add

होम आइसोलेसनमा बसेका कोरोना संक्रमित के-के गर्ने ?- डा. रवीन्द्र पाण्डे






ActPro Nepal

|

१८ वैशाख, २०७८

|
1704

काठमाडौं । कोभिड-१९ को संक्रमण भयावह रूपमा फैलिइरहेको छ । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन ।

ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने लगायतको लक्षण देखा परिरहेको छ ।

समुदायमा संक्रमण फैलिइसकेको अहिलेको स्थितिमा बिरामीले अस्पतालमा झट्ट भर्ना पाउन समेत मुस्किल हुन थालेको छ ।

यो बेला अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् । त्यसरी होम आइसोलेसनमा बसेका संक्रमितका लागि जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले केही महत्वपूर्ण सल्लाह दिएका छन् ।

यी हुन्, होम आइसोलेसनमा बसेका संक्रमितका लागि डा पाण्डेले दिएका १६ टिप्सः

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८/९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा/टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आवश्यकताअनुसार पारासिटामोल, कफ सिरप/ट्याब्लेट खान सकिन्छ ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ ।

तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसँग जाँच गराउनुहोला । छातीको एक्स रे वा सीटी स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि (एन्टिभाइरल/एन्टिबायोटिक) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५. जाँच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिसअनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार होइन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भए पनि त्यहाँ तपाईंले कुनै न कुनै उपचार पाउनुहुन्छ ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवं स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै संक्रामक छ ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।

११. पानीको बाफ लिँदा आराम हुन्छ ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ/कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एवं सबल राखुहोला । नआत्तिनुहोला ।

१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक सञ्जाल सकभर नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.