add

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै






ActPro Nepal

|

१४ भदौ, २०७८

|
1442

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । 

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा काटिए पनि यस बर्ष सरकारले सार्बजनिक बिदा दिने निर्णय गरिएको छ ।

पाटनको कृष्ण मन्दिरमा भक्तजनलाई रोक लगाइने

काठमाडौँ उपत्यकाका तीन शहरमध्ये सबैभन्दा पुरानो र रमणीय पाटनको मङ्गलबजारमा अवस्थित कृष्ण मन्दिरमा आज भक्तजनलाई पूजाका साथै दर्शन गर्न नदिने भएको छ । 

हरेक वर्ष भाद्र कृष्णाष्टमीका दिन कृष्ण मन्दिरमा दर्शनार्थीको ठूलो मेला लाग्ने भएकाले मुलुकमा दिनानुदिन बढ्दै गइरहेको कोरोना महामारीलाई ध्यानमा राखी सोमबार सर्वसाधारणलाई मन्दिर छिर्न नदिने भएको हो । 

यो वर्ष पनि गत वर्ष झैँ कोभिड सङ्क्रमण फैलने डरका कारण भक्तजनलाई मन्दिर प्रवेश गराइ कृष्णको दर्शन गर्न नदिने मन्दिरका पुजारी प्रतापधर राजोपाध्यायले बताए । उनले भने, “आवश्यक अनि सीमित व्यक्ति बसेर भगवान्को पूजापाठ आदि कर्म गर्नेछौं ।” मन्दिर दिनभरि खुला रहन्छ तर मानिसलाई भने भित्र छिर्न नदिने उनको भनाइ छ । 

यही भदौ १ गते ललितपुरका विभिन्न गुठी तथा जात्रा अनि पर्व चलाउने व्यक्तिसँग बसी यो वर्ष आउँदा पर्वमा मात्र विधि गर्ने छलफल भइसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “रोगको ख्याल गरी कहीँकतै भीड हुन दिने छैनौं ।” 

सोमबार मनाइने कृष्ण पर्व साङ्केतिकरुपमा मात्र अघि बढाउने कुरामा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले बताए । साँझ परेपछि गुठीबाट बत्ती लगेर बाल्ने र घुइँचो नगर्ने भएको संस्थान कार्यालय ललितपुर शाखाका प्रमुख खिमा वलीले बताइन् । 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । कृष्ण मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्वसम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्वहस्तकला परिषद्ले ३५औँ कला नगरीसमेत घोषणा गरिसकेको छ । पाटन दरबार क्षेत्रको कलाकारितालाई हेरेर कतिपयले यसलाई सुन्दरताको सहरलेसमेत सम्बोधन गर्ने गरेको पाइन्छ । 

कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा रहेको छ । यहाँ विगत दुई वर्ष पहिले दिनानुदिन हजारौँ हजार स्वदेशी तथा विदेशी पर्यटक घुम्न तथा अध्ययन गर्नसमेत आउने गर्थे । सो मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदिसमेत रहेका छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखरशैलीमा ढुङ्गाबाट निर्मित २१ गजुर भएको एकमात्रै मन्दिरका रुपमा पाटनको कृष्ण मन्दिर परिचित छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.