यको विशेषता नै यही हो । समयको गति र पृथ्वीको घुम्ने चाल सँगै सूर्य पनि तलमाथि, नजिक टाढा भएको हामी पाउँछौँ । पृथ्वीमा सूर्यको तेजशक्ति बढी हुँदा यहाँ गर्मीको महसुस हुन्छ भने सूर्यको तेजशक्ति टाढिँदै जाँदा हामीलाई जाडोको महसुस हुन्छ । समयको गतिसँगै हाम्रो ब्रह्माण्डमा रहेका ग्रह नक्षत्रहरु पनि घुमिरहेका हुन्छन् । ती हरेक ग्रह नक्षणका आ–आफ्नै किरणहरु हुनछन् । ती किरणको प्रभावले हाम्रो बानीव्यवहार र मनोभावमा पनि प्रभाव पारेका हुन्छन् । त्यसकै आधारमा हामी प्राणी जातीको पनि दिन ग्रहदशा पनि प्रभाव पर्ने गर्छ । एउटै समयमा एउटै ग्रहनक्षत्रले पनि अलग–अलग व्यक्तिमा फरक–फरक प्रभाव पारेको हुन्छ ।

समयक्रम अनुसार कहिले हामी खुसी हुन्छौँ त कहिले दुखी । समयको खेलसँगै हाम्रो सोचविचारमा पनि परिवर्तन आउँछ । आफैं विचार गर्न सक्छौं कि विहान हामीमा एउटा सोच पलाउँछ, दिउँसो अर्कै सोच हाम्रो मष्तिष्कमा विकास भएको हुन्छ भने रात परेपछि हामीमा आउने सोच अर्कै किसिमको हुन्छ । सोच सँगै हाम्रो मोड समेत बदलिन्छ । बालकबाट शुरु भएको हाम्रो जीवनयात्रा समय बित्दै जाँदा र बुढ्यौंली लाग्दै जाँदा हाम्रो मष्तिष्क समेत कमजोर बन्दै जान्छ । वृद्ध अवस्थामा मानिस पुनः बालक सरह नै भएको हुन्छ । यसकारण भनिन्छ कि समय आउँछ पर्खिंदैन, बगेको खोला फर्किंदैन ।

योे नियम सबै प्राणीमा लागु हुने भएपनि मानव जाती चेतनशिल प्राणी भएकोले हामीले समयलाई आफ्नो अनुकुलता बमोजिम प्रयोगमा ल्याउन सक्छौँ । यस्ता क्रियाकलापको लागि सबैभन्दा ऊर्जावान् समय युवावस्था नै रहने गर्छ । आफ्ना योजना, चाहना र समाज एवं देशको आवश्यकता बमोजिमका नयाँ क्रियाकलापमा संलग्न हुने महत्वपूर्ण समयको रुपमा समेत युवा अवस्थालाई नै लिन सकिन्छ । यसैकारण युवाकाललाई यत्तिकै खेर नफाली अरुको सहयोग, उपकार, सृजना र क्रियाशिलतामा केन्द्रित गर्नुपर्छ । यसो हुनसके मात्र हामीले अपेक्षाकृत विकास र प्रगति गर्न सक्छौँ । यसकारण युवाको महत्व बुझेर राज्यको लगानी युवाहरुमा केन्द्रित हुनु जरुरी छ । जसबाट युवाहरुको क्षमता र योग्यतामा वृद्धि भई हाम्रो जीवन र भविष्य समेत सार्थक बन्न सकोस् ।

यसरी यी माथिका कुराहरुलाई सबै ऊर्जावान् युवाहरुले मनन् र अनुशरण गरी सफलता हासिल गर्न निरन्तर क्रियाशिल हुनु जरुरी छ । यसो हुन सके हामी व्यावसायिक, राजनीतिक, समाजसेवा, पेशा, उद्योग, अध्यात्म लगायत सबै क्षेत्रमा सफल हुन सकिन्छ । जसरी ३३ बर्षको युवा जीवनमै विपि कोइराला, ३७ बर्षमा मदन भण्डारी नेतृत्वमा पुगेका थिए । यसरी नै हरेक व्यक्तिले युवावस्थामा नै जे सकिन्छ, समाज र राष्ट्र प्रति उत्तरदायी भई आफ्ना क्रियाकलाप सञ्चालन गर्न जरुरी छ । साथै मुलुकको समृद्धि र हाम्रा सपना साकार पार्न युवा सोचहरुलाई व्यावहारिक बनाउन अवसर दिनुपर्ने जरुरी समेत छ ।

युवा अवस्थाको महत्व घर गृहस्थी जीवन देखि देश निर्माण सम्म महत्वपूर्ण रहने गर्छ । सबै ठाउँमा यसको ठूलो महत्व हुने गर्छ । यसैकारण देशको समृद्धि प्राप्तिमा पनि कर्तत्व र दायित्व बोध गराई युवाहरुबाट ठूलो लाभ लिन सकिन्छ । युवाहरुलाई सही मार्गमा ल्याउनको लागि नेतृत्वको भूमिका महत्वपूर्ण रहने गर्छ । यसो हुन सकेको खण्डमा मात्र हाम्रो मुलुक पनि समृद्धिको दिशामा अघी बढ्ने आँकलन गर्न सकिन्छ । साथै देशको लागि केही गर्नुपर्छ भन्ने विशेष योजना र चासो भएका युवा वर्गलाई युवा अवस्थामा नै काम गर्नको लागि अवसर सृजना गर्न नसकेको कारण नै हाम्रो मुलुक अहिलेको अवस्थामा पनि अपेक्षाकृत विकास हुन नसकेको हो । यसकारण अब युवा नेताहरुलाई नेतृत्वको अवसर दिएर मुलुकलाई दुर्घटना हुनबाट बचाउनु जरुरी छ ।

मानव जीवलाई सर्वश्रेष्ठ प्राणी भनेर यसै भनिएको होइन । बौद्धिक र चेतनशिल प्राणीको रुपमा विकसित मानव मष्तिष्कको सही उपयोगिताबाट हामीले अपेक्षाकृत नतिजा प्राप्त गर्न सक्छौं । यसकारण हामीले नयाँ सृजनाको लागि मानव मष्तिष्कको उच्चतम प्रयोग गर्नु जरुरी रहन्छ । हामीले हाम्रो मष्तिष्कलाई सही रुपमा उपयोेग गर्न नसकेको खण्डमा यसले हामीलाई प्राप्त हुने नतिजा पनि राम्रो निस्कँदैन । गलत निर्णय र विचारबाट हामीले दुष्परिणाम भोग्नुपर्ने स्थिति सृजना हुन्छ । यसकारण हामीले कम्तीमा पनि हाम्रो ध्यान मानव कल्याणमा केन्द्रित गर्नुपर्छ । आफूले सकेसम्म हाँसीखुसी जीवन जिउने पहल गर्नुपर्छ । खुसी र शान्त रहनुपर्छ । अरुको सम्मान गर्न सक्नुपर्छ । कसको मनमा चोट पार्नुहुँदैन । म मानिस भएर जन्मिइसकेपछि मैले जस्तो अरुको अरुको अनुहारमा पनि कसरी खुसी भर्न सक्छु भन्ने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । आफूसँग जे छ त्यसैबाट आफ्नो र अरुको भलाई हुने कार्यमा आफैं सधैँ जागरुक भइरहनुपर्छ ।

अरुबाट प्राप्त हुने कुन वस्तु वा अभिव्यक्तिले आफूलाई कस्तो असर पार्छ, त्यसैबमोजिम अरुलाई पनि प्रभाव पार्छ भन्ने कुरामा हामी सदैव जागरुक हुनुपर्छ । केही भौतिक वस्तुले मात्र हामीलाई खुसी बनाउँछ भन्ने हुँदैन । आफूले आर्जन गरेको ज्ञान, आफूमा भएको सीप, कुनै सकारात्मक अभिव्यक्ति, भलाईको उद्देश्यले गरिएको कुराकानी सबै हाम्रो लागि विशेष महत्वपूर्ण रहने गर्छन् । कसैलाई सधैं साथ दिन नसकेपनि कम्तीमा उनीहरुलाई मेरो कारणले कुनै समस्या सृजना नहोस् भन्ने कुरामा हामीले सधैं हेक्का राख्नुपर्छ । भेट हुँदा कम्तीमा केही क्षणलाई भएपनि हाँसो वा खुसी दिलाउन सकिन्छ भने त्यो निकै श्रेयस्कर हुन्छ । यही हो हामी सबै मानवजातीले बुझ्नुपर्ने, जीवनमा मनन गर्नुपर्ने कुरा । यही बारेमा महान ग्रन्थ गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, ‘तिमी अरुलाई त्यस्तो व्यवहार नगर, जुन अरुले तिमीलाई गर्दा तिम्रो चित्त दुख्छ ।’ हो पक्कै पनि अर्काको सम्मान गर्ने, विचार सुनि दिने, घमण्ड नदेखाउने, राम्रो र सम्मानजनक व्यवहार गर्ने अनि सबैको अनुहारमा खुसी अनि हाँसो छर्ने प्रयाश सदैव गर्नुपर्छ । यसै भित्र लुकेको छ, समाजको शान्ति, खुसी अनि मुलुकको समृद्धि ।

अरुलाई हँसाउने र खुसी बनाउने प्रयाश गर्दा आफ्नो मुहारमा पनि जानी नजानि हाँसो र सन्तुष्टिको भाव त विकास भएकै हुन्छ । यस्तै भगवान बुद्धले पनि भन्नुभएको छ, ‘राम्रो काम गर्नको लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानव जीवनमा के नै फरक हुन्छ र ?’ मानिसलाई ईश्वरले राम्रो कामको लागि नै यस धर्तीमा पठाउनुभएको हो । त्यसमा पनि मानव जीवनमा युवा वर्गको अहम भूमिका हुने गर्छ । जसको सहयोग, इच्छा बिना कुनै काम पनि सफल हुँदैन । चाहे हाम्रा धार्मिक, सामाजिक, राजनीतिक क्रियाकलाप नै किन नहुन् । हर कामको लागि नेतृत्वकर्ता मात्र नभएर शक्तिवल्लको पनि उत्तिकै आवश्यकता हुन्छ ।

समाजलाई सही दिशामा डोहो¥याउनको लागि युवाहरुको भूमिका निकै महत्वपूर्ण रहने गर्छ । यसरी युवा वर्ग भनेका देश, समाज तथा राजनीति आदि हरेक ठाउँको विकास र सही दिशा निर्देशनको लागि अत्यन्तै महत्वपूर्ण हुने गर्छन् । युवाहरुको वैयक्तिक विकास र सहयोग बिना कुनै पनि ठाउँको विकास कार्य असम्भवप्राय हुने गर्छ । यसकारण युवाहरुको क्षमतालाई मनन गर्दै उनीहरुलाई सही नेतृत्व दिने र सही ट्रयाकमा ल्याउने काम निकै महत्वपूर्ण हुने गर्छ । यसको लागि सक्षम र इमान्दार नेतृत्व अहिलेको आवश्यकता बनेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.